दसैं जमघटमा मदिरा

दसैं जमघटमा मदिरा

दसैंतिहार मदिरा व्यवसायीको उल्लासमय समय हो। मदिरा र बियरबिनाको दसैं त के दसैं। मदिराबिनाको जमघट पनि अपूर्ण हुन थालेको छ। ‘दसैं पनि त एउटा जमघट नै हो। वर्षमा एकपटक हुने जमघटलाई रमाइलो र अविस्मरणीय बनाउने रहर कस्को हुँदैन?’, मदिरा व्यवसायी संघका अध्यक्ष रवि केसी भन्छन्, ‘व्यस्त सहरमा बस्नेले पनि त्यहीँ जमघटलाई सम्झिएर अर्को एक वर्ष बिताउनुपर्ने हुन्छ। दसैंतिहार मदिरा व्यापारको चाड पनि हो।’

‘जमघट र मदिराको सम्बन्ध वर्षैं पुरानो छ। युरोपियन मुलुकबाट सुरु भएको यो संस्कारभित्र नेपाली समाज पनि विस्तारै समाहित हुँदैछ’, उनी सम्झिन्छन्, ‘कुनै समय लुकेर खानु पर्ने मदिरा आज परिवारिक जमघटमा चल्न थालेको छ।’ यसले परिवारबीच सम्बन्ध थप प्रगाढ बनाएको छ। एक्लै बाहिर बसेर मदिरा सेवन गरी घर आउँदा आज जाँड घिचेर आएछ भन्ने समाज र अहिलेको परिवारबीच ठूलो अन्तर छ। आज बाबु, छोरा र आमा, दिदी÷बहिनी सँगै बसेर मदिरा पिउने प्रचलन सुरु भएको छ। ‘यो एउटा सुन्दरता पनि हो’, उनी भन्छन्, ‘परिवारसँगै बस्दा लतभन्दा रमाइलो र आत्मीयता झल्किँछ।’ त्यसैले त नेपालमा फेस्टिभल ड्रिंकर्सको संख्या ठूलो छ।

नेपालमा नियमित मदिरा सेवन गर्नेभन्दा फेस्टिभल ड्रिंकर्स अर्थात चाडबाडमा साथिभाइसँग रमाइलो गर्नेको संख्या ठूलो छ। यहाँ ७० प्रतिशत त्यस्ता मानिस छन्, जो चाडवाडमा मात्रै मदिरा सेवन गर्छन्। उनीहरूलाई अरुबेला त्यसको कुनै महत्व हुँदैन। तर, चाडबाडमा जमघटलाई अर्थपूर्ण र स्मरणीय बनाउनकै लागि भने पनि साथिभाइसँग चेयर्स गर्न उनीहरू तयार हुन्छन्। ‘यो स्वभाविक पनि हो’, उनी भन्छन्, ‘हामी युरोपियन समाजलाई विभिन्न रुपबाट नियालेर हुर्किएका मान्छे हौं। उनीहरूले सिकाएको सीप र संस्कारलाई आत्मसात गर्दै आएका मान्छे हौं।’ नेपालको परिवेशमा अहिले रेगुलर अर्थात नियमित रूपमा खाएर बस्ने मान्छे १५ प्रतिशत छन्। अकेजनल अर्थात हप्तामा एक दिन खाएर बस्ने मानिसको संख्या २५ प्रतिशत छ। ‘हप्तामा एक दिन खाने मान्छे विशेष शुक्रबारको दिन सेवन गर्छ’, अध्यक्ष भन्छन्, ‘त्यसैले अन्य बारको तुलनामा शुक्रबार मदिराको व्यापार राम्रो हुन्छ। अन्य समय अफिस भन्यो, कलेज भन्यो, कसैको समय मिल्दैन, को कहाँ हुन्छ मिल्दैन। भोलिपल्ट शनिबार भएकाले शुक्रबार हप्तामा एक पटक सेवन गर्नैका लागि सबैभन्दा उपयुक्त सयम भएको छ।’

उक्त २५ प्रतिशतमा युवाको संख्या बढी छ। उनीहरू साथिभाइसँगको जमघटमा पिउँछन्। अकेजनल युवा पनि छन्, त्योभन्दा पनि महिलाको बढी प्रभाव देखिन्छ। महिलाले खाने भनेको बढी वाइन हो। त्यसैले दसैंको समय वाइन, बियर र मदिरा सबैको एकै किसिमको व्यापार हुन्छ। व्यवसायीका अनुसार दसैंतिहारको समय अन्य समयको तुलनामा पाँच गुणाले व्यापार फस्टाउँछ। ‘यो गाजा, चरेसजस्ता अवैध र बन्देज पनि छैन’, उनी भन्छन्, ‘यो लिगल छ, थोरै मात्रामा खाने र रमाइलोका लागि खाने प्रचलनले नै दसैंमा यसको व्यापार अकासिएको हो। बोनसमा आउने थप पैसा पनि एक हो। त्यतिमात्र होइन, विदेशबाट दसैंलाई भनेर आउने मानिसको संख्या पनि ठूलो छ। अर्को दसैंको लागि भनेर विदेशबाट रेमिटेन्स पनि ठूलै मात्रामा भित्रिन्छ। यसले पनि दसैंमा बजार जुर्मुराउने गर्छ।’

