महबाटै वार्षिक ५ लाख अाम्दानी, माैरीपालनका लागि छुट्टै घर
रुकुमकोट : रुकुमपूर्वको सिस्ने गाउँपालिका ३, पोखराका ओमप्रकाश खड्काको मूल पेसा हो, मौरीपालन। पहिले एउटा सानो घरमा रहरले पालेको मौरी नै अहिले उनको मुख्य आम्दनीको स्रोत बनेको मात्र छैन उनी जिल्लाकै नमुना व्यवसायीका रूपमा चिनिएका छन्।
व्यावसायिक मह उत्पादन थालेपछि उनले मौरीका लागि चरण क्षेत्रसहित मौरी बस्ने घर समेत निर्माण गरेका छन्। खड्काले मौरीपालन थालेको १५ वर्ष भयो। उनले एक दशकयता व्यावसायिक उत्पादन थालेका हुन्। मह बेचेर वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गरिरहेका खड्काले मौरीका गोलासमेत बेच्ने गर्छन्। ‘सिजनमा मह बेच्छु, अरु समय मौरीका गोला, दुवैबाट आम्दानी भएको छ’, उनले भने।
खड्काले घरदेखि केही माथि रहेको जंगलको बीचमा साढे चार लाखको लगानीमा मौरीका लागि छुट्टै घर निर्माण गरेका छन्। मौरीका लागि मुख्य चरण मानिने चिउरीका रुख प्रशस्त भएको यस क्षेत्रमा मौरीमैत्री अन्य बिरुवासमेत भएकाले यो स्थान छनोट गरेको उनको भनाइ छ। आफ्नै डिजाइनमा सात सय बर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त घरमा १२ वटा मौरी बस्ने घार छन् भने त्यससँगै मह प्याकेजिङ कोठा पनि निर्माण गरेका छन्।
मौरीका नियमित गतिविधि नियाल्न तथा अध्ययन गर्नेका लागि लक्ष्य गरी घार पारदर्शी राखिएको छ। ‘मौरी नै पाल्न मेरा अरु पनि थुप्रै ठाउँ छन्। यो घरलाई म नमुना घरको रूपमा विकास गरी मौरीसम्बन्धी अध्ययन अनुुसन्धान गर्ने केन्द्रको रूपमा विकास गर्न चाहन्छु’, व्यवसायी खड्का भन्छन्, ‘मैले अब मह मात्रै बचेर हुँदैन। मौरीबारे सबैलाई जानकारी होस् भन्ने इच्छा छ।’
मौरीपालनलाई आफ्नो जीवन मान्दै आएका व्यवसायी खड्का गाउँका सबै घरमा कम्तीमा एउटा मौरीको गोला हुनुपर्ने मान्यता राख्छन्। प्रत्येक घरमा एकदेखि दुईवटासम्म मौरीका घार राखियो भने आफूलाई खाने मह आफै उत्पादन गर्न सकिने उनको भनाइ छ। मौरीको जीवनचक्र र मह उत्पादनबारे धेरै तालिम लिएपछि उनी व्यवसायमा होमिए। अहिले उनी नै अरुलाई सिकाउँदै छन्।
मौरीको चरन क्षेत्रका लागि पोखराको जंगल उपयुक्त भएकाले व्यावसायिक मौरीपालनतर्फ सफल भएको उनको भनाइ छ। तर, कहिलेकाही मौरीमा रोग लाग्ने, नष्ट हुने र भनेजति मह उत्पादन हुन नसक्ने समस्या आइरहने उनको दुःखेसो छ। मौरी उपचारका लागि भनेका बेला विज्ञ नपाउँदा रुकुममा अघिल्ला वर्ष घाटा बेहोरेको तीतो अनुभव पनि उनीसँग छ। ‘एक्लैले गरेर पनि कहिले पनि पुग्दैन’, उनी भन्छन्, ‘कहिलेकाही मौरीमा नयाँ खालको संक्रमण देखा पर्छ त्यस्तो बेला झट्टै उपचार गर्ने ठाउँ नहुँदा घाटा बेहोर्नुपर्छ।’ सिजनका बेला महको माग ह्वात्तै बढ्छ जुनबेला उनको घरसम्मै आएर ग्राहकले मह लिने गरेका छन्।