महिलालाई आत्मरक्षा तालिम
महेन्द्रनगर : भीमदत्त नगरपालिकाले किशोरी तथा महिलाका लागि आइतबारदेखि आत्मरक्षा तालिम सुरु गरेको छ । किशोरी र महिलालाई आत्मरक्षा गर्न सक्षम बनाउने उद्देश्यले तालिम सुरु गरिएको प्रशिक्षक पार्वती कार्कीले बताइन् । उनका अनुसार भीमदत्त नगरपालिकाको आयोजनामा क्रुदय सेल्भ डिफेन्स मार्सल आर्ट एसोसिएसनले आत्मरक्षासम्बन्धी प्रशिक्षण दिनेछ ।
तालिम संयोजक स्वास्थ्य एवं अधिकारकर्मी प्रीतिधीर भण्डारीले भीमदत्त नगरपालिकाका १९ वटै वडाका एक सय ९० जना किशोरी र महिला सहभागी रहेको बताइन् । आत्मरक्षा तालिममा सहभागी भीमदत्त नगरपालिका–४ की वविता विष्टले बालबालिका तथा किशोरी असुरक्षित हुँदै गएकाले आत्मरक्षा तालिम लिएको बताइन् । उनले भनिन्, ‘तालिमले धेरैलाई सहयोग पुग्नेछ ।’ निर्मला पन्तको घटनापछि कैलालीको धनगढी र बैतडीमा समेत तालिम आयोजना गरिएको थियो ।
प्रशिक्षणमा आफूलाई कसैले समात्न खोजे कसरी ‘डिफेन्स गर्ने, आत्मबल कसरी बढाउने, समात्ने मान्छेको कुन–कुन ठाउँमा हान्यो वा टोक्यो भने फुत्किन सकिन्छ, कसैले समात्यो वा समात्न खोजे कसरी चिच्याउने, चिच्याउँदै भीड वा मानिस भएको स्थानतिर जानेजस्ता कौशल सिकाइनेछ ।
प्रतिक्रिया दिनुहोस !