किन खाली उड्यो निगमको २७४ सिटे वाइडबडी जहाज ?
काठमाडौँः राष्ट्रिय ध्वजावहाक नेपाल वायु सेवा निगमको नयाँ वाइडबडी (३३०–२२०) सिरिजको जहाजले नयाँदिल्लीमा ‘प्रुफिङ फ्लाइट’ गरेको छ । अन्तर्राष्ट्रिय हवाई उड्ययनको छाता संगठन (आईकाओ) को मापदण्ड पुरा गर्न व्यवसायिक उडान गर्नुअघि यो जहाजले प्रुफिङ फ्लाइट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको हो ।
असार १४ मा काठमाडौँ आइपुगेको यो जहाजले नेपाल नागरिक उड्ययन प्राधिकरणबाट सबै अनुमति लिइसकेपछि ‘प्रुफिङ फ्लाइट’ गरेको हो । निगमले सबै प्रक्रिया पुरा गरेर पहिलो पटक भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यो जहाज पठाएको हो । यो जहाजमा निगमका केही प्राविधिक र अधिकारीहरु सोमबार अपरान्ह ४ बजेर २६मिनेटमा दिल्लीका लागि उडेका छन् । यो उठानमा यात्रु बोकिँदैन, यो उडान सफल भएपछि व्यवसायिक उडानको बाटो खुल्छ ।
यो जहाजको पहिलो व्यावसायिक उडान संयुक्त कतारको दोहामा हुने भएको छ । पाँच लाख भन्दा धेरै नेपाल रोजगारीमा रहेको कतारको राजधानी दोहामा यही साउन १६ गते नेपाल वायु सेवाको वाइडबडीले पहिलो उडान भर्ने भएको छ ।
नेपालको हवाई इतिहासमा पहिलोपटक दुई सय ७४ सिट क्षमताको जहाजले दोहाबाट उडान सुरु गर्न लागेको हो। नेवानिले अहिले दुई वटा एयरबस र एउटा बोइङ ७५७ मार्फत अन्तर्राष्ट्रियतर्फ आठ गन्तव्यमा उडान गर्दै आएको छ।
दुईवटा वाइडबडी जहाजमध्ये पहिलो जहाज यही १४ असारमा काठमाडौँ आइसकेको छ । जहाज आएको एक महिनापछि नेवानिले व्यावसायिक उडान गर्ने भएको हो । महिना दिनभित्रै व्यावसायिक उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयसँग उडान तालिका स्वीकृतिका लागि यसअघि नै सहमति माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !