गाउँ भरिँदै, सदरमुकाम रित्तिँदै
कालिकोट : जिल्ला सदरमुकाममा रोजगारी, व्यवसाय तथा अन्य काम गर्दै आएका अधिकांश स्थानीय गाउँकेन्द्रित भएका छन्। दैनिकजसो गाउँतिर जाने सवारीसाधनमा यात्रुको खचाखच भीड लाग्ने गरेको छ। नेपालीहरूको महान् चाड दसैंमा अभिभावकको हातको टीका थाप्न उनीहरू गाउँ जान थालेका हुन्।
जिल्लामा करिब ३८ वटा सरकारी कार्यालय छन्। जिल्लामा क्रियाशील करिब दर्जन गैैरसरकारी निकाय सक्रिय छन्। सरकारी कार्यालयमा कर्मचारी निकै कम छन् भने गैरसरकारी निकायमा समेत कर्मचारी दसैं बिदामा घर जान थालेका छन्।
सरकारी कार्यालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी प्रमुख र रणसुर गल्मका गुल्मपतिबाहेक सबै सरकारी कार्र्यालय प्रमुखविहीन छन्। सुरक्षा निकायका प्रमुख जिल्लाको शान्ति–सुरक्षाका लागि जिल्ला कुरिरहेका छन्।
मान्म बजारका व्यापारी पनि दसैं मनाउन गाउँ जाने तयारीमा छन्। दसैं–तिहारका लागि सामान लिन आउने ग्राहक पनि कम हुँदै गएकाले आफूहरू गाउँ जाने तयारीमा रहेको मान्म बजारका व्यापारी मुक्तिप्रसाद सन्ज्यालले बताए। उनले भने, ‘सदरमुकाममा मानवीय चहलपहल घट्दै गएको छ।
अधिकांश मानिस गाउँकेन्द्रित भएका छन्। अब आफूहरू पनि पसल बन्द गरेर दसैं मान्न गाउँ जाने तयारीमा छौँ।’ उनले केही दिनअघिको तुलनामा मान्म बजारमा मानिसको आवतजावत कमी भएसँग व्यापारमा पनि कमी आएको बताए।
कालिकोट जिल्लाबाट रोजगारी गर्न बढीजसो भारत जाने गर्छन्। उनीहरू पनि क्रमिक रूपमा गाउँ आउन थालेका छन्। जिल्लामा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा राजनीतिक दल र संघसंस्थाले प्रतिदिन शुभकामना आदानप्रदान कार्यक्रम गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !