सांसदकै अगाडि क्याम्पस प्रमुखमाथि हातपात
![सांसदकै अगाडि क्याम्पस प्रमुखमाथि हातपात](https://annapurnapost.prixacdn.net/media/albums/kutpit-_20180524071458_8x8oyZL7fW.jpg)
जाजरकोट : जाजरकोटको दिल्लीस्थित नलगाड क्याम्पस प्रमुख कालीबहादुर पुनमाथि एकजना प्रदेश सांसदकै अगाडि हातपात भएको छ ।
त्रिभुवन माध्यमिक विद्यालयका पूर्वप्राध्यापक नारायण बहादुर सिंहले क्याम्पस प्रमुख पुनलाई हातपात गरेका हुन् । क्याम्पस प्रमुखमा पुन नियुक्त हुनु भन्दाअघि सिंहले त्यो जिम्मेवारी सम्हाल्दै आएका थिए । पुन गत मंसिरदेखि क्याम्पस प्रमुखमा नियुक्त भएका हुन् ।
सामुदायिक क्याम्पसको रुपमा ६ वर्षअघि उक्त क्याम्पस स्थापना भएको थियो । क्याम्पस सञ्चालक समितिको अनौपचारिक बैठक बसिरहेको अवस्थामा विवाद हुँदा सिंहले पुनलाई हातपात गरेका हुन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रदेश सभा सदस्य गणेश प्रसाद सिंह हुन् । पूर्वप्रधानाध्यापक सिंहलाई क्याम्पसमा उपप्रध्यापक र उनकै भाइका छोरालाई लेखापाल बनाउने विषयमा आफुले अस्वीकार गरेपछि विवाद भएको क्याम्पस प्रमुख पुनले बताए ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर उक्त क्याम्पसमा शिक्षा शास्त्रमा स्नातक तहमा पठन पाठन भइरहेको छ । समाजशास्त्र विषय लिएर स्नाकोत्तर गरेका सिंहलाई उपप्रध्यापकमा नियुक्त गर्न नमिल्ने भनेपछि आफुलाई कुटपिट गरिएको पुनले बताए ।
समाजशास्त्र मानविकी समूहमा पर्छ । छलफलमा सहभागी एक सदस्यका अनुसार आफु अनुकुलको निर्णय नहुने भएपछि पुर्वप्रधानाध्यापक सिंहले क्याम्पस प्रमुखलाई विभिन्न लान्छाना तथा आरोप लगाउन थालेका थिए ।
क्याम्पस प्रमुख पुनले त्यही कुरा मोबाइलमा रेकर्ड गर्न खोजेपछि सिंहले पुनलाई हातपात गरेका थिए । क्याम्पस प्रमुख पुनमाथि हातपात हुन थालेपछि उनी भागेर नजिकै रहेको इलाका प्रहरी कार्यालय दल्लीमा शरण लिन गएका थिए ।
त्यसक्रममा क्याम्पस प्रमुखको ज्याकेट च्यातिएको छ । मलाई शुरुमा नारायण सिंहले हातपात गरे लछारपछार गरे त्यसपछि उनका एक हुल केटाहरु आएर कुटपिट गरे लछारपछार गरेपछि भागेर ज्यान जोगाएँ ।
उनले भने ‘मलाई हातपात गर्ने सिहलाई कारवाहीको माग गदै इलाका प्रहरी कार्यालय दल्लीमा निवेदन दिएको छु । तर प्रहरीले साँसदको दवावमा कुनै प्रक्रिया नै अघि बढाएन । निकै दुःख लागेको छ । कानुनी राज्यमा पनि ठुलाबडाकै चल्दोरहेछ ।’
सांसद सिंह पनि पुर्वप्रधानाध्यापक सिंहकै पक्षमा थिए । सांसद सिंहले आफु भएकै अवस्थामा भएको उक्त घटना सार्वजनिक नगर्न क्याम्पस प्रमुख पुनलाई दबाब दिएका छन् ।
सांसद सिंहले कार्तिक ९ गते क्याम्पस संचालक समितिको बैठक बसेर विवाद टुङ्ग्याउने भन्दै क्याम्पस प्रमुखको निवेदन हाललाई कार्यान्वयन नगर्न प्रहरीलाई निर्देशन दिएपछि प्रहरी प्रशासनसमेत कारवाहीबाट पछि हटेको छ । जिल्ला प्रहरी प्रमुख रवीन्द्र सिंहले सामान्य विवाद मात्र भएको प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)