निङ्गलाशैनी प्रिमियर लिग, उद्घाटन खेलमा सिगास विजयी
बैतडी : निङ्गलाशैनी प्रिमियर लिग(एनपीएल) टी-ट्वान्टी क्रिकेट प्रगियोगिता बिहीबारदेखि बैतडीमा सुरु भएको छ। निङ्गलाशैनी क्रिकेट क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो। बिहीबार भएको उद्घाटन खेलमा सिगास गाउँपालिकाले विजयी सुरुवात गरेको छ। निङ्गलाशैनी खेल मैदानमा टस जितेर पहिला व्याटिंग गरेको सिगासले दोगडाकेदार गाउँपालिकालाई ७९ रनले पराजित गरेको हो।
सिगासले निर्धारित २० ओभरमा नरेस चन्दको सर्वाधिक ४२ तथा मोहित भण्डारीको नटआउट ३६ रनको मद्दतमा ६ विकेटको क्षतीमा १८० रन बनाएको थियो। दोगडाकेदारका अशोक कार्कीले २ विकेट हात पारे।
१८१ रनको विशाल लक्ष्यका साथ मैदानमा उत्रेको दोगडाकेदार १९.१ ओभरमा १०१ रनमा समेटियो। दोगडाकेदारका रमेश भट्टले १७ बिरेन्द्र कार्कीले १५ र सविन चन्दले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन समेत बनाउन सकेनन्।
सिगासका रुपक ऐरी र राम चन्दले समान ३÷३ विकेट हात पारे भने बसन्त खत्रीले २ विकेट लिए। खेलका म्यान अफ द म्याच सिगासका नरेस चन्द घोषित भए।शुक्रबार पहिलो खेलमा सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिका ए भिड्दा दोस्रो खेलमा दोगडाकेदार गाउँपालिका र आयोजक निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि) भिड्ने भएका छ्न्।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १११ ट्रफी र प्रमाणपत्र र द्वितीय पुरस्कार ५५ हजार ५५५ रुपैंया,ट्रफी र प्रमाणपत्र राखिएको निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि)का अध्यक्ष महेश सिंह भण्डारीले बताए।
कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी १ जनालाई ११ हजार १११ ट्रफी र प्रमाणपत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी एक एक जनालाई जनही ५ हजार ५५५ नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार दिइनेछ।
१२ टोलीको सहभागीता रहेको प्रतियोगितामा सर्वाधिक छक्का हिर्काउने १ जनालाई २ हजार २ सय २२, सर्वाधिक चौका हिर्काउने १ जनालाई १ हजार १ सय ११ र सर्वाधिक क्याच समात्ने १ खेलाडीलाई नगद १ हजार १सय ११ नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछन्। यस्तै अनुसासित १ टिमलाई ब्याट, ट्रफी र प्रमाणपत्र तथा प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी १ जनालाई ट्रफी र प्रमाणपत्र पुरस्कार दिइनेछ।
प्रतिक्रिया दिनुहोस !