ठूलाको पछि लाग्दा सार्कको दुर्दशा

ठूलाको पछि लाग्दा सार्कको दुर्दशा

काठमाडौं : पाकिस्तानले लगातार पहल गर्दा पनि सार्कको १९ औं शिखर सम्मेलन तय हुन सकेको छैन । यही विषय पछिल्लोपटक सार्कमा बहसमा आएको छ । बहसको बीचमा सार्कको ३४ औं चार्टर डे सबै सदस्य मुलुकले मनाउँदै छन् । सबै राष्ट्र एवं सरकार प्रमुखले सार्कलाई गति दिन तयार रहेको भन्दै औपचारिक वक्तव्य जारी गर्नेछन् । सार्कमा महासचिव अम्जद हुसेन बी सियाल पनि पकिस्तानबाटै छन्, यतिबेला । सार्क शिखर सम्मेलनका लागि अध्यक्ष मुलुक नेपालमार्फत सबैलाई झकझकाइरहेका छन् । सार्कका गतिविधि पनि बढाए । सम्मेलनको टुंगो लगाउन सकेनन् ।

सार्कका वर्तमान अध्यक्ष नेपालका प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘सार्क सुस्त भयो, यसलाई गति दिन यस क्षेत्रका नेतृत्वमा राजनीतिक इच्छाशक्ति दर्बिलो हुनुपर्छ ।’ उनको धारणालाई विज्ञहरूले समेत समर्थन जनाए । तर, उनी नै अध्यक्ष रहँदा पनि सम्मेलनको पहल भएन । अहिले सार्कमा झनै समस्या छ । सार्कको विकल्पमा ल्याएको बिम्स्टेकलाई सदस्य मुलुकले जोड दिइरहेका छन् । एक हजारभन्दा बढी प्रतिबद्धता छन् । ती कार्यान्वयनमा नआउँदा पनि यो अवस्था आएको हो । पछिल्लो समय सार्कमा नयाँ विषय उठान नगर्ने र पुरानै विषय कार्यान्वयनमा लैजाने भनियो । सम्मेलनको प्रावधान परिवर्तन गर्दै दुई वर्ष बनाइयो । तर, त्यसअनुरूप काम भएनन् ।

पूर्वमहासचिव अहमद सलिमले सार्कको विकल्प नरहेको बताउँछन् । ‘सार्कको उद्देश्य पूरा नभएको सत्य हो । तर, केही भएकै छैन भन्ने होइन’, उनले अन्नपूर्णसँग भने, ‘सार्कको विकल्प सार्क नै यही । यसमा सुधार्न सकिन्छ, प्रतिस्थापन होइन ।’ उनी पाकिस्तानका लागि माल्दिभ्सका राजदूत हुन् भने नेपालका लागि गैरआवासीय राजदूत ।

एकथरी विज्ञ सार्कको साढे तीन दशक आन्तरिक द्वन्द्व र आपसी असमझदारीमै खेर गएको बताउँछन् । पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले सार्कका सदस्यले नै यसलाई गतिशील बनाउनुपर्ने बताए । सार्कमा भएका साना मुलुक ठूलाको चाहनामा लाग्दा यस्तो अवस्था आएको भन्दै उनले यसमा समान हैसियत कायम हुनुपर्नेमा जोड दिए । सार्कलाई गति दिन पाँच बुँदामा उनले सुझाएका छन् –अध्यक्षले नियमति बैठक जारी राख्ने, परराष्ट्रमन्त्री एकअर्काको गइरहने, सचिवस्तरीय अन्तक्र्रिया÷गतिविधि बढाउने, महसचिवलाई सक्रिय राख्ने र थिंक ट्यांकको सुझाव लिन थिंक ट्यांकको सूची तय गर्ने । 

सार्क सदस्यहरूको आन्तरिक समस्याका कारण सार्क ओझेलमा छ । २०७१ मंसिरमा शिखर सम्मेलन भएयता सार्क शिथिल छ । बिम्स्टेक सम्मेलन यही बीचमा नेपालमा हुँदा पनि सार्कलाई कमजोर बनाउन नेपाल लागिपरेको आरोप छ । नेपालले सार्क शिखर सम्मेलनको केही समयपछि पोखरामा विदेश मन्त्रीस्तरीय बैठक गरेको थियो । त्यसपछि सार्क अघि बढ्ने विश्वास देखियो । तर दुई वर्षअघि पाकिस्तानमा हुने भनिएको १९ औं शिखर सम्मेलन अन्तिम समयमा रद्द भयो । 

दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख डा. निश्चलनाथ पाण्डेले भने, ‘सार्क शिथिल भएको विषयको बहस हुनु जरुरी छ । यसलाई राजनीतिक नेतृत्वले ध्यान दिई फोरम बनाउन उनले सुझाए । उनले थपे, ‘नेतृत्वमा रहने व्यक्तिको हैसियत बढाइनुपर्छ र प्रतिबद्धतामा सबै सदस्य इमानदार भए संगठन बलियो हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.