प्रदेश १ को नाम र राजधानीको टुंगो हिउँदमा मात्रै !

प्रदेश १ को नाम र राजधानीको टुंगो हिउँदमा मात्रै !

विराटनगर : प्रदेश १ सरकारले नाम र राजधानीको टुंगो नलगाई प्रदेश संसदको बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार यस विषयमा मुख्यमन्त्री शेरधन राईले प्रमुख सत्तापक्ष र प्रतिपक्षी दलसँग बैठक गरी औपचारिक जानकारी गराएका छन् । 

नामकरण र राजधानीको प्रस्ताव आउँदो हिउँदे अधिवेशनमा लग्ने गरी चालू बर्खे अधिवेशन मंगलबार अन्त्य गर्ने सरकारले निर्णय गरेको हो । प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारका तर्फबाट आफूहरुसँग भएको छलफलमा बर्खे अधिवेशन मंगलबार अन्त्य गर्ने विषयमा मुख्यमन्त्रीले जानकारी गराएको बताए । 

भने,‘नामकरण र राजधानीलाई थाँती राखेर हिउँदे अधिवेशनमा प्रस्ताव लैजाने गरी संसद अधिवेशन अन्त्य गर्न मुख्यमन्त्रीले प्रस्ताव गर्नुभयो । हामीले पनि सहमति जनायौं ।’ 

कार्कीले सरकारले नाम र राजधानी जस्तो महत्वपूर्ण विषयमा प्रस्ताव ल्याई निर्णय गर्न नसक्दा जनतामा निरासा छाएको सुनाए । मंगलबारको संसद बैठकमा प्रदेश प्रमुखले पठाएको अधिवेशन अन्त्य गरिएको चिठी पढेर सुनाएपछि अधिवेशन अन्त्य हुनेछ ।

नेकपाको सोमबार नै प्रदेशसभा सचिवालयमा बसेको संसदीय दलको बैठकमा दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले संसद अधिवेशन अन्त्य गर्ने तयारी भएको विषयमा सांसदहरुलाई जानकारी गराएका थिए । 

बैठकमा हिउँदे अधिवेशनमा नाम तथा राजधानीको प्रस्ताव लगिने मुख्यमन्त्री राईले आश्वासन दिएका थिए । नेकपाका सांसद लक्ष्मण तिवारीका अनुसार दशैं र अरु महत्वपूर्ण पर्व नजिकिएकोले संसद लामो समयसम्म लम्ब्याउन बिजनेसको समेत अभाव छ । 

भने,‘नाम र राजधानी टुंगोमा नपुग्ने भएकोले पनि अधिवेशन अन्त्य गर्ने निर्णय भएको हो ।’ नेकपाको प्रमुख सचेतकमा सांसद बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेवेलाई चयन गरेको छ । यसअघि दुई दिनसम्म नेकपाको संसदीय दलको बैठक बसेर नाम र राजधानीको टुंगो लगाउने प्रयास गरेपनि सहमति जुट्न सकेन । काँग्रेसको बैठकमा पनि फरक फरक विचार आएपछि उसले समेत धारणा सार्वजनिक गरेन ।

यसैगरी संसदीय दलको विधान मस्यौदा समिति गठन भएको छ । नौ सदस्यीय समितिमा सचेतक बुद्धिकुमार राजभण्डारी, लक्ष्मण तिवारी, इन्द्रमणि पराजुली, मोहन खड्का, सीता थेवे, राजकुमार ओझा, विमल कार्की, विजय विश्वास र सरिता थापा रहेका छन् ।

प्रदेश–१ सरकारले लोगो बनाइ सांसदलाई वितरण गरेको छ । सोमबार सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाई कार्यक्रमको शुभारम्भ गरे । सभामुखले प्रदेश सांसदलाई पनि लोगो वितरण गरे ।

लोगो मन्त्री र विपक्षी दलका नेतालाई पनि वितरण गरिएको छ । प्रदेश लोगोमा विश्वकै अग्लो हिमाल सगरमाथा, सप्तकोशी नदी, लालीगुराँस, धानको बाला, भोजपुरे खुकुरी, महिला–पुरूषको हात तथा राष्ट्रिय झण्डा अंकित छ । 

सभामुख भण्डारीले लोगोमा ‘कन्टेन्ट’ धेरै भएकाले डिजाइन गर्न समय लागेको बताए । लोगो कलाकार बिक्रम श्रीले डिजाइन गरेका हुन् । भने,‘अन्य प्रदेशको तुलनामा लोगो ल्याउन केही ढिलाइ भएपनि प्रदेशको पहिचान दिने आकर्षक बनाएका छौं ।’

प्रदेश सभा सचिवालयले सार्वजनिक सूचना प्रकाशित गरी लोगोको नमूना माग गरेको थियो । जसमा जम्मा २ वटा लोगो प्रतिस्पर्धामा आएकोमा कलाकार बिक्रमश्रीले कला भरेको लोगोलाई मान्यता दिइएको हो । 

प्रदेश सभाको सोमबारको बैठकमा काँग्रेस सांसद लोकप्रसाद संग्रौलाले दशैंको मुखमा सरकारले प्रदेश लोगोको शुभकामनासहित उपहार दिएको बताए । बैठकमा खेलकुद विधेयकमाथि छलफल भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.