सरकारी कामरेडहरू पादरी बनेपछि
कम्युनिस्टहरूले त्यो गम्भीर त्रुटि सुधारेनन् भने धारा २७५ बमोजिम सनातन धर्मको रक्षार्थ जनमत संग्रह अपरिहार्य छ
विगत दुई सय ५० वर्षदेखिको स्वाभिमानी र निष्कलंकित नेपालको गौरवमय इतिहासलाई यही मंसिर १५ गते देशका कथित राष्ट्रवादी कम्युनिस्ट शासकहरूले कालो पोतेपछि आम नेपालीको मनोविज्ञान बिथोलिएको छ। सो दिन देशका प्रधानमन्त्री, सभामुख, मन्त्रीगणलगायत संघीय सरकार एवं सत्ताधारी दलका १५ सयभन्दा बढी वामपन्थी महोदयहरूले औपचारिक ढंगले इसाई धर्मको एउटा झड्केलो समूह (जसलाई परम्परागत् इसाईहरू स्विकार्दैनन्) को स्वघोषित येशु पुत्रीका चरणमा पर्दै ‘पवित्र आशीर्वाद’ लिन पुगे। यहाँनिर झापाका खड्गप्रसाद ओलीले लिएको नयाँ धर्म परिवर्तनसँग पंक्तिकारको कुनै आपत्ति छैन तर जब त्यही नामको व्यक्ति मुलुकको प्रधानमन्त्री पदमा कार्यरत छन् र राज्यका सम्पूर्ण स्रोतहरू उसैको नियन्त्रणमा छ, त्यस्तो व्यक्तिले पूर्णतः असंवैधानिक कार्य गर्छन् भने त्यो व्यक्ति प्रधानमन्त्रीको पदमा बसिरहन सक्दैन। किनभने प्रधानमन्त्री ओली उक्त दिनदेखि पादरी भइसकेका छन्। तिनका हरेक क्रियाकलाप अब असंवैधानिक हुन्छ।
किन असंवैधानिक ?
नेपालको संविधान २०७२ को धारा (१७) मा स्पष्ट उल्लेख छ– धर्र्म र सम्प्रदायबीच विद्वेष फैलाउने र नेपालको सुरक्षामा आँच पुर्याउने गरी कुनै पनि विदेशी संगठन वा प्रतिनिधिलाई सहयोग गर्ने कार्य असंवैधानिक हो। त्यस्तै धारा २६ उपधारा (३) अनुसार धर्म परिवर्तन गराउने वा अरूको धर्ममा खलल पर्ने काम गर्न र गराउन नहुने लेखिएको छ। अब के नेपालका प्रधानमन्त्री स्वयं आफ्ना दलबलसहित राज्यको स्रोत परिचालन गर्दै सार्वजनिक समारोहमा कथित दीक्षा ग्रहण गरेको परिदृश्य झूटो हो र ? यदि होइन भने के यो सरकारले संविधान रक्षा गर्न सक्यो ?
जब सरकार प्रमुख नै एउटा विदेशी धर्मको दलाली संस्थालाई भित्याउँदै राज्यको स्रोत र साधनको दुरुपयोग गर्न कुनै कसुर बाँकी राख्दैनन् भने के तिनको नेतृत्वको सरकारले नेपाल आन्तरिक एवं बाह्य सुरक्षामा आँच पुर्याएको ठानिँदैन ? अहिले नेपालका कथित वरिष्ठ कामरेड एवं पादरीहरू ओली, माधव नेपाललगायतका १५ सय बन्धुहरू जसरी सार्वजनिक समारोहमार्फत पादरी भए, त्यसले नेपालको सामरिक परिस्थिति एवं रणनीति अब परिवर्तन हुने सम्भावना बढ्दै गएको छ। ती पादरी–कामरेडहरूको क्षणिक लोभ एवं कुकर्मले आम नेपालीले फेरि दुःख पाउने निश्चित छ। किनभने नेपालमा सयौं वर्षदेखि स्थापित धार्मिक सहिष्णुता र अक्षुण्णतालाई विखण्डन गर्ने ठाडो खेल सरकारले सुरु गर्यो। जसले गर्दा नेपालको सामरिक स्थिति सुरक्षित देखिँदैन।
