३ नम्बर प्रदेश विद्युतीय बस चलाउने तयारीमा, ३० कराेडकाे लगानी
हेटौंडा : प्रदेश नम्बर ३ सरकारले काठमाडौं उपत्यका लगायत प्रदेशभित्रका अन्य जिल्लाहरु र छिमेकी प्रदेश छुने गरी विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको बताएको छ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले साझा यातायात सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा विद्युतीय बस सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
‘प्रदेश सरकारको पेट्रोल गाडी विस्थापित गर्ने नीति अनुसार साझासँगको सहकार्यमा विद्युतीय बस सञ्चालन गर्ने निर्णय भएको छ’, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले भने, ‘विद्युतीय बस सञ्चालनको लागि बजेट समेत बिनियोजन भइसकेकाले आवश्यक काम तत्कालै अघि बढ्छ।’
पेट्रोलियम पदार्थबाट चल्ने बसको तुलनामा विद्युुतीय बस महंगो भएकाले यस वर्ष १५ देखि २५ वटासम्म बस खरिद गरी सञ्चालन गर्ने योजना रहेको उनले बताए।लामो रुटमा चल्ने बसहरुका लागि चार्जिङ स्टेशन राखिने बताउँदै जमरकट्टेलले काठमाडौं उपत्यकामा प्रदेश सरकारको उपस्थिति जनाउनका लागि पनि विद्युतीय बस सञ्चालन गर्न लागेको बताए।

३ नम्बर सरकारको बुधबार बसेको मन्त्रीपरिषद् बैठक।
‘प्रदेश राजधानी हेटौंडासँग जोडिने गरी प्रदेशका अन्य जिल्ला र छिमेकी प्रदेशहरुलाई छुने गरी विद्युतीय बस सञ्चालन हुन्छ’, उनले भनेका छन्। प्रदेश सरकारको नीति तथा कार्यक्रममा २०८५ सालसम्म काठमाडौं उपत्यकासहित चितवन, हेटौंडा, बनेपा, धुलिखेल, पनौतीमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधन विस्थापित गर्ने उल्लेख छ।
मन्त्रीपरिषद्को बैठकअघि बुधबार बिहान साझा यातायात सहकारी संस्थाका अध्यक्ष कणकमणि दिक्षित, काठमाडौं महानागरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतसँग मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा छलफल गरेका थिए।
३ नम्बर प्रदेश सरकारले विद्युतीय बस सञ्चालनको लागि करिब ३० करोड रुपैयाँ लगानी गर्ने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बताए। ‘हामीसँग बजेटको कमी छैन, प्रदेश भित्र र अन्तर प्रदेश पनि विद्युतीय सवारी सञ्चालन गर्ने योजना छ’, उनले भने। प्रदेश सरकारसँगै विद्युतीय बस सञ्चालन गर्न साझासँग काठमाण्डौ महानगरपालिकाले पनि सहकार्य गर्नेछ।
काठमाडौं महानगरपालिकाले विद्युतीय बस सञ्चालनको लागि १० करोड रुपैयाँ लगानी गर्ने मेयर शाक्यले बताए। ‘हामी प्रदेश सरकारले लिएको नीति अनुसार विद्युतीय बस सञ्चालनको लागि तयार छौ, काठमाडौंसँगै उपत्यकामा रहेका अन्य नगरपालिकालाई पनि यो अभियानमासँगै लैजान हामी समन्वय गर्छौं।’
प्रतिक्रिया दिनुहोस !