भेरीमा बेपत्ता अमिना सातौँ दिनमा पनि भेटिइनन्
दुनै, डोल्पा : डोल्पामा गत १९ गते भएको जिप दुर्घटनापछि बेपत्ता २२ वर्षीया अमिना बुढा मगरको सातौँ दिनसम्म अत्तोपत्तो छैन । दुर्घटनामा परेको जिप भेरीमा खसेपछि बेपत्ता अमिनाको खोजी गरिरहेको सशस्त्र प्रहरीको गोताखोरको टोलीले सातौँ दिनमा पनि शव भेट्टाउन नसकेको हो ।
काठमाडौँबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले अमिनाको लगातार खोजी गर्दा पनि उपलब्धी हासिल गर्न नसकेको हो । ‘पानी अतिचिसो छ, करेण्ट नै लाग्छ’, गोताखोर टोलीका एक सदस्यले भने, ‘अक्सिजनको सिलिण्डरले भनेअनुसार काम नगर्ने भएकोले खोजीमा समस्या भएको छ ।’
हरेक दिन बिहानदेखि साँझसम्म भेरीमा गोताखोर, अन्य सुरक्षाकर्मी र आफन्तले खोजी गरेपनि अत्तोपत्तो नभएको अमिनाका आफन्त चन्द्र बुढाले जानकारी दिए । निरन्तर खोजीमा लागिरहेको गोताखोर टोलीले पनि फेला पार्न नसकेपछि दुखी बनाएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।
पानी अत्यधिक चिसो भएका कारण खोजीमा कठिनाई भएको प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले बताए । कात्तिक १९ गते दुनैबाट १२ यात्रु र १ चालकसहित गुडेको भे १ च १६१० नम्बरको जिप कालागौडको बतासे डाँडानजिकै भेरीमा खस्दा १० जनाको घटनास्थलमै ज्यान गएको थियो ।