निर्मला बलात्कार–हत्या प्रकरण : आयोग टोली धर्नास्थलमा
महेन्द्रनगर : अनिश्चितकालीन धर्नामा बसेका निर्मला पन्तका बुवाआमासँग राष्ट्रिय मानवअधिकार आयोगको टोलीले भेट गरेको छ । आयोग प्रदेश कार्यालयका अधिकृत लक्ष्मी पौडेल नेतृत्वको टोलीले उनीहरूको स्वास्थ्यबारे जानकारी लिएको छ ।
टोलीसमक्ष बुवा यज्ञराज र आमा दुर्गादेवीले ४ महिना बित्न लाग्दासमेत सरकारले छोरीका हत्यारा सार्वजनिक नगरेर पीडा दिएको गुनासो पोखेका थिए । उनीहरूले २५ कात्तिकमा अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले शुक्रबार भेट गरेका थिए । साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो ।
बेलायत बस्ने नेपालीले गरे ५५ हजार सहयोग
यसैबीच, बेलायत बस्ने नेपालीले धर्ना बसेका यज्ञराज–दुर्गादेवीलाई आर्थिक सहयोग गरेका छन् । बेलायत निवासी सुधा गुरुङको पहलमा संकलित ५५ हजार ५ सय ५१ रुपैयाँ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले शनिबार हस्तान्तरण गरे । बेलायतस्थित बेजिङस्टोक नेप्लिज फन्डले ३० हजार र बाँकी रकम गुरुङको पहलमा संकलन गरिएको हो । उनीहरूले निर्मलाका हत्यारा तत्काल सार्वजनिक गरेर पीडित परिवारलाई न्याय दिनसमेत सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !