रातु पुल सञ्चालन
बर्दिबास : रातु खोलामा बनाइएको नयाँ पुल दसैंका बेला सञ्चालनमा आएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषाको बीचमा बाढीले भाँसिएको पुलको उत्तरतिर नयाँ बनाइएको हो। पुलका दुवैतिर ३ सय ६० मिटर कालोपत्रे गरिएलगत्तै पुल सञ्चालनमा ल्याइएको जनाइएको छ। पुल निर्माण एक महिनाअघि सम्पन्न भएको थियो। तर, पुलका दुवैतिर कालोपत्रे गर्दा एक महिनापछि सञ्चालनमा आएको हो।
पुल पाँच मुख्य र दुई सहायक गरी सातवटा खाँबामा ठडिएको छ। सम्झौता अवधिभन्दा १५ महिनाअगावै पुल निर्माण सम्पन्न गरिएको ठेकेदार कम्पनीले जनाएको छ। कालिका टु दी रसुवा जेभी काठमाडौंले २४ करोड ६० लाख रुपैयाँ लागतमा पुल ठेक्का लिएको थियो। २०७३ असार २९ गते पुल ठेक्का लागेकामा २०७६ पुससम्ममा निर्माण गरिसक्नुपर्ने सम्झौता थियो।
दुई लेनको पुल एकै पटकमा १०÷१० टनका दुई गाडी ओहोरदोहोर गर्न सक्ने क्षमताको छ। पुलको लम्बाइ २ सय २५ मिटर र चौडाइ १०.९० मिटर छ। ‘पुलमा रेलिङ फिटिङ, फुटपाथ बनाइएको छ’, कम्पनीका साइट इन्चार्ज कृष्ण ढुंगेलले भने, ‘इच्छाशक्तिले गर्दा सम्झौता अवधिभन्दा अगावै हामी पुल बनाउन सफल भयौं।’ वर्षात्का बेला त्रिपाल टाँगेर १८ घण्टासम्म काम गरेको उनले सुनाए।
‘नयाँ पुल नबन्दा पुरानोमा जाम लाग्थ्यो, त्यसबाट सबैले मुक्ति पाएकोमा खुसी छु’, प्रदेश सांसद शारदा थापाले भनिन्, ‘बर्दिबासबाट प्रदेशसभा बैठक पुग्न जामले ढिलो गराउँथ्यो।’ रातु पुलका ठेकेदारबाट अन्य कम्पनीले पाठ सिक्नुपर्ने बर्दिबासका शंकर फुयाँलले बताए। ‘मन भए कठिन काम पनि पूरा हुन्छ’, उनले भने, ‘त्यो रसुवा जेभीले अरू निर्माण व्यवसायीलाई सिकाएको छ।’

पुल चाँडै निर्माण भई सञ्चालनमा आएकामा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोला खड्काले खुसी व्यक्त गरे। ‘विकास निर्माणमा ढिलासुस्ती गर्नु हुँदैन भन्ने सन्देश यो कम्पनीले दियो’, उनले भने।
रातु पुल चार वर्षमा दुईपटक भासिएपछि नयाँ निर्माणको काम सरकारले थालेको थियो। पुल दोस्रो पटक २०७४ साउन २८ गते बाढीले भाँसिएको थियो। यातायात सञ्चालनमा दुई महिनासम्म कठिनाइ भएको थियो। बेली ब्रिज हालेर यातायात सञ्चालनमा ल्याइएको थियो। नयाँ पुलबाट शुक्रबारदेखि सवारी साधन गुड्न थालेको बर्दिबासस्थित टेम्पो चालक बसन्त मुसहरले बताए।
प्रतिक्रिया दिनुहोस !