यहाँनिर नेपालीले बिर्सन नहुने इतिहास यस्तो छ, ‘सनातन धर्म’ नेपाल र नेपालीको एउटा मौलिक रणनीतिगत आधारस्तम्भ थियो र हो। त्योे यथार्थ पृथ्वीनारायण शाहका पालादेखि स्थापित मान्न सकिन्छ र त्यसलाई पुष्पलाल प्रधान, मनमोहन अधिकारी, मदन भण्डारी एवं कृष्णप्रसाद भट्टराई जस्ता राजनीतिक व्यक्तित्वहरूले राम्रोसँग बुझेका थिए। त्यसैले २०४७ को संविधानमा समेत ‘हिन्दु राज्य’ राखिएको थियो। पृथ्वीनारायण शाहले फिरंगीलाई लखेटे, तर मुस्लिमलाई बोलाएर आफ्नो राज्यमा व्यवसाय गरी खाने तौरतरिका सुरु गराएकै हुन्। त्यही नारायणहिटी दरबारको मूल ढोकाको आधा कोसअगाडि जामे मस्जिद बनेकै थियो र छ। उता भगवान् कृष्णको मन्दिरको एकाध कोसभित्रै थुप्रै ‘प्रार्थना गृह’ हरू पनि चलेकै थिए भने २०४७ सालको संविधानमा उल्लिखित ‘हिन्दु’ शब्दप्रति कसको आपत्ति किन रहेछ अहिले आएर पादरी कामरेडहरूले प्रमाणित गरिदिएका छन्।
धर्म के हो, सरकार ?
धर्मका बारेमा कुनै पनि सम्प्रदाय वा धर्मावलम्बीले ठोकुवा परिभाषा दिने हैसियत राख्दैनन्। फेरि नेपालमा नेपाली नबुझ्ने जमातले ‘धर्म’ भनेको अंग्रेजीमा प्रयोग हुने ‘रिलिजन’ को शाब्दिक अर्थ लगाउन पछि पर्दैनन्, जुन गलत हो। एडम स्मिथले अर्थशास्त्रमा प्रयोग गरेको ‘अदृश्य हातहरू’ जस्तै धर्म पनि मानिसको आत्माबाट खोजिने ‘अदृश्य परम शक्ति’ मानिन्छ। मानव सभ्यताको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेददेखि भागवत्गीतामा ‘धर्म के हो’ भनेर बुझ्ने पश्चिमाहरू नेपाली अथवा हिन्दुहरूले अपनाउने सनातन धर्मलाई ‘प्राकृतिक नियम’ मान्छन्, त्यसले तीन यथार्थ स्विकार्छ– आत्मा, भगवान् र पदार्थ। स्मरणीय रहोस्, ‘हिन्दु’ शब्द आफैं धर्म होइन अर्थात् ‘हिन्दु धर्म’ होइन, त्यो बेलायतीहरूले भारत वर्षमा आफ्नो उपनिवेशको सिलसिलामा निकालेको शब्द थियो।
नेपाल र नेपाली मौलिकता एवं सनातनी आस्था गुम्दै जानुमा कम्युनिस्टहरूको ढोंग मात्रै होइन कि हिजो दरबार र तिनको दलाली गर्नेहरू पनि त्यत्तिकै जिम्मेवार थिए र छन्।
फेरि नेपालमा अलिअलि पदार्थ एवं अणु र परमाणुको परिभाषा जान्नेबित्तिकै धर्मलाई ‘अन्धविश्वासको पोको’ ठान्छन्, भलै तिनले वेद अथवा उपनिषद् अथवा महाभारतको एउटै श्लोक पनि बुझ्ने कोसिस गरेका नहोलान् ? विज्ञानको आफ्नै ठाउँ छ, जसले भौतिक जगत्मा खास कार्यविधिमार्फत अनुसन्धान र विश्लेषण गर्दै सत्यतामा पुग्ने कोसिस गर्दछन् भने धर्मले हरेक व्यक्ति हुनुको अर्थ खोज्छ। विज्ञानले कर्म (अब्जेक्ट) खोतल्छ भने धर्मले कर्ता (सब्जेक्ट)। अब आधुनिक विज्ञानले गर्ने सत्यको खोजी र मुण्डकोपनिषद्को तेस्रो भागमा गरिएको सत्यको महिमा ‘सत्यमेव जयति नानृत्तं’ (सत्यको जय प्राप्त हुन्छ, मिथ्याको हुँदैन) समानान्तर हैन र ? त्यसैले अल्बर्ट आइन्स्टाइनको मार्मिक भनाइ थियो, ‘धर्मविज्ञको विज्ञानको लँगडो हुन्छ भने विज्ञानविनाको धर्म अन्धो।’ अर्का नोबेल पुरस्कार विजेता म्याक्स प्ल्यांक जसले भौतिक विज्ञानमा ‘क्वान्टम सिद्धान्त’ को प्रार्दुभाव गरेका थिए, तिनले सन् १९३३ मा ‘विज्ञान कता जाँदैछ ? ’ भन्ने आलेखमा भन्दै थिए, ‘तिमीसँग संस्था (फेथ) हुनैपर्छ।’