नेपाल वाइनरी उत्पादन संघका अध्यक्ष विकास खतिवडाको पनि उस्तै भाव छ। उनी भन्छन्, ‘धेरै र नियमित खाँदामात्र यो मदिरा हो। युरोपियन मुलुकमा जस्तो मात्रा मिलाएर खाने हो भने यसले त्यति ठूलो असर गर्दैन। त्यसमा पनि वाइन त फलफूलबाट बनेको पेयपदार्थ हो। स्विट र नरम हुने भएकाले यो महिलाको रोजाइमा परेको हो। ‘पछिल्लो समय युवा पुस्ताले यसलाई रुचाउन थालेका छन्’, उनी भन्छन्, ‘नेपाली वाइनले पछिल्लो समय बजार लिन थालिसकेको छ।’ अर्कोतर्फ रमको बजारमा पनि विस्तारै परिवर्तन आएको छ। कुनै समय जाडोमा तातापानीसँग मिसाएर खाने छाप बनाएको रम खाने मानिसमा पनि परिवर्तन आएको व्यवसायी बताउँछन्। व्यवसायीका अनुसार कोकसँग मिसाएर रम खाने मानिस पनि निस्किएका छन्। ‘यसले रमको बजार विस्तार गरेको छ’, व्यवसायी भन्छन्।

मदिराको नेपाली बजार

‘मदिरा व्यवसाय नेपालमा आत्मनिर्भर छ’, मदिरा व्यवसायी संघका अध्यक्ष केसी भन्छन्, ‘नेपालमा अहिले विदेशी ब्रान्डको उपस्थिति पनि ठूलो छ।’ विदेशी ब्रान्डको उपस्थितिसँगे नेपाली ब्रान्डले पनि सफलता हात पारेका छन्। मदिरामा हामी आत्मनिर्भर भइसकेका छौं। विदेशबाट पाँच प्रतिशतमात्र आयात गर्ने हो भने पनि नेपाललाई पुग्ने मदिरा उत्पादन गर्न सक्ने यो उद्योग भएको छ। विदेशी ब्रान्डको दवदवा भएको यो अवस्थामा पनि बियर तथा मदिरामा नेपाली ब्रान्ड नै लोकप्रिय छ। उच्च आम्दानी गर्नेले रेडलेबल, ब्ल्याक एन्ड ह्वाइट, ह्वाइट हर्स, भ्याट ६९ लगायत ब्रान्डलाई अझै पनि रुचाउँछन्।

बजारमा ७०, ५०, ४०, ३० र २५ यूपी गरी पाँच थरिका मदिरा पाइन्छ। त्यसमा ४० यूपीको राम्रो व्यापार रहेको अध्यक्ष केसी बताउँछन्। उनका अनुसार नेपालमा उत्पादन हुने बियर, वाइन तथा मदिराको ६० प्रतिशत कच्चापदार्थ नेपालकै प्रयोग हुन्छ। भने ४० प्रतिशत विदेशबाट आयात हुने गरेको छ। त्यसमा २० प्रतिशत भारतबाट र बाँकी तेस्रो देशबाट आयात हुने गरेको छ। कच्चापदार्थमा पनि धेरै किसिमका बस्तु भएकाले बस्तुअनुसार विभिन्न देशबाट आयात हुने गरेको अध्यक्ष केसी बताउँछन्। यसका लागि आवश्यक पर्ने, फलफूल, माल्ट, हुप्स, इस्ट, बिट्स, बार्ली, कर्न, ह्विट, बोतल, बोतलको कभर, लगायत सामग्री भारत, फ्रान्सलगायत विभिन्न मुलुकबाट आयात हुने गरेको छ। अहिले नेपालमा करिब २० वटा वाइन उत्पादन कम्पनी छन् भने बियर उत्पादन गर्ने कम्पनीको संख्या पनि त्यत्तिकै छ। अध्यक्ष खतिवडाका अनुसार पछिल्लो केही वर्षमा नेपाली वाइनले बजारको झन्डै ५० प्रतिशत हिस्सा ओगटिसकेको छ। कुनै समय विदेशी ब्रान्ड भन्नेबित्तिकै शुद्ध हुन्छ र नेपाली ब्रान्डभन्दा नाक खुम्च्याउने पनि अहिले नेपाली ब्रान्डप्रति विश्वास देखाउन थालेका छन्। वाइन पारखी बढ्दो छ। अहिले एउटा कम्पनीले वार्षिक न्यूनतम ३५ हजार कार्टुन बियर उत्पादन गर्छन्। वाइनको वार्षिक सय करोडभन्दा बढी कारोबार हुने गरेको छ। वार्षिक रूपमा २५ देखि ३० प्रतिशतले वाइनको व्यापार बढिरहेको छ। अझ दसैंको समय उल्लासमय नै छ।

सरकार नै बाधक

नेपाली ब्रान्ड नेपाली ग्राहकमा लोकप्रिय भए पनि सरकारका तर्फबाट भने उद्योगलाई खासै सहयोग हुन नसकेको व्यापारी बताउँछन्। नेपाली ब्रान्डलाई पनि अन्तर्राष्ट्रिय उत्पादनसरह हेरिदिँदा यो व्यवसाय उकास्न सरकारले अवरुद्ध गरेको उनीहरूको भनाइ छ।

पछिल्ला दुई वर्षमा विदेशी उत्पादनको मूल्य बढेको छैन। नेपाली ब्रान्डको मूल्य यस अवधिमा ३० प्रतिशत बढेको छ। ‘सरकारी नीतिले नै व्यवसायीलाई मूल्यवृद्धि गर्न बाध्य पारेको छ। त्यसको असरले नेपालमा विदेशी ब्रान्डको दवदवा सुरु भएको महसुस हामीलाई छ’, व्यवसायी भन्छन्, ‘विदेशी बजारमा समेत पुगिसकेको नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा हतोत्साहित गरेजस्तै भएको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.