गरिबको घरमा दसैं खर्च लिएर पुगे मेयर
बर्दिबास : दसैं मनाउन महोत्तरीको बर्दिबास नगरपालिका ११ स्थित भरत टोल बस्ने एक गरिब परिवारलाई स्थानीय सरकारले खाद्यान्न, लुगाफाटो तथा आर्थिक सहयोग उपलब्ध गराएको छ।
कुष्टरोग पीडित ७० बर्षीय मरिचमान र राधा तामाङ दम्पतिलाई बर्दिबास नगरपालिकाले दसैं खर्च उपलब्ध गराएको हो।
बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्की र उपमेयर सुशीला गौतमले घरै पुगेर स्थानीय सरकारको तर्फबाट तीस किलो चामल, तीन लिटर तेल, तीन किलो चिनी, तीन किलो नुन, मरमसलन, एक जोर नयाँ लुगा र पाँच हजार उपलब्ध गराएका हुन्।
वडा नम्बर ११ का वडा अध्यक्ष धनबहादुर ठोक्करका अनुसार उनीहरुको घर पनि जीर्ण छ।
‘उमेरले ७० भन्दा बढी राधाको नागरिकतामा उमेर गडबढी भएकाले सामाजिक सुरक्षाबाट बञ्चित छन्,’ मेयर कार्कीले भने, ‘यी दम्पत्तिको घर बनाइ दिने सोच छ। तर जग्गासम्म उनीहरुको छैन।’
गरिबका लागि पनि दसैं आउनु पर्छ भन्दै मेयर कार्कीले उनीहरुलाई खाद्यान्न समाग्री उपलब्ध गराएका हुन्।
प्रतिक्रिया दिनुहोस !