कालिकोट अब स्याउ क्षेत्र
कालिकोट : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइले रास्कोट नगरपालिकाको सिप्टीलाई स्याउको जोन बनाउने भएको छ। नगरका ९ वटै वडामा स्याउको जोन कार्यक्रम लागू भएको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले जानकारी दिए ।
बरालका अनुसार स्याउको बजार व्यवस्थापन र भण्डारण गर्ने लक्ष्यसहित यो कार्यक्रम लागू गरिएको हो। कात्तिकमै रास्सकोट नगरपालिकामा कार्यालय स्थापना हुने उनले बताए। रास्कोट नगरपालिकाको लेकाली क्षेत्र सिप्टीमा निकै राम्रो स्याउ उत्पादन हुँदै आएको छ। उत्पादन बढाउनुका साथै किसानलाई आत्मनिर्भर बनाउन स्याउ जोन कार्यक्रम लागू गरिएको हो। उनले भने, ‘रास्कोट नगरले पहिलो चरणमा नगरका ३ हजार घरधुरी प्रत्येकले सय स्याउका बिरुवा अनिवार्य रोप्नुपर्ने अभियान सञ्चालन गर्दै छौं ।’

कालिकोटको सिप्टीमा फलेको लटरम्म स्याउ। तस्बिर : बिस्नप्रसाद न्यौपाने
नगरपालिकाका करिब सय घरधुरीले सिप्टीमा स्याउ खेती गर्दै आएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पहिलो वर्ष एक करोड बजेट विनियोजन गरेको छ। कालिकोटका बजारमा रुपडियाबाट स्याउ आयात हुँदै आएको छ।
रास्कोट नगरपालिकाको सिप्टीमा ५ सय हेक्टर जमिनमा किसानले स्याउखेती गर्दै आएको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत भक्तिराम शर्माले जानकारी दिए। उनका अनुसार अझै हजार हेक्टर स्याउखेती हुने जमिन खाली छ। सिप्टीमा यातायात सुविधा नहुँदा स्थानीयले उत्पादन गरेको स्याउ बजारीकरणका लागि समस्या हुँदै आएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !