देउवाको आह्वान : नयाँ पुस्ता तयार गर्नुपर्यो
चितवन : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासका लागि नयाँ पुस्ता तयार गर्नुपर्ने बताएका छन् ।
सामाजिक अभियानमा किशोर किशोरीलाई सहभागी गराएर मुलुक बनाउने अभियान सुम्पिने पुस्ता तयार गर्ने बेला भएको उनले बताए । चितवनको मेघौलीमा सुरु स्काउट जंगल क्याम्पको उदघाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
जिम्मेवारी सुम्पिन लायक पुस्ता तयारी गर्न उनले आह्वान गरेका थिए । ‘ज्ञान, सीप, क्षमता बढाएर किशोर किशोरीमा सामाजिक भावना जागृत गराउनु आवश्यक छ’ देउवाले भने ‘मानव सेवामा अभिप्रेरित गराएर देश विकासमा ईँटा थप्नु पर्छ ।’
क्लिनिक नेपालको आयोजनामा स्काउटको मैत्रीपूर्ण क्याम्प मेघौलीमा बिहीबार सुरु भएको हो । नेपाल र बेलायतका गरी २ सय ८२ जना स्काउटर र स्काउटको सहभागिता यहाँ छ । तीन दिनसम्म चल्ने क्याम्पमा दुई देशका सांस्कृतिक अनुभव साटिने आयोजकले बताएका छन् ।
खुला स्थानमा टेण्ट टाँगेर विभिन्न शारिरिक गतिविधि संचालन गरिने पनि बताइएको छ । यसले उनीहरुलाई आत्मरक्षा सँगै सामाजिक अभियानमा समेट्न टेवा पुग्ने क्लिनिक नेपालका अध्यक्ष हरि भण्डारीले बताए ।