मुसहरका सारथि

मुसहरका सारथि

बर्दिबास : एकीकृत नमुना मुसहर बस्तीका बासिन्दा शनिबार साँझ उत्साहित देखिन्थे । हातमा सयपत्रीको माला, अविर लिएर बच्चाबच्चीदेखि वृद्धवृद्धासम्म अथितिको व्यग्र प्रतीक्षामा थिए । उनीहरूले घरमा साँझको बत्ती के बालेका थिए, गाडी चढी आइपुगे रामकुमार कार्की ।

महोत्तरीको बर्दिबासस्थित बस्तीका स्थानीयले कार्कीको गलामा माला पहिर्‍याइदिए । निधारमा टीका लगाइदिए । बालबालिकाले पुष्पगुच्छा दिँदै भने, ‘रामकुमार सर, नमस्कार !’ उनले बालबालिकालाई मिठाई बाँडे ।

उनी स्कुल नजाने बालबालिकालाई पढाउन यो बस्तीमा आउँथे । उनले बर्दिबास नगरपालिकामा दुई वर्ष कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । उनी यहाँ रहँदा मुसहर बालबालिका पढाउन र उनीहरूका समस्या बुझ्न जान्थे । उनकै पालामा बर्दिबासमा धुर्मुस र सुन्तलीले एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेका थिए । बस्ती निर्माणको जस उनलाई पनि जान्छ । जनप्रतिनिधि नभएका बेला कार्कीले सरकारी कार्यालयबीच समन्वयकारी भूमिका निर्वाह गरेको स्थानीय गोविन्द पौडेलले जनाए ।

मुसहर बस्ती अहिले बर्दिबासको मात्र नभई क्षेत्रकै घुम्ने स्थानमा परेको होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश २ का अध्यक्ष हीरा गौतमको भनाइ छ । मुसहरको जीवनस्तर उकास्न सहयोग गरेकाले कार्कीलाई बस्तीका सबैले सम्मान गर्छन् । मुसहरलाई सहयोग गर्ने सरकारी कर्मचारीमा उनलाई लिइने गरेको स्थानीय ५० वर्षीया मानकी मुसहरले बताइन् ।

कार्की बर्दिबासबाट सरुवा भई धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिका पुगे । उनी अहिले पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् । सहयोगी भावना भएका उनी दसैंको शुभकामना आदानप्रदान गर्न शनिबार साँझ वीरगन्जबाट बस्तीमा आएका थिए ।

‘दसैं आयो’ बोलको गीत घन्किएपछि स्थानीयवासी छमछमी नाच्न थाले । स्थानीयको आग्रहपछि उनी पनि बस्तीवासीसँगै नाचेर दसैंको खुसियालीमा सरिक भए । उनको स्वागतमा बस्तीमा एक घण्टासम्म सांस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो ।

त्यसपछि स्थानीयले उनलाई घरमै खाना खुवाएका थिए । छुट्ने बेला बस्तीवासीलाई उनले भने, ‘म बर्दिबासबाट सरुवा भएर जहाँ गए पनि यहाँहरूको मायाले मलाई तानेर ल्याउँछ ।’ मुसहर बालबालिका पढेर असल मान्छे बन्नुपर्छ भन्दै गाला सुमसुम्याउँदै उनी बिदा भए । बर्दिबासका शंकर फुयाँलले भने, ‘कर्मले मानवलाई महान् बनाउँछ । भाग्यभन्दा कर्ममा विश्वास गर्नुपर्छ ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.