यस वर्ष २१ अर्बको उखु उत्पादन

यस वर्ष २१ अर्बको उखु उत्पादन

महोत्तरी : खेतमा उखु तयार भयो। मूल्य तोकिएको छैन। लगानीअनुसार मूल्य नपाइने हो कि भन्ने चिन्ताले किसान पिरोलिएका छन्। महोत्तरी, रामनगरका ३८ वर्षीय उखु किसान नरेश महतो भन्छन्, ‘मेहनेत गरेर उब्जाएँ। भाउ नपाउने हो कि चिन्ताले पिरोलिरहेको छ।’ नरेशले पाँच बिघामा लगाएको उखु पाकेर तयार भएको छ। उनले एक लाखको उखुको बिउँ रोपेका छन्। उनी भन्छन्, ‘खेत जोताइ, रोपाइ गोडमेल सबै बैंकबाट ऋण लिएर गरेको छुँ।’

ऋणको भारी बोकेर वर्षभरि कठोर श्रम गरेर उनले उखु उब्जाएका छन्। उखु पनि राम्रै फस्टाएको छ। प्रत्येक वर्ष मूल्य तोक्न चिनी मिल मालिकले मोलमोलाइ गर्दै आएका छन्। यसले गर्दा उखु खेतमै सुक्छ। यसपालि पनि त्यही रवैया दोहोरिन्छ कि भन्ने चिन्तामा उनी छन्। लक्ष्मीनियाँ परोरियाका ५६ वर्षीय उखु किसान राजकिशोर सिंह भन्छन्,‘पोहोर उखु बिक्री गरेको अनुदान अझै पाएका छैनौं। यस वर्षको पनि उखु तयारी भइसक्यो तर मूल्यको टुंगो छैन।’

राजकिशोरको घरबारी खेतमा दुई बिघा कात्तिके उखु तयार छ। उनी भन्छन् ‘हाम्रो उखु समयमा तयारी भइहाल्छ। तर, उखुको मूल्य तोकिँदैन।’ मिल मालिकले ढिलोगरी भाउ तय गर्ने र भुक्तानीमा मनोमानी गर्दा पाँच वर्षदेखि निरन्तर किसानले गर्दै आएको उखुखेती घाटाको खेती भएको उनले सुनाए।

उखुको मूल्य नतोकिँदा उखु कृषक नरेश र राजकिशोर मात्रै चिन्तित छैनन्। उनीहरू जस्ता तराइका २२ जिल्लासहित देशैभरका हजारौं किसानको समस्यामा छन्। देशभरमा झन्डैं लाखभन्दा बढी किसानले एक लाख ३४ हजार बिघामा उखुखेती गरिएको अनुमान छ। २२ जिल्लामा व्यावसायिक उखुखेती गरिन्छ। प्रतिबिघा सरदर तीन सय क्विन्टल उत्पादन हुन्छ। प्रतिबिघा तीन सय क्विन्टल उखु उत्पादनको हिसाब गर्दा देशभर यस वर्ष करिब चार करोड २० लाख क्विन्टल उखु किसानको खेतमा तयार रहेको तथ्यांकले देखाएको छ।

गत वर्ष किसानले पाएको प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँ २० अनुसार यस वर्ष २१ अर्ब, ३५ करोड ४२ लाख ४० हजार मूल्य बराबरको उखु तयारी छ। तर, यस वर्ष उखुको मूल्य कति हुने भन्ने अझै अन्योलमै छ। उखु खेतमै सुकिने चिन्ताले हजारौं किसानको निद्रा हराएको छ। सघन उखुखेती हुने प्रदेश २ मा यस वर्ष एक लाख १० हजार बिघामा लगाइएको उखु पाकिसकेको छ। यहाँबाट कुल एक करोड ६७ लाख क्विन्टल उखु उत्पादन हुने अनुमान छ। महोत्तरीमा २२ लाख, धनुषामा ५ लाख, सिरहामा १० लाख, सर्लाहीमा ७५ लाख, रौतहटमा २० लाख, बारामा २५ लाख र पर्सामा १० लाख क्विन्टल गरी प्रदेश २ मा एक करोड ६७ लाख क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ।

मंसिरको पहिलो सातादेखि नै चिनी मिल चल्नुपर्ने हो। तर, अहिलेसम्म उखुको मूल्य नै तोकिएको छैन। मिल कहिलेदेखि चल्छ भन्ने उखुको तोकिने मूल्यमा भरपर्ने रामनगर गौशालाका ५० वर्षीय उखु किसान लालबाबु साह बताउँछन्। प्रत्येक वर्ष खेतमा उखु तयारी भएपछि उखुको मूल्यबारे चर्चा सुरु हुने गरेको उनले सुनाए। वैशाख-जेठमा उखुको मूल्य तय हुनु पर्ने हो। तर, त्यस समयमा मिललाई बुझाएको उखुको भुक्तानीकै लागि किसान आन्दोलित बन्नुपर्ने बाध्यता छ।

