विद्यार्थी आकर्षण गर्न न्यानो लुगा
चितवन : लुगा पाउने भएपछि आधारभूत विद्यालय कमलचौर रन्तेसमा अभिभावकको भीड लाग्यो। अन्य बेला विद्यार्थीसमेत कम हुने विद्यालयमा विद्यार्थीसँगै उनका परिवार जम्मा भए। कपडा वितरणको खबर पाएपछि न्यानो लुगा लिन बिहानैदेखि बसेका थिए। नयाँ लुगा पाउने आशमा बसेकाहरू खुसी हुँदै घर फर्किए।
सन्तानलाई नयाँ लुगा पाएपछि उनीहरू खुसी देखिएका थिए। जाडोयाम सुरु भएसँगै विद्यालयमा जाने विद्यार्थीको संख्या कम हुन्छ। जाडोमा लगाउने लुगाको अभाव भएपछि विद्यालय जान समस्या हटाउन न्यानो लुगा वितरण गरिएको प्रधानाध्यापक दिनेश चेपाङले बताए। जाडो समय भए पनि अधिकांश विद्यार्थी खाली खुट्टा विद्यालय आउने समस्या थियो। आर्थिक विपन्नताको प्रभाव देखिएपछि विद्यालयमा आकर्षण गराउन सोमबार न्यानो लुगा वितरण गरिएको थियो। विद्यालयमा आकर्षण गराउन चेपाङ बालबालिकालाई न्यानो लुगा प्रदान गरियो। रोटरी क्लब अफ नारायणगढले कालिका नगरपालिका ११ स्थित रन्तेसका विद्यार्थीलाई पोशाक वितरण गरेको हो।
क्लबले ६९ जना विद्यार्थीलाई स्वीटर तथा टोपी वितरण गरे। ‘जाडो लाग्न थालेपछि विद्यार्थी कम हुँदै जान्छन्’ चेपाङले भने, ‘सरकारी मातहतको लगानी पर्याप्त नहुँदा यस्तै सहयोगको भर पर्नुपर्छ।’ पिछडिएको बस्ती भएकै विद्यालय सञ्चालनमा समस्या भएको उनले बताए। आर्थिक विपन्नता भएका परिवारका बालबालिकालाई विद्यालयमा आकर्षित गराउन लुगा वितरण गरेको हो। विद्यालय लगाउने लुगा, खुट्टामा चप्पल नहुने समस्या चेपाङ समुदायका विद्यार्थीका लागि सामान्यजस्तै हो। विपन्नताकै कारण विद्यालय नजाने समस्या व्याप्त छ। विद्यार्थीसँगै उनीहरूका अभिभावकलाई पनि कपडा वितरण गरिएको थियो।
बालबालिकालाई पढ्ने वातावरण बनाउने भन्दै परिवारमा पनि लुगा वितरण गरिएको क्लबले जनाएको छ। डेढ सय जना अभिभावकलाई जाडोमा लगाउने लुगा वितरण गरिएको थियो। ‘चिसोमा न्यानो सहयोगको अभियान गरेर हामीले प्रभावित विद्यालय खाजेका हौं’, क्लबका पूर्वअध्यक्ष विज्ञानलाल श्रेष्ठले भने, ‘कपडाकै कारण विद्यालय नछोडुन् भनेर हामी आएका हौं।’