एक विद्यालय, एक नर्स : प्रदेश ३ सरकारले माग्यो आवेदन

एक विद्यालय, एक नर्स : प्रदेश ३ सरकारले  माग्यो आवेदन

हेटौंडा : प्रदेश -३ का सरकारी विद्यालयमा पहिलो पटक नर्स सेवा प्रदान गरिने भएको छ। यो सेवा लागू भएपछि स्कुले बालबालिका लाभान्वित हुनेछन्।  विद्यालयमा नर्सले दैनिक विद्यार्थीको स्वास्थ्य हेरचाहसँगै उनीहरुलाई स्वस्थ रहने तरिकाबारे जानकारी गराउनेछन्।

त्यसका लागि प्रदेश तीनको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा १३ जिल्लाका २० विद्यालयमा नर्स छनौटका लागि प्रक्रिया अघि बढाएको छ।' पहिलो चरणमा २० वटा विद्यालयमा नर्स छनौटका लागि सूचना प्रकाशित गरी काम अघि बढाएका छौं, 'सामाजिक विकास मन्त्री युवराज दुलालले भने, 'प्रदेश तीनका प्रत्येक सामुदायिक विद्यालयमा यो कार्यक्रम पुर्‍याउने लक्ष्य रहेको छ।'

स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले विद्यालयमा नर्स सेवा सुरु गरिएको उनले बताए।'नर्सले प्रत्येक विद्यार्थीको स्वास्थ्यबारे दैनिक जानकारी लिन्छन्, उनीहरुलाई आफूसँगै घर परिवारलाई स्वस्थ रहने तरिकाबारे सिकाउँछन्', मन्त्री दुलालले भने, ' प्राथमिक उपचारले ठीक नभएपछि नर्सले बिरामी विद्यार्थी अस्पताल पठाउँछन्।'

विद्यालयबाटै विद्यार्थीले आफ्नो स्वास्थ्यप्रति ख्याल राख्ने बानीको विकास गर्नसक्यो भने स्वस्थ नागरिक उत्पादन हुने उनले बताए। पहिलो चरणमा स्वास्थ्य उपचारको पहुँच कम भएका छात्रा र विपन्न विद्यार्थी बढी भएको विद्यालय छनौट गरिएको मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले बताए। 'मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेकाले मन्त्रालयमा १५ दिनभित्र नर्सका लागि दरर्खास्त दिन सक्नेछन्,' उनले भने, 'पहिलो चरणको छनौट प्रक्रिया सकिएपछि दोस्रो चरणको प्रक्रिया अघि बढाउँछौं।'

मन्त्रालयले बुधबार नर्स छनौटको सूचना प्रकाशित गरेको छ।मन्त्रालयले विद्यालय नर्स कार्यक्रम सञ्चालनका लागि चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। कार्यक्रमको प्रभावकारिता हेरेर विद्यालय थप्दै जाने मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले बताए।

नर्सले विद्यार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्ने, स्वच्छ वातावरण निर्माणका लागि विद्यार्थीलाई उत्प्रेरित गर्ने, विद्यार्थीमार्फत समुदाको स्वास्थ्य सचेतनाको काम गर्ने र छात्रामा देखिने विभिन्न समस्याको निगरानी र उपचारमा सहयोग गर्ने उनले बताए। 

'यो कार्यक्रम स्थानीय तहसँगको सहकार्यमा सुरु गर्न लागिएको हो, अर्को वर्षदेखि स्थानीय तहमा नै बजेट पठाएर स्थानीय तहमार्फत नै कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ, उनले भने। चालू आर्थिक वर्षमा छनौट भएका विद्यालयमा सिन्धुपाल्चोक चौतारास्थित कृष्णरत्न मावि, भीमटारस्थित भीमेश्वर मावि, सिन्धुलीस्थित जनज्योति मावि(फोस्रेटार),रसुवास्थित कालिका हिमालयन मावि( कालिकास्थान), रामेछापस्थित मन्थली मावि (मन्थली), नुवाकोटस्थित विन्दुकेशर मावि,तुक्सार (मेघान) र त्रिभुवन मावि (त्रिशुली) रहेका छन्।

त्यस्तै मकवानपुरको महेन्द्र मावि बकैया-४, आधुनिक मावि(हेटौडा), ललितपुरको आदर्शसोल मावि, त्रिपद्मा बिध्याश्रम मावि, पार्वती मावि ढुंगखर्क (काभ्रेपलाञ्चोक), काठमाडौँस्थित जनसेवा मावि(पाङ्गा), पद्मकन्या मावि, दोलखास्थित हनुमन्तेश्वर मावि, चितवनस्थित नारायणी मावि(भरतपुर), दुर्गाशेषकान्त अधिकारी मावि(भरतपुर), धादिङस्थित निलकण्ठ मावि(धादिंगबेसी), मावि (बेनिघाट) र बागीश्वरी मावि (भक्तपुर) छनौट भएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.