प्रत्येक वर्ष उखुको भाउ तोक्न मिल मालिकले रामाकठौला गर्छ। मूल्य तोक्न सरकार-उद्योगपतिबीच दोहोरी चल्छ। ढिलो गरी मिल चलाउँदा उखुको रस सुकेर चिनी मिल मालिकलाई फाइदा हुन्छ। अर्कोतिर उखु सुक्दा तौल घटी किसान घाटामा पर्छन्।

२२ जिल्लामा व्यावसायिक उखुखेती गरिन्छ। प्रतिबिघा सरदर तीन सय क्विन्टल उत्पादन हुन्छ।

उखु खेतमै सुक्ने हो कि भन्ने चिन्ताले सर्लाही हरिपुरवा-६ का ४५ वर्षीय किसान रामविलास साह पनि पिरोलिएका छन्। ‘पोहोर लाख रुपैयाँको उखु बिक्री गरेको अहिलेसम्म एक रुपैयाँ पाएनौं’,एभरेस्ट चिनी मिल रामनगरको उखु विभाग अगाडि भेटिएका उनले भने। बर्दिबास नगरपालिका-८ हात्तिलेटका किसान बालकुमार न्यौपाने पनि तनावमा छन्। उखुको मूल्यले किसानको जीवनमरणको फैसला गर्छ। प्रत्येक वर्ष उद्योगपतिले मोलमोलाई गरी तोक्ने उखु मूल्यले किसान मारमा परेको उनी बताउँछन्। ‘उखुखेती गर्न पनि ग्राहो छ। बिक्री गर्न त झनै कठिन छ’, उनले भने, ‘समयमा मूल्य तोकिँदैन। तोकिए पनि ढिला गरी उखुको रेट निर्धारण हुन्छ। त्यतिखेरसम्म आधा उखु सुकेर वजन घटेर गइसक्छ।’

मिल ढिलो चल्दा गतवर्ष खुट्टी उखु समयमै काट्न नपाएको गौशाला नगरपालिका-२ रामनगरका ५७ वर्षीय धर्मलाल बराईलीले बताए। ‘मिल पुसमा चल्यो। उखु काटेर खेत बाँझै भयो’, उनले भने, ‘मंसिरभरमा किसानले खेतको खुट्टी उखु काट्न पाए भने त्यो खेतमा गहुँ र दलहन खेती हुन्छ। ढिलो गरेर उखु काटियो भने त्यो खेती हुँदैन। र, उखु पनि सुकेर किसानलाई दोब्बर घाटा पर्छ।’

१४ वर्षदेखि उखुखेतीमा रमाउँदै आएका धर्मलाल उखु तयार भएपछि मूल्यका लागि किसानसँग उद्योगपतिले गर्ने दलालीले आजित भइसकेका छन्। उखुको तयारी भइसकेकाले मूल्य तोक्न र मिल चलाउन किसानले माग गरेका छन्। उखु उत्पादक कृषक संघ रामनगरका अध्यक्ष नरेशसिंह कुश्वाहाले उखु उत्पादन लागत बढेकाले उखुको प्रतिक्विन्टल ६ सय हुनु पर्ने माग गरेका छन्। गत साल उखुको मूल्य पाँच सय ३१ रुपैयाँ २० पैसा थियो।

किसानले उब्जाउने उखुको मूल्य नेपालमा मिल मालिकले तोक्ने गरेको नेपाल उखु तथा चिनी विकास बोर्डका पूर्वअध्यक्ष रामचन्द्र सिंह कुश्वाहाले बताए। उनी भन्छन्, ‘लागतका आधारमा सरकारले किसानको उखुको भाउ निर्धारण गर्नुपर्छ।’ उखुको मूल्यको अन्योलमा रहेको नेपाल चिनी तथा उखु विकास बोर्डका अध्यक्ष हरिनारायण महतलोले बताए। उनका अनुसार केही दिन पहिला उखुको मूल्य तोक्ने विषयमा सरकार र उखु उत्पादक संघको बैठक निष्कर्ष विहिन भएको थियो। बोर्डका तर्फबाट जिल्ला-जिल्लामा उखुको लागत मूल्यबारे अध्ययन भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.