बहस : स्वदेशी उद्योग, उत्पादन र रोजगारी

बहस : स्वदेशी उद्योग, उत्पादन र रोजगारी

प्रेम पाण्डेय

देश विकास र समृद्धिको प्रमुख आधारउद्योगहरुको विकास, विस्तार तथा व्यवसायउन्मुख आर्थिक योजना र कार्यान्वयन हो । नेपालले औद्योगिक व्यवसाय ऐन,२०४९ र हाल औद्योगिक नीति,२०६७ लागू भएसँगै देशमा रोजगारीको सिर्जना, स्वदेशी तथा विदेशी लगानी आकर्षित, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गरि अर्थतन्त्रलाई सुदृढ गर्ने लक्ष्य लिएको थियो ।

तर व्याप्त व्यापार घाटा, परनिर्भता, निर्यात भन्दा आयात निकै बढी रहेको हुँदा उक्त नीति कागजमै सुन्दर हुनु बाहेक अन्य प्रगती सोचेअनुरुप हुन सकिरहेको छैन् । यी लगायत थुप्रै योजना, आयोजना, परिकल्पना तथा अध्ययन गरेता पनि स्वदेशी उत्पादनलाई हाम्रो अर्थतन्त्रसँग जोड्न सकेका छैनौं । देशमा विकराल बन्दै गइरहेको बेरोजगारी समस्या अझ सामर्थ्यवान र उर्जाशील युवाहरुको वाध्यात्मक विदेश पलायनको लहरले गर्दा लाग्छ हामी अरुको निम्ति जन्मेका हौं र अरुकै लागि हुर्किरहेका छौं । नेपालको प्राचिनतम औद्योगिक विकासको इतिहास हेर्दा ठोस तथ्य फेला नपरेता पनि हाम्रो प्राचीन सभ्यता, घरेलु उत्पादन र हाते सीपमा आधारित वस्तु उत्पादनको परम्परा चल्दै आएको देखिन्छ । जुन गतिमा अहिलेको विश्व एक गाउँमा खुम्चिदै छ त्यसरी नै पूरानो लम्वेतान विधि परम्परा तीब्र गतिमा छरितो र सस्तो बन्दै गैरहेको छ ।

विश्वव्यापिकरणको समयमा उत्पादनको निर्यात र आयात सर्वव्यापी हुन्छ । कुनै देश छैन जहाँ आयात र निर्यात नभएको होस् यद्यपि त्यसको परिधी हुन्छ, स्वामित्व ग्रहण गर्न सक्ने सार्वभौम स्वदेशी नीति र दायित्व हुन्छ । अठारौं शताब्दीको मध्यदेखि उन्नाइसौं शताब्दीको मध्यसम्म बेलायतमा चलेको औद्योगिक क्रान्तिलाई कतिपय विद्धान र स्वतन्त्र रास्ट्रहरुले साम्राज्यवादी भावनाको विकास भएको र पुजिवादको बोलबाला सुरु भएको भन्ने नकारात्मक टिप्पणी गरेतापनि यहि क्रान्तिको प्रतिफल हो । अहिलेको विकसित बेलायत र उसले शासन गरे पश्चात स्वतन्त्र अस्तित्वमा आएका पहिलो विश्व र दोश्रो विश्वको नामले पररिचित विकसित र अल्पविकसित रास्ट्रहरु । नेपालले पनि छिमेकि देशको औद्योगिक विकास देखेर विभिन्न कालखण्डमा केही उद्योगहरुको स्थापना त गर्यो तर ती अहिले आएर वेवारिसे बन्दै गैरहेका छन् । जसको उदाहरणका लागी विराटनगर जुटमिल, हेटौंडा कपडा कारखाना, जनकपुर चुरोट, वीरगन्ज चिनिमिल लगायत अन्य विभिन्न राष्ट्रिय गौरवका उद्योगहरुलाइ लिन सकिन्छ ।

परिवर्तित समयक्रमसँगै व्यक्ति आवश्यकता र आकाङ्क्षा दिनानुदिन बढ्दै गैरहेको र सो प्राप्तिको दौडमा आम मानिस भाग लिइरहेका छन् । हामीसँग उपलब्ध साधन, श्रोत र उत्पादनले हाम्रो न्युनतम आधारभूत आवश्यकताको परिपूर्ति हुन पनि कठिन बन्दै छ । आन्तरिक उत्पादनमा गिरावट, दक्ष जनशक्ति विदेश पलायन, व्यापारघाटा, प्रतिस्पर्धी बजारमा स्वदेशी मालको कमजोर उपस्थितिजस्ता पक्षले गर्दा मालवाहक ट्रक र कार्गोमार्फत भित्रिएका चिजवस्तु बाँडेर उपभोग गर्नुको विकल्प छैन् । नेपालसँग भएको कच्चापदार्थ नेपालमा नै प्रशोधन गर्ने क्षमताको विकास र वृद्धि गर्न सके हामीले हाम्रै खेतबारीमा उब्जेको नगदेबालीको खोस्टाको धुलो मात्रै पाउने दिनको अन्त्य हुन सक्थ्यो । नेपालमा विभिन्न भौगोलिक, जैविक र हावापानीको विविधताका कारण थुप्रै चिजवस्तुहरुको सम्भावना छ र केही अध्ययन खोज पश्चात् प्रशोधित भर्इ आम प्रयोगमा आइसकेका छन् ।

