बिर्तामोडलाई उपाधि
![बिर्तामोडलाई उपाधि](https://annapurnapost.prixacdn.net/media/albums/birtamod-win-football_20181014013452_vp6kDWsDRl.jpg)
विराटनगर : नरेन्द्रमणि लिम्बूको निर्णायक गोलको मद्दतमा बिर्तामोड भेट्रान क्लब झापाले विराटनगरमा सम्पन्न प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सहिद रंगशालामा शनिबार भएको फाइनलमा साबिक विजेता धरान भेट्रान क्लबलाई १-० गोलले निराश बनाउँदै बिर्तामोडले उपाधि जितेको हो।
संघर्षपूर्ण खेलको ५९औं मिनेटमा नरेन्द्रमणि लिम्बूले गरेको एक मात्र गोल बिर्तामोडलाई जितका लागि पर्याप्त बन्यो। सन्तोष राईको पासमा डीबक्सभित्रबाट नरेन्द्रमणिले प्रहार गरेको बलले धरानका गोलरक्षक दीपेन लिम्बूको खुट्टामा ठोक्किँदै जाली चुमेको थियो।
गत वर्ष आयोजित पहिलो भेट्रान फुटबल प्रतियोगितामा फाइनलमै धरानसँग बेहोरेको पराजयको बदला लिँदै साबिक उपविजेता बिर्तामोडले एक लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो। प्रतियोगिताको फाइनलमा दोस्रो पटक बिर्तामोडमाथि जित निकाल्न नसकेपछि उपविजेतामा खुम्चिएको धरानले ७५ हजार रुपैयाँ नगद पुरस्कारमै चित्त बुझायो।
खेलमा जम्न नसकेको धरानको हारमा उज्ज्वल श्रेष्ठ, डिल्लीराम श्रेष्ठ र सुरजकुमार श्रेष्ठको प्रदर्शन फितलो रह्यो। धरानका रक्षापंक्तिका खेलाडी खगेन्द्रबहादुर लिम्बू र मिडफिल्डर प्रेम घिमिरेको प्रदर्शन उत्कृष्ट रहे पनि खेलमा बिर्तामोड हाबी देखियो। खेलभर धरान रक्षात्मक र बिर्तामोड आक्रामक रूपमा मैदानमा प्रस्तुत भए। खेललाई सुरुदेखि नै नियन्त्रणमा लिएको बिर्तामोडले पनि गोल गर्नका लागि पाएका धेरै अवसरलाई सदुपयोग गर्न नसक्दा जितका लागि ५९ औं मिनेटसम्म कुर्नुपर्यो।
१७ औं मिनेटमै बिर्तामोड अग्रता लिनबाट चुक्यो। तोयाराम भुजेलको प्रहारमा धरानका गोलरक्षक दीपेन लिम्बू बाधक बन्दा बिर्तामोडले सुरुआती अग्रता लिन सकेन। ३१औं मिनेटमा नीरेन्द्रमणि लिम्बूको प्रहारले पनि विपक्षी बार भत्काउन सकेन। ३८औं मिनेटमा सुवास आङ्थुपाको प्रहार पोस्ट माथिबाट बाहिरियो। ५७ औं मिनेटमा सुवासकै प्रहार बायाँ बार हुँदै बाहिरियो।
१९ औं मिनेटमा प्रेम घिमिरेको फ्रिकिक अकासिएपछि धरानले मध्यान्तरअघि राम्रो अवसरको सिर्जना गर्न सकेन। ६०औं मिनेटमा घिमिरेकै प्रहारलाई बिर्तामोडका गोलरक्षक टंक धिमालले उत्कृष्ट ढंगबाट बचाउँदा धरान अभागी ठहरियो। खेलको अतिरिक्त समयमा अशोक लिम्बूको प्रहारले पनि विपक्षी बार भत्काउन नसक्दा धरानको उपाधि उचाल्ने सपना पूरा हुन सकेन। शनिबारको खेलको म्यान अफ दि म्याच धरानका खगेन्द्रबहादुर लिम्बू घोषित भए।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि बिर्तामोडका टंक धिमालले प्राप्त गरे। प्रतियोगिताभर चार गोल गरेका काँकडभिट्टा भेट्रान क्लबका लाक्पा लामा सर्वाधिक गोलकर्ता बने। प्रतियोगिताको म्यान अफ दि सिरिज बिर्तामोडका नरेन्द्रमणि लिम्बू घोषित भए।
सीएमजी स्वस्थ्य क्लब विराटनगरको आयोजनामा प्रतियोगिता यही असोज २० गतेबाट सुरु भएको थियो। विजयी खेलाडीलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, आयोजक सीएमजी स्वस्थ्य क्लबका अध्यक्ष किशोर धमला, एन्फा मोरङका अध्यक्ष दीपेन्द्र धिमाललगायतले पुरस्कार प्रदान गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)