पानीपुरी खाँदा ३३ बिरामी !
सुर्खेत : पानीपुरी खाँदा सुर्खेतमा ३३ जना बिरामी परेका छन् । जिल्लाको भेरीगंगा नगरपालिका ११ मा एउटै गाउँका ३३ जना बिरामी परेका हुन् । बिरामी हुनेमा महिला तथा बालबालिका रहेका छन् ।
गाउँमा ठेलामा राखेर बेच्न लगेको पानीपुरी खाँदा उनीहरु आइतबार साँझ बिरामी भएका हुन् । बिरामीमा वान्ता आउने, ज्वरो आउने, पेट दुख्ने र मुर्छा पर्ने जस्ता लक्षण देखिएका छन् ।
स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि उनीहरुलाई वीरेन्द्रनगर ल्याइएको हो । बिरामीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पानीपुरी बेच्ने एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिरामीको अहिले प्रदेश अस्पताल वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।
यसैबीच कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्रीले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले बिरामीको उपचारमा कुनै कमी नराख्न अस्पताललाई निर्देशनसमेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !