अश्लील : तस्बिर कि मान्छेको नजर ?

अश्लील : तस्बिर कि मान्छेको नजर ?

कुरा उस्तै दृश्य पस्किने दुईवटा तस्बिरबाट सुरु गरौं –

पहिलो, तस्बिर दुईवर्ष अघिको हो। गर्मी महिना थियो। चिसो पानीमा नुहाउन कसलाई मज्जा नलाग्ला र ? बैंकर्स रवीना देशराज र उनकी हुनेवाली बुहारी अभिनेत्री प्रियंका कार्कीले स्विमिङ पुलमा नुहाएको र एक छेउमा शरीर ओभाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भयो। नुहाउँदा लगाएको पिंक कलरको स्विमिङ कस्टममा उनीहरूले तस्बिर खिचेका रहेछन्। सामाजिक सञ्जालमा तस्बिर भाइरल भयो।

दोस्रो, मंसिर महिनाको पहिलो साता नेकपाका अध्यक्ष प्रचण्ड गृहमन्त्री रामबहादुर थापा (बादल) सहित प्रचण्डपत्नी सीतालाई वाटरथेरापी गराउन तातोपानी कुण्ड पुगे। उनीहरूले तातोपानी कुण्डमा नुहाइरहेको तस्बिर सामाजिक संजालमा आयो। उनीहरू दुबैले कालो रङकोझ स्विमिङ कस्टम लगाएका थिए। पानीमा आधा शरीर डुबाइएको एउटा र पानी बाहिर निस्केर हातले भुँडी सुम्सुम्याउँदै गरेको अर्को गरी उनीहरूका दुईवटा तस्बिर  सार्वजनिक भए। रवीना र प्रियंकाको झैं यी दुवै तस्बिर पनि सामाजिक सञ्जालमा त्यसैगरि भाइरल भए।

तस्बिर उस्तै प्रकृतिका थिए। तस्बिरमा कैद भएका पात्रहरूको लैंङ्गिक भिन्नता थियो, तस्बिर पोस्ट गरेको समय भिन्न थियो र प्रतिक्रियाहरू भिन्न थिए। दुवैथरी तस्बिरमाथि नकारात्मक टिप्पणीहरू धेरै थिए। तर, रवीना र प्रियंकाको तस्बिरमाथिका टिप्पणी भने नकरात्मक मात्र हैन, लैंङ्गिक हिसावले उत्पीडनयुक्त पनि थिए।

मानिस समाजको अंग अवश्य हो। तर समाजको दृष्टि भन्दा भित्र मान्छेको निजी जिन्दगी हुन्छ भन्ने यथार्थ पचाउन हाम्रो समाज सक्षम भइसकेको छैन। मानौं मान्छेले गर्मीमा चिसो पानीको तलाउमा नुहाउनु गल्ती हो, जाडोमा तातोपानीमा डुबुल्की मार्नु गल्ती हो। नेपालमा केही नयाँ र राम्रो होइन, नराम्रो मात्रै भइरहेछ। सामाजिक सञ्जालका हरेक नकारात्मक प्रतिक्रिया, गाली, लाञ्छना र आक्रोश हेर्दा लाग्छ– मान्छेको व्यक्तिगत जीवन पनि असामयिक निगरानीले कैद भएको छ।

प्रचण्ड र बादलले तातोपानीमा नुहाउनु उनीहरूको राजनीतिक विचार, दर्शन सवैलाई तिलाञ्जलि दिनु हो। उनीहरूले तातोपानीमा नुहाएर विगतमा सशस्त्र युद्धमा पार्टीमा संगठित गरेका कार्यकर्तामाथि घात गरिरहेका छन्। अझ रवीना देशराजले त चिसो पानीमा नुहाएर नेपाल लोकमा बसोवास गर्ने हरेक वयस्कहरूलाई यौन समागमको निम्तो नै बाँडेका छन्। यी दुवैथरी तस्बिरमाथिका प्रतिक्रियाले तस्बिर होइन, तस्बिरप्रति टिप्पणीकर्ताको मनोविज्ञान कति फोहोरी, परद्रोही र कुण्ठित रहेछ भन्ने देखाउँछ।

अब भाइरल भएका एउटै प्रकृतिका दुबै तस्बिर माथिका प्रतिक्रिया हेरौं–

रवीरना देशराज, जो नेपालकै एक सफल बैंकर्स, पोजेटिभ मोटिभेटर्स र बोल्ड नेतृ हुन्। प्रियंका फिल्म क्षेत्रकी एक सफल नेतृ भैहालिन्। तिनै दुई महिला नेतृले स्विमिङ पुलमा तस्बिरप्रति लक्षित प्रतिक्रियाको सार यस्तो देखिन्थ्यो–रवीना र प्रियंकाले शान्त समाज भड्काए।

मानौँ सामाजिक सञ्जालमा बस्नेहरू इर्श्या, लोभ र बासनाभन्दा परै थिए। तर, एक्कासी रवीना र प्रियंकाको तस्बिर आयो र त्यसले बासनाभन्दा माथिका तपस्वी जस्ता मान्छेहरू भड्किए। अनि संवालमा पोखिए –यी दुई महिला समाजका कलंक हुन्। पुरुषको खाँचो परेको भए बरु मलाई घरमा बोलाएको भए पनि हुन्थ्यो। पोखरीमा गएर किन यसरी नाङ्गिएको ?

रवीना र प्रियंकाको तस्बिरले भलाद्मीपन भड्किएका कतिपय भलाद्मीहरूका शब्द त यस्ता थिए– तँ *लु, यसरी देखाएर पनि नुहाउने ? देखेर ज्यानै सिरिङ्ग भयो,ओहो *** कति राम्रो, मान्छे काली तर ज्यान त बबाल, आदिआदि। साँच्चै भनौं भने अरु ९९ प्रतिशत कमेन्टत म यहाँ लेख्नै मिल्दैनन।

रवीना र प्रियंकाको तस्बिर मुन्तिर लेखिएका प्रतिक्रियाले एकमन आक्रोश उत्पन्न भयो। मनको अर्कोथरी कुनामा मानिसको यौनिक मनोवृत्ति कहाँ हुन्छ र अश्लीलता कहाँ हुन्छ भनेर खोज्न मन लाग्यो।

रवीना र प्रियंका तलाउमा डुब्दा समाजले उनीहरूको उठेको स्तन देख्छ, पुट्ट नितम्ब देख्छ। समग्रमा उनीहरूका आकर्षक यौनाङ्ग छानीछानी देख्छ। तर, प्रचण्ड र बादल तलाउमा डुब्दा उनीहरूका पूर्व छापामारका सपना मरेको देख्छ, उनीहरू वर्ग चिन्तनबाट विचलित भएको देख्छ। मानौँ उनीहरूको नग्नताबाट कुनै यौनिक भावना उत्पन्न हुँदैन। रवीना र प्रियंकाको नितम्बले समाज भाँड्छ, उनीहरूको स्तनले मान्छेलाई बौलाहा बनाउँछ। उनीहरूले त्यसरी तलाउमा नुहाउनुको साटो युवाहरू घरैमा बोलाएर समागम गर्नुपर्छ।

प्रचण्ड र बादलको छाती, तिघ्रा, कम्मर जेसुकै देखियोस् त्यसमाथि कुनै महिलाको मनभित्र उत्पन्न भाव सामाजिक सञ्जालमा पोखिँदैन। समाज बरु उनीहरूले नुहाउँदा पूर्व छापामार कार्यकर्ताको सपना तुषारापात भएको बखान गर्छ। समाजमा महिला र पुरुषको यौनिकता माथिको भेद यी दुवैथरी तस्बिरप्रति गरिएका टिप्पणीले निर्धारण गर्छ।

नुहाउने पात्र प्रचण्ड होउन् वा बादल, रवीना होउन् वा प्रियंका। उनीहरूले नुहाएको तस्बिर सार्वजनिक हुँदा सामाजिक व्यवस्थामा असर पर्छ भने उस्तै असर पर्नु पर्ने हो नि। रवीना र प्रियंकाले नुहाएको तस्बिरमुनी कम्मेन्ट गर्नेले ‘चाहिएको भए मलाई घरमै बोलाएको भए हुन्थ्यो नि’ टाइपको लेख्न सक्छ। तर, प्रचण्ड र बादलको त्यस्तै तस्बिरमुनी ‘किन पोखरीमा गएर भुँडी सुम्सुम्याएको, चाहिएको भए मलाई खवर गर्नुपर्थ्यो नि’ भन्ने स्तरको प्रतिक्रिया लेख्ने कुनै महिला छ ?हाम्रो समाजमा महिला र पुरुषबीचका असमान मनोशिक्षाको उदाहरण यहि हो।

फेरि पनि दोष सामाजिक सञ्जालमा त्यस्तो टिप्पणी गर्ने पुरुषहरूको मात्रै होइन। दोष लैंङगिक संवेदनाप्रति पक्षपातपूर्ण शिक्षा दिने लामो समयदेखिको संस्कृतिको हो। जाँतो घुमाउँदा माथिबाट जे हालिएको छ, जाँतो जति घुमाए पनि तल पिसिएर निस्कने त्यसैको पिसिएको चिज हो। विवाह, प्रेम र सेक्सलाई एउटै भाँडोमा हालेर बन्द गर्ने र तिनीहरू बीचको भेद, फैलावट र आकारबारे विचारलाई अश्लील ठान्ने मनोवृत्ति यसको दोषी छ।

एउटा मानिस देख्दा उभित्रका अनगिन्ती गुणहरू छोपिन्छन् र त्यसको यौनाङ्ग मात्रै देखिन्छ। यस्तै संकुचित सामाजिक शिक्षणले हो रवीना देशराज र प्रियंका कार्कीले नुहाएको तस्बिर सार्वजनिक गर्दा आफूलाई यौन समागमको निम्तो गरेको ठान्ने।

समान मनोसामाजिक चेतनामा हुर्केको समाज भएको भए स्विमिङ पुलमा प्रचण्ड र बादल अर्धनग्न अवस्थामा डुबेको तस्बिर फेसबुकमा देखिँदा महिलाले पनि आङ सिरिङ्ग भयो भनेर लेख्थे कि। वाह बादलको ज्यान त... भनेर कम्मेन्ट गर्थे कि। तर उनीहरू नाङ्गिनुले समाज भाँडिएन, बरु नाङ्गो भुँडीले गरिव र धनी देखायो, तातोपानीमा नुहाएर गरिवको खिल्ली उडाएको देखियो। उस्तै दृश्यमाथि उस्तै दृष्टि राख्ने सामाजिक मनोवल महिलासँग छैन, बरु त्यस्तै दृश्य आफ्नो देखियो भने चरित्रहीनको बिल्ला भिर्न वाध्य हुनुपर्ने अवस्था छ।

प्रचण्ड र बादलको तस्बिरमुनी पनि रवीना र प्रियंकाको तस्बिरमा जस्तै प्रतिक्रिया आउनु पर्थ्यो किन आएनन् भन्ने मेरो प्रश्न होइन। मैले उठाउन खोजेको कुरा के हो भने दुईवटा उस्तै दृश्यमाथि एकथरी जस्तो सुकै प्रतिक्रिया दिन र सामान्य मानवीय वृत्तिलाई यौनको आमन्त्रणसँग जोडेर खिल्ली उडाउन स्वतन्त्र छ।

अर्कोथरी पात्र छन् समाजमा, जसले पुरुषको नग्न तस्बिर देख्दा मनमा उत्पन्न भाव ढाँटेर अन्यत्रै मोड्दै गाली गर्नु पर्ने वाध्यता छ। एउटा तस्बिरमा नुहाउँदै गरेकी महिला छिन् र त्यसप्रति पुरुष आफूलाई सभ्य भएको दावी गर्दै ती नुहाउने महिलालाई असभ्य भएको उत्ताउलो प्रतिक्रिया दिन्छ। अर्को तस्बिरमा नुहाउँदै गरेका पुरुष छन्, नुहाएको तस्बिरसँग सम्बन्धै नराख्ने प्रश्नहरू बरु उठाइएको छ तर, अघिल्लो तस्बिरमा जस्तो अश्लीलता दावी गरिएको छैन।

यहाँ मैले पुरुष या महिलाको होइन प्रवृत्तिको कुरा उठाइरहेको छु। मानसिकताको कुरा गरिरहेको छु। दृष्टिकोणका लागि समान क्षितिज उपलब्ध हुनुपर्ने कुरा उठाइरहेको छु। प्रकृति र श्रृष्टिको नियमले महिला र पुरुषलाई समान रुपले यौनिक संवेदना दिएको छ। तर, सामाजिक वनावटले महिलाले निर्माण गर्ने दृष्टिकोणका लागि फराकिलो क्षितिज दिएको छैन। त्यसैले उनीहरूले नुहाउँदा देखिने शरीर अश्लील छ, त्यसप्रति उत्तेजक टिप्पणी गर्ने पुरुषको कुण्ठित मनोविज्ञान अश्लील छैन भन्ने अर्थ लाग्छ।

गहिरिएर हेरौं, नुहाउँदा देखिने दृश्य अश्लील हो भने पुरुषको पनि अश्लील हुन्छ, महिलाको पनि अश्लील हुन्छ। त्यो श्लील हुन्छ भने त्यसप्रति हुने उत्तेजक टिप्पणीहरू र त्यस्तो टिप्पणी गर्ने मन कसरी श्लील हुन्छ ?

दार्शनिक मार्गरेट एटउड भन्छन् – ‘म्यान आर अफ्रेड द्याट उमन विल लाफ एट देम। उमन आर अफ्रेड द्याट म्यान विल किल देम।’ अर्थात् लोग्ने मान्छे महिलाले देखेर हाँस्छन् कि भनेर डराउँछन् भने महिला चाहिँ पुरुषले मार्छन् कि भनेर डराउँछन्। के यो भनाई हाम्रो समाजलाई देखाउने ऐनाजस्तै छैन ? त्यसैले हाम्रो शिक्षामा यौनिकतालाई फराकिलो परिभाषा दिएर पढाइनु र मानव जातिमा सेक्स होइन प्रेमको भावना जागृत गर्नु आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.