एयरबस भन्छ– वाइडबडी ‘भाडामा’

एयरबस भन्छ– वाइडबडी ‘भाडामा’

काठमाडौं : विमान निर्माता एयरबसले २८ जुन २०१८ मा एउटा विज्ञप्ति निकाल्यो। नेपाललाई पहिलो वाइडबडी विमान हस्तान्तरण गरिएको दिन थियो त्यो। विज्ञप्तिमा भनिएको छ, ‘नेपाल एयरलाइन्सले पहिलो ए३३० वाइडबडी जेटलाइनर बुझेको छ, जुन पोर्चुगलको लिजर (भाडामा लगाउने) हाई फ्लाईले भाडामा दिने दुइटामध्ये एउटा विमान हो।’

उक्त विज्ञप्ति एयरबसको वेब साइटमा अझै देख्न सकिन्छ। हेर्नुस् लिंक

यससँगै प्रश्न उब्जिएको छ– नेपाल एयरलाइन्सले ल्याएका दुई वाइडबडी किनिएकै हुन् त ? एयरबसले भने हाई फ्ल्याईलाई विमान बिक्री गरेको पाइएको छ। हाई फ्लाईले नेपाल एयरलाइन्सलाई बिक्री गरेको प्रमाण भने कतै भेटिँदैन। शंका लागेपछि हामीले हाई फ्लाईकै वेब साइट विस्तृतमा अध्ययन गर्‍यौं। त्यो भाडामा लगाउने मात्र कम्पनी रहेको पुष्टि भएको छ।

उसैले आफ्नो प्रोफाइलमा परिचय यसरी दिएको छ, ‘हाई फ्लाई वाइडबडी विमान भाडामा दिने विशेषज्ञतासहितको विश्वव्यापी अग्रणी कम्पनी हो। एयरलाइन्सहरूका छोटा/मध्यकालीन वा कुनै सिजनमा चाहिने आवश्यकता परिपूर्ति गर्न यो संस्था सहयोगी बन्नेछ।’ विस्तृतमा हेर्न यो लिंकमा जानुहोस्

हाई फ्लाईले विश्वभर विमान भाडामा दिन्छ। आफूसँग भएका जहाज भाडामा लिन प्रस्ताव आह्वासमेत गर्छ। उसको वेब साइटमा एयरबसका विभिन्न विमान भाडामा दिनेबारे यस्तो सूचना राखिएको छ– ‘हाई फ्लाई एयरबसका सबै किसिमका विमान भाडामा दिने सबैभन्दा ठूलो कम्पनी हो। ईएएसए र आईओएसए प्रमाणित तथा एफएएबाट स्वीकृतप्राप्त यस विमान सञ्चालकसँग एयरबसका ए३२१, ए३३०, ए३४० र ए३८० विमान भाडामा उपलब्ध छन्। भाडामा दिनु (चालक दलसहितका विमान, मर्मतसम्भार र बिमा) हाई फ्लाईको ब्यापार हो। र, यसमा हाम्रो एक दशकभन्दा लामो दक्षता छ।’

हाई फ्लाईले आफूलाई विमान बिक्रेता कम्पनीका रूपमा कतै चिनाएको छैन। कसैलाई विमान बेचेको पनि देखाएको छैन। नेपाल एयरलाइन्सलाई बिक्री गरेको पनि उल्लेख गरेको छैन। बरु आफैं विमान सेवा भने सञ्चालन गर्दै आएको छ। ‘प्रकृति नै भाडामा दिने भएको कम्पनीबाट कसरी विमान किनियो होला ? ’ नेपाल एयरलाइन्सका केही उच्च अधिकारी आश्चर्य प्रकट गर्छन्, ‘वाइडबडी प्रकरण यति जेलिएको छ, बुझिनसक्नु छ। यसका कागजपत्र केलाइनसक्नुछ। कति सक्कली, कति नक्कली भन्ने खुट्याउनु जरुरी छ।’

उस्तै नाम, छलछाम

एयरबसका दुइटा वाइडबडी विमान किन्नेबारे नेपाल वायुसेवा निगमले अमेरिकाको एएआर कर्पसँग २७ जनवरी २०१७ मा समझदारी गर्‍यो। तर, विमान हाई फ्लाई एक्स आयरल्यान्डसँग किन्ने निचोडमा पुग्यो। त्यो कम्पनी त्यसको २६ दिनपछि २१ फेब्रुअरी २०१७ मा स्थापना गरियो। दर्ता नम्बर ५९९०१० भएको हाई फ्लाई एक्सको देखावटी कार्यालय ग्रान्ड क्यानल हार्बर, डब्लिन २ मा थियो। त्यसको दर्ता उद्देश्यमा भनिएको छ, ‘हवाई यातायातका उपकरण भाडामा लिने–दिने काम गर्ने।’ नेपालमा दुइटै जहाज ओर्लिएपछि त्यो बन्द भइसक्यो।

हाई फ्लाई र हाई फ्लाई एक्स आयरल्यान्ड फरक कम्पनी हुन्। नेपाल एयरलाइन्सले हाई फ्लाई एक्ससँग विमान किनेको बताउँदै आएको छ। जब कि एयरबसले हाई फ्लाईलाई बेचेको सम्पूर्ण कागजातहरूले देखाउँछन्। हाई फ्लाई पुरानो कम्पनी हो। हाई फ्लाई एक्स भने नेपाललाई विमान बेच्ने प्रयोजनमा खोलिएको हो। जब कि, उसको उद्देश्य पनि ‘भाडा’ मै सीमित छ। त्यही प्रयोजनमा खोलिएको र नेपाललाई विमान बिक्रेता भनिएको कम्पनीलाई एयरबसले विमान बेचेकै छैन। ‘कहाँबाट ल्याएर उसले दियो नेपाललाई जहाज ? ’ निगममै प्रश्न सुरु भएको छ।

वाइडबडी ल्याउने क्रममा टेन्डर पार्ने एउटा, सम्झौता गर्ने अर्को, जहाज दिने अर्कै कम्पनी छन्। सोझै एयरबससँग किन्न छाडेर बिचौलियाको चाङ खडा गरिएको छ। यसमा महालेखापरीक्षकको प्रतिवेदनले समेत गम्भीर आपत्ति जनाएको। त्यसमा सम्लग्न गराइएका कम्पनी कुनै पनि विमान बिक्री प्रयोजनका भने छैनन्।

हाई फ्लाई एक्स भने निगमले आफैं बनाएको थियो। निगम सञ्चालक समिति सचिवालयले २०७४ जेठ ३० गते संस्थागत र अर्थ विभागका निर्देशकलाई लेखेको पत्रले यसलाई छर्लङ्याउँछ। संख्या बीएस/०४/२७६ को पत्रमा भनिएको छ, ‘जहाज एयरबस कम्पनीमा निर्माण हुने र कारोबार गर्दा कन्सोर्टियममा रहेका तीन भिन्न मुलुकका कम्पनीसँग कारोबार गर्न व्यावहारिक तथा कानुनी रूपमा असजिलो पर्ने भएकाले यही कारोबारका लागि मात्र स्पेसल पर्पोज कम्पनी गठन गरी कारोबार गर्दा सहज र सरल हुने निष्कर्षमा पुगी निगम र कन्सोर्टियमको आपसी सहमतिमा युरोपियन कानुनबमोजिम गठन भएको स्पेसल पर्पोज कम्पनी हाई फ्लाई एक्स आयरल्यान्ड लिमिटेड र निगमबीच जहाज खरिद–बिक्री सम्झौता भएको।’तर, खरिद–बिक्री सन्देहको घेरामा देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.