३ वर्षअघि घोषणा गरिएको ‘पुनर्निर्माण महाअभियान’ जहाँको त्यहीँ

३ वर्षअघि घोषणा गरिएको ‘पुनर्निर्माण महाअभियान’ जहाँको त्यहीँ

ललितपुर : ललितपुर महानगरपालिकाको सम्पदाबस्ती बुङमतीका ६८ वर्षीय हरिगोविन्द महर्जनको दुई पैसामा बनेको माटोको घर थियो । भूकम्पले ढल्यो । त्यसपछि उनी छोराबुहारी र दुई नातिका साथ टहरामा बस्दै आएका छन् । तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मापदण्डका कारण उनलाई सम्पदा बस्तीमा घर बनाउन समस्या परेको छ ।

‘मापदण्डमै चल्ने हो भने म जस्ता मान्छे आफ्नो घरमा बस्न कहिले पाउने ? ’, उनले पुनर्निर्माणको मापदण्डप्रति असन्तुष्टि जनाए, ‘ढलान गर्नुपर्छ रे, सरकारले दिएको पैसा जग हाल्न पनि पुग्दैन ।’ उनले भत्किएको घरको माटोसमेत निकाल्न सकेका छैनन ।

बुङमती गणेश मन्दिरछेवैमा रहेको न्युछेमान तुलाधरको घर पनि भूकम्पमा भत्कियो । सिकर्मी रहेका उनको एक पैसा क्षेत्रमा बनेको घर जगैसँग भत्किँदा टहरामै पुगे । तुलाधरले अहिलेसम्म भूकम्पपीडितले पाउने पहिलो किस्ता पाएका छैनन् । ‘घर बनाउनु त कहिले हो कहिले’, उनले भने ।

महर्जन र तुलाधरको क्षेत्र बुङमतीमा प्राधिकरणले ०७२ माघमा ‘पुनर्निर्माण महाअभियान’ थालेको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले त्यसको उद्घाटन गरेका थिए । तीन वर्ष बितिसक्यो । तर अझैसम्म बुङमतीमा पुनर्निर्माणको अवस्था उस्तै छ ।

सम्पदाक्षेत्रमा पुनर्निर्माण गर्दा सटर हाल्न नपाइने, इँटाको मात्र प्रयोग गर्नुपर्ने, कंक्रिट राख्न नपाइने, तीन तलाभन्दा धेरै उचाइ बनाउन नपाउने, छानाको दुईतिहाइ स्लोप र एकतिहाइ कौसी राख्नुपर्ने, स्टिलको प्रयोग गर्न नपाउने तथा काठको मात्र प्रयोग गर्नुपर्ने जस्ता मापदण्ड राजपत्रमा उल्लेख रहेको २२ वडाका अध्यक्ष अम्बिरराज शाक्यले बताए ।

यस क्षेत्रमा सातजनाले ज्यान गुमाएको र करिब आठ सय भूकम्पबाट पीडित बनेको उनको भनाइ छ । पीडितमध्ये पाँचसय भित्री बस्तीका छन्, अरू वरिपरिका । त्यसमध्ये पुनर्निर्माण मापदण्डका कारण भित्री बस्तीका बासिन्दा बढी मारमा परेको उनले बताए । सबैको जग्गा एकदुई पैसा मात्र रहेकाले एक कोठाको मात्र घर बन्ने र त्यो पर्याप्त नहुने स्थानीयको भनाइ छ।

‘भत्किएका घर अत्यन्त कम क्षेत्रफलमा बनेकाले समस्या बनेको छ’, शाक्यले भने । तर यहाँका बासिन्दाले साविककै जग्गामा घर बनाउन पाउने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । भएको जग्गामा घर बनाउन मिले पनि पुनर्निर्माणको मापदण्ड भने पूरा गर्नुपर्ने उनले बताए । ‘यस्ता बस्तीमा लालपुर्जा नहुँदा समस्या बनेको हो, यसका लागि महानगरले पहल गरिरहेको छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.