चिसोको चिन्ता
भाइबहिनीहरू,
आजभोलि बिहान उठेर स्कुल जान तिमीहरूलाई अल्छी लाग्छ होला। अहिले चिसोका कारण जाडो बढ्दै गएको छ। यो बेला होसियारी नगर्ने हो भने चिसोले सताउँछ। रोग लाग्न पनि सक्छ।
चिसोका कारण निमोनिया हुन्छ भन्ने सुनेका होलाऊ। तर यो सत्य होइन। चिसोले निमोनिया हुने होइन। कीटाणुले गर्दा निमोनिया हुने हो। चिसो समयमा यस खालको कीटाणुले सताउन सक्छ। यसका साथै दम, ब्रोङ्काइटिस हुन्छ। हाइपोथर्मिया पनि हुन सक्छ। हाइपोथर्मियालाई नेपालीमा शीतांग भनिन्छ। शरीरको अंग शीतझैं चिसो भएको अवस्थालाई नै शीतांग भनिन्छ। शीतांग भएको बेला रोगसँग लड्ने क्षमता पनि घट्दै जान्छ। यस्तो बेला निमोनिया, सेप्सिस तुरुन्तै हुने डर हुन्छ। त्यसैले चिसोबाट जोगिनु पर्छ। शरीरलाई न्यानो बनाइ राख्नुपर्छ। धेरै लुगा लगाएर न्यानो बनाउन खोज्दा पनि हिँड्न, दौडन अप्ठेरो हुन्छ। पसिना आउने हुन्छ।
त्यसैले शरीरलाई ठिक्क न्यानो राख्नुपर्छ। शरीरका अंगहरू मुटु, फोक्सो सञ्चालन हुनका लागि पनि शरीरलाई न्यानो बनाई राख्नुपर्छ। शरीरलाई न्यानो बनाउन अंगहरू आफैं सक्रिय भए भने शक्ति खर्च हुन्छ। शरीरको शक्ति ताप निकाल्नमा खर्च हुन्छ। यस्तो बेला शरीरमा ग्लुकोजको मात्रा कमी हुन जान्छ। यस्तो भएको छ भने त्यसलाई हाइपोग्लासिमिया भनिन्छ। हाइपोथर्मियाका साथै हाइपोग्लासेमिया पनि हुन सक्छ। जाडो भइरहेको बेला ओठ नीलो हुने हुन्छ।
चिसो भएको बेला धेरैजना एकै ठाउँमा गुजुमुज्ज परेर बस्ने चलन छ। यसरी बस्दा एउटामा भएको समस्या अर्कोलाई सर्ने डर हुन्छ। श्वासप्रश्वाससम्बन्धी समस्या सर्ने सम्भावना हुन्छ।
घरबाहिर आगो बालेर वा अँगेनाको छेउमा बसेर आगो ताप्ने चलन पनि छ। दाउरा वा गुइँठा बालेर आगो ताप्दा हानिकारक ग्यासहरू निस्किन्छन्। यसरी आगो ताप्नु स्वास्थ्यका लागि फाइदाजनक छैन। कोइला, दाउरा, गुइँठा वा इन्धनद्वारा कोठालाई न्यानो बनाउनु हुँदैन। यसरी न्यानो पार्दा प्रदूषण हुन्छ। प्रदूषणले रोग निम्त्याउन सघाउ पुर्याउँँछ। घरमा कसैले चुरोट खाने बानी छ भने नजिक पर्नु हुँदैन। चुरोट खाने व्यक्तिलाई यस्तो अम्मलले बेफाइदा गर्छ भनेर तिमीहरूले सम्झाउनुपर्छ।
कोठालाई न्यानो बनाउनु पर्दा सोलार, केहीबेर हिटर बालेर तातो बनाउनु फाइदाजनक मानिन्छ। कान्ति बाल अस्पतालका प्रमुख बाल रोग विशेषज्ञ डा. कमलराज शर्मा चिसोमा स्वास्थ्यमा ख्याल गर्नुका साथै तातो र पोषणसम्बन्धी खानेकुरा खानुपर्ने सुझाव दिनुहुन्छ। तातो दूध खानुपर्छ। त्यस्तै तातो दालको रसलगायत झोल पदार्थ जति सक्यो त्यति खाँदा शरीर तातो हुन्छ। रोगविरुद्ध लड्ने क्षमताको पनि विकास हुन्छ।
डा. शर्माका सुझाव अभिभावक र बालबालिकालाई
१. तातो झोलिलो पदार्थ खाने
२. न्यानो कपडा लगाउने
३. धुलोमा नखेल्ने
४. लामो समयसम्म भोकै नबस्ने
५. जंकफुड नखाने
अभिभावकलाई ...
१. छोराछोरीको सरसफाइमा जोड दिने
२. न्यानो कपडा लगाइदिने
३. कुनै लक्षण देखिए उपचार गराउने
४. अन्य समयमा भन्दा विशेष हेरचाह गर्ने
५. बालरोग विशेषज्ञहरूसँग परामर्श लिने
प्रतिक्रिया दिनुहोस !