नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल
काठमाडौँः सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।
निगमले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको आवाज उठिरहेका बेला पर्यटन मन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा खरेललाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको हो ।
हाल निगमको कार्यकारीको भूमिकामा महाप्रबन्धक सुगतरत्न कंसाकार रहेका छन् । उनकै नेतृत्वमा निगमले दुईवटा वाइडबडी जहाज किने पनि खरिद प्रक्रियामा दलालको प्रयोग गरेर भ्रष्टाचार गरेको आरोप लागिरहेको छ ।
यसअघि शुक्रबार मन्त्रिपरिषद बैठकले खरेललार्इ नेपाल वायुसेवा निगमको सञ्चालक समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।
पर्यटन मन्त्री अधिकारीको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खरेललाई सदस्यमा नियुक्त गरेको थियो। खरेललाई सञ्चालक समिति सदस्य नियुक्त गरेको दुर्इ दिनमै सरकारले कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पेको हो ।
निगमको सञ्चालक समितिमा अध्यक्षसहित ७ जना सदस्य रहने व्यवस्था छ। खरेल बर्तमान महाप्रबन्धक सुगतरत्न कंसाकार भन्दा अघि खुला प्रतिष्प्रर्धाबाट निगममा महाप्रबन्धक भएका थिए।
त्यो बेला खरेलले कार्यकाल पूरा नगरी निगमबाट राजीनामा दिएएपछि सरकारले कंसाकारलाई महाप्रबन्धक नियुक्त गरेको थियो।
प्रतिक्रिया दिनुहोस !