ढिके नुन नै रुचाउँछन् स्थानीय
गोरखा : सरकारले आयोडिनयुक्त नुन ल्याएको वर्षौं भयो । तर, गोरखा हिमाली भेगका बासिन्दा अझै ढिके नुन प्रयोग गर्छन् । उनीहरू नुन लिन तिब्बती बजार जाने गरेका छन् । सबैले तिब्बती बजारबाट ढिके नुन ल्याएर खाने गरेका छेकम्पारका स्थानीय बताउँछन् । ‘चाहिएजति नुन माथि (तिब्बत)बाटै ल्याउँछौं’, बुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक छिरिङ फुञ्जोले भने, ‘तल (सदरमुकाम)बाट त खासै ल्याउँदैनन् ।’ तलको नुन (आयोनुन) गाउँलेले खासै मन नपराउने उनले बताए ।
दैनिक उपभोग्य सामान किन्न स्थानीय तिब्बतको बजारमा पुग्छन् । बजारबाट अरू सामानसँगै वर्षदिन पुग्नेगरी नुन पनि चौंरीमार्फत बोकाएर ल्याउँछन् । उनले भने, ‘स्थानीयले चियामा समेत नुन हाल्छन् । चियामा त झन ढिके नुन नै चाहिन्छ ।’ आयोनुनको स्वाद चर्को हुने र गाउँलेले मन नपराउने उनको बुझाइ छ । ‘ढिके नुन तरकारीमा धेरै प¥यो भने पनि खासै नमिठो हुँदैन, तलबाट ल्याएको नुन अलिकति पनि बढी भयो भने खाइसक्नु हुन्छ’, उनले तर्क गरे, ‘त्यसैले गाउँलेले आयोनुन मन पराउँदैनन् ।’ तिब्बती बजारमा पाइने प्याकेटको नुन किन्न नसक्ने स्थानीय बताउँछन् । ‘एक किलो प्याकेटको एक सय ७० रुपैयाँ त तिब्बतमै पर्छ । यहाँ ल्याई पु¥याउँदा दुई सय रुपैयाँ पर्छ’, वडाध्यक्ष फुञ्जो भन्छन्, ‘कसैकसैको घरमा प्याकेटको नुन पाइएला, नत्र सबैले ढिके नुन नै प्रयोग गर्छन् ।’
एकै पटकमा तिब्बती बजारबाट वर्षदिन पुग्ने गरी ल्याइने भएकाले स्थानीय बजारमा नुन बेच्न नराखिने छेकम्पारका व्यापारी ङवाङ लामा बताउँछन् । ‘कसैको घरमा नुन सकियो भने गहुँसँग साट्छन्’, उनले भने, ‘दुई घ्वाक गहुँसँग एक घ्वाक नुन साट्ने चलन छ । यसरी हिसाब गर्दा एक किलो नुनको डेढ सय रुपैयाँ पर्छ ।’
सरकारले ढुवानी सहुलियतको नुन सिर्दीबासको फिलिम डिपोसम्म पु¥याउँछ । तर दुई दिनको बाटो पर्ने फिलिमसम्म छेकम्पारबाट नुन लिन कोही नआउने वडाध्यक्ष फुञ्जो बताउँछन् । ‘पहिले पहिले त डिपोको नुन लिन जान्थे’, उनले भने, ‘आजभोलि त कोही जाँदैनन् ।’
प्रतिक्रिया दिनुहोस !