सिमरा रंगशालामा पूर्वाधार थपिँदै

सिमरा रंगशालामा पूर्वाधार थपिँदै

सिमरा : मोफसलमा आयोजना हुने प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक हो ‘सिमरा गोल्ड कप’। स्थानीयकै प्रयासबाट सञ्चालन हुँदै आएको यो प्रतियोगिता अहिले १०औं संस्करणको नजिक छ। सामान्य तयारीमै पहिलो संस्करण सम्पन्न गरेपछि उत्साही बनेको सिमराको नव जनजागृति युवा क्लबले १०औं संस्करणसम्म आइपुग्दा प्रतियोगितालाई राष्ट्रिय स्तरको बनाउन सफल भएको छ।

एक दशक लामो इतिहास बनाउन लागेको यही प्रतियोगिताका कारण पछिल्लो समय सिमरा फुटबल खेलका लागि हबको रूपमा पनि अघि बढ्न थालेको छ।

प्रतियोगिता आयोजना गर्नकै लागि निर्माण थालिएको सिमरा रंगशालामा पूर्वाधार विकासको कामले पनि गति पाइरहेको छ। राज्यको विभिन्न निकायको सहयोगबाट पूर्वाधार निर्माणको काम सुरु गरिएको सिमरा रंगशालाको मैदान मोफसलकै उत्कृष्ट मैदानका रूपमा परिचित छ।

सिमरा गोल्डकपबाहेक राष्ट्रिय स्तरको प्रतियोगितासमेत आयोजना हुने सिमरा रंगशालामा अहिले प्यारापिट निर्माणको कार्य भइरहेको छ। स्थानीय सरकार जितपुरसिमरा उपमहानगरपालिकासहित विभिन्न निकायको सहयोगबाट गत महिना रंगशालालाई पर्खालले घेर्ने काम भने सम्पन्न भएको छ। पूर्वाधार निर्माणको कामले गति लिइरहँदा सिमरा रंगशालामा हालै बारा जिल्ला फुटबल संघले खेलाडीलाई आराम गर्न र लुगा फेर्नका लागि ‘ड्रेसिङ रुम’ बनाएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को देशव्यापी कार्यक्रम ग्रास रुट फुटबलसमेत आयोजना भइरहेको रंगशालाको प्यारापिटको तल दुईवटा ड्रेसिङ रुम बनाइएको हो। ग्रास रुट फुटबल सञ्चालनका लागि एन्फाले उपलब्ध गराएको पाँच लाख र स्थानीय सहयोग गरी कुल नौ लाख रुपैयाँको लागतमा ड्रेसिङ रुम तयार पारिएको जानकारी बारा जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष तथा ग्रासरुट फुटबल बाराका संयोजक रामचन्द्र लामाले दिए।

‘ग्रास रुट फुटबलमा सहभागी बालबालिकाका लागि लुगा परिवर्तन गर्न समस्या भएपछि ग्रास रुटकै लागि आएको रकमबाट ड्रेसिङ रुम बनाएका हौं’, लामाले भने, ‘एन्फाबाट प्राप्त रकम अपुग भए पनि स्थानीय खेलकुदप्रेमीले उत्साहित हुँदै सहयोग गरेपछि सुविधा सम्पन्न ड्रेसिङ रुम बनाउन सफल भयौ।’ मंसिर ८ गते ड्रेसिङ रुम र तीन सयभन्दा बढी बालबालिका सहभागी ग्रास रुट फुटबल कार्यक्रमको जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलसहितका जनप्रतिनिधिको उपस्थितिमा उद्घाटन हुनेछ।

बारा जिल्ला फुटबल संघका पूर्वमहासचिव शम्भुसिंह ठकुरीले सिमरा रंगशालालाई सुविधा सम्पन्न बनाउन आफूहरू लागिपरेको र राज्यले त्यसैअनुसार लगानी गरिरहेको बताए। सिमरा गोल्डकप आयोजक जनजागृति युवा क्लबका सचिवसमेत रहेका ठकुरीले फुटबलको उर्वरभूमिको रूपमा रहेको सिमरामा टेक्निकल सेन्टर निर्माणका लागि राज्यले चासो देखाउनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.