देशमा लामो संक्रमणकालको अन्त्य भर्इ नयाँ जनमत र म्यान्डेट प्राप्त स्थिर सरकार बनेको छ अबको स्थिर सरकारले व्यवसायलाई प्रवर्द्धन गर्ने नीति निर्माण र त्यसको सबल कार्यान्वयन गर्न सकेको खण्डमा देशमा विकराल बेरोजगारी समस्या हल हुनेछ । युवा जमातले पनि जागिरे दरिद्र मानसिकताबाट माथि उठेर व्यवसाय र  स्वरोजगारको दिगो योजनासहित जीवनलाई अघि बढाउनु अझ महत्वपूर्ण हुन्छ । जीवन सहज र सम्मुनत बनाउन समयको स्वतन्त्रता र आर्थिक स्वतन्त्रताको बाटोमा अघि बढ्न हाम्रो शिक्षा प्रणालीदेखि हाम्रो मनोवैज्ञानिक पाटोको सार्थक भूमिका रहन्छ ।

विश्वका जतिपनि मुलुक सम्पन्न छन् र भैरहेका छन्, ती सम्पुर्णको कारक उद्यमशीलता र त्यस्तै किसिमको अनुसन्धान र प्रयोग हो। कम्पनीमा बहुसंख्यक मजदुरको स्थान प्रबिधिजन्य मेसिनले ओगटिरहेको छ एकातिर यसको छुट्टै सैद्धान्तिक बहस त होला तर प्रतिफल चाहिँ छिटो र छरितो बन्दै गैरहेको छ। नेपाल सरकार र सम्पुर्ण सरोकारवाला निकायले उद्यमशीलता र उत्पादनको ज्ञान तथा  आवश्यक पूर्वाधार जनस्तरमा दिन सक्ने हो भने आर्थिक अवस्थामा उल्लेख्य वृद्धि हुने देखिन्छ । नाकाबाट भरी भराउ ट्रक आउने र फर्किदा खाली ट्रक पठाउनुले देशको श्रोत साधन र जनशक्ति सबै आयातमा भर पर्नुपर्ने अवस्था छ। छिमेकी देश विकासको बादसाह बनिरहेको समय छ यद्यपि हाम्रोमा त्यसको बाछिटा पर्न सकिरहेको छैन । छिमेकी देश भारतमा 'मेक इन इन्डिया' को नयाँ अवधारणा सहितको नाराले त्यहाँको औद्योगिक विकासलाई अझ टेवा पुर्‍याइरहेको छ र सरकारले पनि स्वही अनुरुपको गतिविधिमा वृद्धि गरिरहेको छ।

नेपालमा पनि विगतमा कैयौं योजना,कार्यक्रम तथा गुरुयोजना पारित भएका थिए तर ती लक्ष्यमा पुग्न सकेनन् । यसको मुख्य कारण राजनीतिक अस्थिरता,लामो समयसम्मको संक्रमणकाललाई मान्न सकिन्छ र तर्क दिन पनि सजिलो भएको छ । यद्यपि अब यति भनेर बस्ने समय छैन् । विगत जे भयो त्यसको प्रबाह नगरी अब एकै पल्ट सावाँ ब्याज  असुल्ने बाटोमा लाग्नु पर्दछ ।

जुन देशको उत्पादन र उत्पादित वस्तु बजारमुखी छ । उक्त देश नै आर्थिक रुपमा सम्पन्न हुन्छ । हामीले जन्मदा लगाउने न्यानो कपडादेखि मृत्युमा ओढाइने कोरो कपडासम्म विदेशी कम्पनीकै हुन्छ । हाम्रो पानीको बिजुली हामीले नपाउने, हाम्रो हिमालबाट टिपेको जडिबुटीबाट बनेको औषधि हामीले प्रयोग गर्न नपाउने, हामीले उब्जाएको अल्लो र शुद्ध कपासका  कपडा हाम्रो ज्युमा सजिन नपाउने दिनको अन्त्य गरि देशमा उपलब्ध कच्चापदार्थको प्रशोधन र डिजाइन गरि विश्व बजारमा नेपालको नामबाट फैलाउन आवश्यक छ । देशमा स्थापित उद्योगधन्दाहरुको बरोबर सन्चालन र बिस्तार गरि थप केही कलकारखानाहरुको स्थापना मात्रै पनि गर्न सक्ने हो भने विदेशिने युवा जनशक्तिमा उल्लेख्य कमी हुने देखिन्छ । राजनीतिक मोलमोलाइ गरी युवाजमातलाई दल र तिनका नेताका चुनावी एजेन्डा प्रचारक र झण्डावाहक मात्र नबनाई अर्थोपार्जनका लागि अवसरहरुको सिर्जना र व्यवसायप्रति उत्प्रेरित तथा उत्साहित गर्न अति आवश्यक छ । विभिन्न सम्भावित चुनौति तथा कठिनाइहरुको सामना र समाधान गर्दै देशलाई उभोगती दिन सम्पुर्ण आम पंक्ति र सरोकारवाला निकाय जुट्नुको विकल्प छैन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.