पिङले थपियो दसैंमा रौनक

पिङले थपियो दसैंमा रौनक

हेटौंडा : दसैंमा टीका, आफन्त भेटघाट, मासुको परिकारसँगै जोडिएर रोटे पिङ र लिंगे पिङ आउँछ। तर मकवानपुरको केही ग्रामीण क्षेत्रमा लिंगे पिङ देखिए पनि रोटे पिङ भने यो दसैंमा कमैमात्र देखिए। सहरका अधिकांश युवाले रोटे पिङ देख्नसमेत पाएका छैनन्।

हेटौंडासँगै जोडिएको मकवानपुरगढी गाउँपालिकाका बालकदेखि वृद्धसम्मले यो दसैंमा धित मर्ने गरी रोटे पिङको मज्जा लिन पाए। ग्रामीण क्षेत्रमा समेत लोप हुँदै गएको रोटे पिङ संरक्षणका लागि मकवानपुरगढी गाउँपालिकाले स्थानीयसँगको समन्वयमा प्रत्येक वडामा लिंगे पिङ निर्माण गरिदिएको हो।

पिङ संस्कृति हराउँदै गएकाले त्यसको संरक्षण र जर्गेना गर्ने उद्देश्यले ठाउँ ठाउँमा पिङ निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाइँले बताए। ‘हाम्रो संस्कृतिसँग जोडिएको पिङ हराउँदै गएको छ, साना बालबालिकाले अब यो शब्दसमेत लिन नजान्लान् भन्ने भइसक्यो’, उनले भने, ‘त्यसैले गाउँपालिकाको पहलमा पिङ निर्माण गरिएको हो।’ यो कार्यबाट संस्कृति, कलाको संरक्षणसँगै सीपहरूको हस्तान्तरण पनि हुने हुमागाईले बताए।

‘काठको रोटे पिङ बनाउने सिकर्मीहरू समेत पाउन छोडेछन्’, उनले भने, ‘यसलाई हामीले सीप हस्तान्तरण गर्ने अवसरको रूपमा समेत लियौं।’ वडा–वडामा रोटे पिङ हाल्न कालिगढको अभाव र काठको पनि समस्या देखिएको बताउँदै अध्यक्ष हुमागाइँले आगामी वर्ष प्रत्येक वडामा रोटे पिङ निर्माण गरिने बताए।

गाउँपालिकालाई रोटे पिङ निर्माणका लागि ४५ हजार रुपैयाँ बराबरको काठ स्थानीय चुच्चेखोला सामुदायिक वनले सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम परियारले बताए। साथै गाउँमा रोटेपिङ बनाउने कालिगढ (सिकर्मी) अभाव भएपछि ओखलढुंगाबाट सिकर्मी बोलाएर रोटे पिङ निर्माण गरिएको उनले बताए। ‘गाउँमा रोटे पिङ बनाउन जान्छे मान्छेको अभाव भएपछि बाहिरबाट बोलाएका हौं’, परियारले भने, ‘गाउँपालिकाले पहल थालेपछि लिंगे पिङ भने स्थानीयवासीले उत्साहका साथ निर्माण गरे।’

रोटेपिङसँगै प्रत्येक वडामा लिंगे पिङ निर्माणपछि अघिल्ला दसैंमा भन्दा यो पटकको दसैैंमा गाउँमा थप रौनक देखिएको स्थानीय अर्जुन दाहालले बताए। ‘चाडपर्वमा मात्र गाउँ फर्कने र एक अर्कामा भेट्ने बहाना नहुँदा गाउँ नै शुन्य हुँदै गएको थियो’, उनले भने, ‘चाडपर्वमा समाजलाई एकताबद्ध बनाउन पनि पिङको महत्वपूर्ण भूमिका हुँदोरहेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.