नवमीको दिन टीका लाउँछन् चेपाङ

नवमीको दिन टीका लाउँछन् चेपाङ

मकवानपुर : मकवानपुरको पश्चिमी काँकडास्थित सिलिङ्गेका प्रशान्त चेपाङ दशै चटोरमा छन्। 

फूलपातीको दिन चेपाङहरुले सिमे भूमी, ठूला रुखको फेदीमा ढुङ्गा राखेर वर्षदिन पालेको कुखुराको भाले बली दिने चलन छ। विषेशगरी गाईबस्तुलाई घाँस खुवाउन मिल्ने कुटमेरो, टाँकी लगायत रुखको फेदीमा ढुङ्गालाई पुज्ने उनीहरु म्राङ्मा (जंगलमा बोल्दा आफैतिर फर्कने आवाज) लाई पुज्छन्। कतिपयले भीमसेनको पूजा पनि भन्ने गरेका छन्।

प्रकृति पूजासँगै फूलपातीको दिन सुङ्गुर अनिवार्य काटिने गरेको छ। ‘सुङ्गुर नकाटेत दसैं मानेजस्तै लाग्दैन’, सिलिङ्गेका ७३ वर्षीय राम बहादुर चेपाङले भने, ‘सुङ्गुर देवतालाई चढाउन काट्ने होईन खानको लागि हो तर कुनै वर्ष सुङ्गुर काट्न नपाए हामीलाई दसैं आएजस्तो नै लाग्दैन।’

चेपाङहरु हिन्दु धर्मावलम्बीहरुले जस्तो दसैंमा दुर्गा, देवी, कालीको पूजा गर्दैनन्। ‘हामी प्रकृति पूजक हौं, दसैंमा पनि प्रकृतिलाई नै पुजा गर्छौ’, चेपाङले भने, ‘बरु सुर्य देवताको पुजा गर्छौं।’

राँगा भैँसीको मासु पनि चेपाङको दसैंमा अनिवार्य जस्तै भएको छ। सिलिङ्गेमा मात्र यसपाली चार वटा राँगा, भैँसीको मोल छिनिएको छ। दसैंको लागि किनिएको नयाँ कपडा लगाएर गाउँभरीका बालवालिका र महिलाहरु समेत अष्टमिको दिन राँगा, भैँसीको मासु लिन जाने गर्छन्। यसलाई उनीहरु मौला जाने भन्छन्। ‘नयाँ लुगा लगाएर राँगा, भैँसी काटेको हेर्न जाने भएकाले पनि यसलाई मौला जाने भनिएको हो, यो चलन अझै पनि छ’, पूर्व संसद तथा सिलिङ्गेका स्थानीयबासी गोविन्द चेपाङले भने।

सिलिङ्गेका मिलन चेपाङलाई भने दसैंको लागि जंगलबाट बनकेराको पात ल्याउने जिम्मेवारी परेको छ। उनीहरु दसैंमा थालमा खाँदैनन्। बन केराको पात गबाएर बनाइएको पहेँलो पातको टपरी र दुनामा दसैंको परिकार खुकुरा, भैँसी, सुङ्गुरको मासुको परिकारसँग घैया धानको भात खाने गरिन्छ। साथै माछा र गंगटा, झिँगे माझाको परिकारले पनि दसैंको रौनक थपिदिन्छ।

‘अष्टमीको अघिल्लो दिन जंगलबाट बनकेराको पात ल्याएर पहेँलो बनाउन गबाउने गरिन्छ’, स्थानीय जमान सिं चेपाङले भने, ‘तर पछिल्लो समय बन केरा जंगलमा हराउँदै गएको छ।’ आफु खाने मात्र हाईन प्रकृतिलाई पनि उनीहरु उल्टो दुनामा खानेकुरा राखेर चढाउँछन्।

नवमीको दिन भने नयाँ बुहारीहरुलाई माइत जाने हतारो हुन्छ। बिवाहपछिको चार वटा दसैंको टिका छिनेपछि मात्र श्रीमती पक्का हुने परम्पराका कारण ससुराली खुशी पार्न नवबिवाहित युवाहरु कोशेलीमा कन्जुस्याँई गर्दैनन्। ‘नवमीको दिन सात वटा सुङुरको करङ,सात काईयो मुङ्रे केरा, सात पाथी चामल, एक घैँटो घरेलु रक्सी (करिब ३० बोतल) कोशेली ससुरालीमा लैजाने चलन छ’, बखान सिंले भने, ‘ससुराली खुशी पार्न भरिया नै लिएर नवमीको दिन कोशेली सहित ससुराली जाने चलन छ।’

नवमीको दिन ससुराली नजानेहरु गाउँका ठुला बढाको टिका थाप्न जान्छन्। एक बोतल रक्सी र एक टपरी सुङ्गुरको मासु बोकेर गाउँका ठूलाबढासँग टिका थाप्ने चलन भने हराउँदै गएको छ। देशमा बहुदल आउनुअघिसम्म चेपाङहरुका मुखिया गौरुङ, मिजार, मुखिया, पाण्डे (पुजारी), दुवारेको टिका थाप्ने चलन थियो। ‘२०४६ साल अघिसम्म यसरी टिका थाप्न नगए गाउँका मुखियाहरुले अरु समयमा सहयोग गर्दैनथे तर बहुदलपछि क्रमशः मुखिया मान्न छाड्दै गएको छ’, पूर्व सांसद चेपाङले भने,‘आजभोली भने घरैमा जमरा राखेर टिका लगाउने चलन बढेको छ।’।

प्रकृति पूजक चेपाङ समुदायमा क्रिश्चयन धर्मको प्रभाव बढेपछि भने केही वर्ष दसैं प्रभावित भएको थियो। तर पछिल्लो समय दसैं मान्ने क्रममा बढेको चेपाङले बताए। नवमीकै दिन टिका लगाउने चलन भएकाले विजया दशमीको दिन भने खानपिन गरी रमाईलो गर्ने उनीहरुको चलन छ। तर पछिल्लो समय कतिपयले विजयाशमीको दिन पनि टिका लगाउने गरेका छन्। ‘हामी प्रकृति पुजक भएकाले हिन्दु धर्मको अनुशरण गर्ने होईन प्रकृति पुजा गरेर दसैं मनाउँछौं’, नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङले भने, ‘तर पछिल्लो अन्य धर्मको हस्तक्षेपका कारण समय हाम्रो परम्परा जोगाउने चुनौती थपिएको छ।’

मकवानपुर सहित धादिङ, गोर्खा, चितवन, धादिङ लगायतका जिल्लामा बस्ने चेपाङहरुको जनसंख्या करिब एक लाख ३० हजार रहेको नेपाल चेपाङ संघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.