नेपालका पादरी कामरेडहरूको राष्ट्रिय आवरण छोपिएको अन्तर्राष्ट्रिय आस्था बल्ल जनताले थाहा पाए। नेपाल र नेपाली मौलिकता एवं सनातनी आस्था गुम्दै जानुमा कम्युनिस्टहरूको ढोंग मात्रै होइन कि हिजो दरबार र तिनको दलाली गर्नेहरू पनि त्यत्तिकै जिम्मेवार थिए र छन्। किनभने तिनीहरूले नेपालको वैदिक धर्मलाई ‘ज्ञानमूलक’ ढंगबाट बढाउनेभन्दा ‘स्वआयआर्जन’ मा दुरुपयोग गर्नसम्म गरे। फलस्वरूप धर्म भनेको ‘कर्मकाण्ड’ मात्रै हो भन्ने गलत मान्यता स्थापित हुन पुग्यो।
तिनीहरूले कुरीति÷कुसंस्कार सुधार्न चाहेनन्। बरु झन् क्लिष्ट बनाउन पुगे। पशुपतिनाथको मूल ढोकाअगाडि बस्ने प्रहरीले छाला हेरेर भित्र जाने अनुमति के ढोंग हैन र ? त्यस्तै के दलितले वेद पढ्न हँुदैन भनेर वेदमा लेखेको छ ? फलतः कम्युनिस्टहरूले त्यसलाई आधार ठान्दै राष्ट्रिय धर्मका खातिर नक्कली प्रभुका शरणमा पुगे, तर त्योभन्दा पहिले नेपालको संविधानलाई समेत धोखा दिन पछि परेनन्। चाणक्यको एउटा नीति यस्तो थियो, ‘एउटा शासक जसले आफ्नो धर्म त्यागेर अर्को धर्म ग्रहण गर्दछ, त्यसको अन्त्य अवश्यभावी हुन्छ।’
अबको बाटो– धार्मिक क्रान्ति
नेपाल र नेपालीको स्वाभिमान रक्षार्थ पादरी कामरेडहरू सत्ताबाट बाहिरिन आवश्यक छ। सम्भवतः त्यसका गहिराइलाई भीम रावल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसालजस्ता वामपन्थीहरूले बुझेको हुनुपर्छ। किनभने जबसम्म पादरी ओलीले शासकीय सत्ता लिन्छन् तबसम्म नेपालको पवित्र नदी सभ्यतामा पूर्णतयाः विदेशीको कब्जा भइसक्छ। तिनीहरूले आफ्नो धर्म त बेचे, राष्ट्रको धर्म बेचे, नदी बेचे र अहिले त सुन्नमा आएअनुसार एउटा विदेशी ठेकेदारले लिएको नदी ठेक्का अर्को विदेशीलाई बेच्यो रे।
मुलुकमा संसद् भन्ने चीज पनि छ क्यारे। अनि त्योचाहिँ ताली पिट्नकै लागि राखिएको हो र ? यस्तै हो भने पादरीहरूको सरकारले अब पशुपतिनाथदेखि रामजानकी, पाथिभराको मन्दिरदेखि मुक्तिनाथ हँुदै लुम्बिनी एवं खप्तडलगायत सारा मठमन्दिर बेच्ने सूत्रहरू खोज्नेछन्। किनभने पादरी अोलीले देशलाई नै ‘ब्याप्टाइजेसन’ गरिसके। अनि कमल थापाजस्ता अवसरवादीलाई जनता विश्वास गर्न सक्दैनन्।
तसर्थ हिजोसम्म नेपालको समस्या ‘धर्म’ हो भन्ने कुनै पनि स्वाभिमानी नेपालीलाई लाग्दैनथ्यो तर त्यो दृश्य अब रहेन किनभने वामपन्थीहरूको संविधानसभामार्फत लेखाइएको अहिलेको संविधानको धारा ४ मा जसरी धर्मसम्बन्धी गलत व्यवस्था गरिएको छ त्यसको अन्त्य आवश्यक छ किनभने त्यसले नेपालीले शदीयौंदेखि अपनाएको सनातन धार्मिक भावनाको खिल्ली उडाएको छ।
नेपाल सनातनीहरूको देश हो। अझ धेरै कामरेडलाई थाहा नहुन पनि सक्छ कि मदन भण्डारीले संस्कृत संरक्षक गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो, जुन तथ्य पुराना कमरेडहरू जो पादरी भइसकेका छैनन्, तिनीहरूबाट बुझ्न सकिन्छ। नेपालको मौलिकताको संरक्षणार्थ नेपाली युवा पुस्तामा ‘धार्मिक जागरण’ को आवश्यकता छ, जसले सनातन धर्मको महत्व बुझने प्रयत्न गरोस्। देशमा धर्मको रक्षार्थ माध्यमिक÷उच्च माध्यमिक तहदेखि विश्वविद्यालयहरूमा विविध धर्मका अध्ययन–अध्यापन किन हुन सक्दैन ?
नेपाली सम्पत्तिको आधार वैदिक शक्ति थियो र हो र त्यसको प्रतिवाद गर्ने हैसियत कसैसँग छैन तर दुर्भाग्य राजनीतिक आवरणमा त्यसलाई मेट्ने प्रयत्न भयो संविधानमार्फत। त्यसको त्रुटि सुधार हुनुपर्छ र आम नागरिकको आवाजलाई रद्दीको टोकरीमा थन्काउन पाइँदैन। तसर्थ वर्तमान संविधानको धारा ४ को खारेजी आवश्यक छ।
के नेपाली कांगे्रसले त्यसको अगुवाइ गर्ने हिम्मत राख्छ ? कांग्रेसले देशमा विशुद्ध ‘सनातनी धार्मिक जागरण’ जगाउँदै ‘भावनात्मक धार्मिक क्रान्ति’ को बिगुल फुकोस् भन्ने आम राय नभएको होइन। तर कांग्रेस आफैं धर्मच्युतहरूको चपेटामा छ किनभने तिनीहरूले संविधान बनाउँदा जुन झेल गरे, त्यसको पाप भोग्दै हुन्। के एकजना विश्वेश्वरप्रसाद कोइराला नास्तिक थिए भन्दैमा सारा कांग्रेसका मतदाताहरू नास्तिक हुनैपर्छ र ? तर फेरि कांग्रेसमा पनि ओलीजस्तै ती कथित प्रभुपुत्री महिलाले मन्थन गरेको झोल पदार्थबाट सिँची त हुनेहरूको दबदबा ठूलै देखिन्छ। त्यसैले होला कांग्रेस स्वयं सरकार बचाउने खेल खेल्यो, एउटा खेस्रा वक्तव्यमार्फत।
यदि दुईतिहाइको सरकारमा आधारित संसद्मा नेपाल र नेपालीप्रति सच्चा इमानदार कम्युनिस्टहरू छन् भने तिनीहरूले ओली पादरी राजको अन्त्य गर्दै ‘संविधानको धारा ३’ लाई ‘नेपाल वैदिक समयदेखि नै स्थापित र वैदिक सनातन धर्मावलम्बीहरूको देश हो’ ले संशोधन गरून्। यदि कम्युनिस्टहरूले त्यो गम्भीर त्रुटि सुधारेनन् भने धारा २७५ बमोजिम सनातन धर्मको रक्षार्थ जनमत संग्रह अपरिहार्य छ।
सनातनीहरूलाई राजतन्त्र चाहिँदैन किनभने तिनीहरूका निम्ति भगवान् नै परम सत्य र अनन्त हो (तैत्तिरियो पनिषद्)। अन्यथा मुलुक सामरिक दुर्घटनातर्फ उन्मुख देखिन्छ।
आशा गरौं– नेपालमा विदेशको नुन नखाने वामपन्थी एवं कांग्रेस बाँकी छन् र तिनीहरूले नेपालको मौलिकताको रक्षार्थ ‘भावनात्मक र्धािर्मक क्रान्ति’ को अगुवाइ गर्नेछन्।