१७ बर्से परिपक्व अभिभावक

१७ बर्से परिपक्व अभिभावक

ढाँडेगाउँ (गोरखा) : सहिद लखन गाउँपालिका ढाँडेगाउँका १७ वर्षका मंगल चेपाङलाई पढेर ठूलो मान्छे बन्ने ठूलै धोको छ। आठ वर्षकी बहिनी र सात वर्षका भाइलाई पनि पढाएर ठूलो मान्छे बनाउन चाहन्छन्।‘मेरो बाउआमा भएको भए मलाई पनि ठूलो मान्छे बनाउँथ्यो होला’, उनी भन्छन्, ‘अब मेरो एउटा भाइ र एउटा बहिनीलाई म ठूलो मान्छे बनाउँछु।’

 भाइ र बहिनीलाई दुई घण्टाको सल्लाघारीको उकालो हिँडाएर स्कुल पुर्‍याउँछन् मंगल। बहिनीलाई देखाउँदै उनी भन्छन्, ‘यो एकमा पढ्छे। अनि योचाहिँ शिशुमा पढ्छ।’ भाइबहिनीलाई कक्षामा राखेर उनी पनि लाग्छन्, कक्षा ७ तिर।

दुई घण्टाको उकालो हिँडेर स्कुल जान जति मुस्किल छ, स्कुल जाने तयारी गर्न त्यतिकै मुस्किल हुन्छ उनलाई। ‘बिहान पाँचै बजे उठेर गोरु र बाख्रालाई घाँस हाल्छु। अनि फेरि घाँस काट्न जान्छु’, मंगल सुनाउँछन्, ‘अनि भात पकाएर भाइबहिनीलाई खुवाउँछु। आफू पनि खान्छु। आठ बजेतिर स्कुल लाग्न्छु।’

विद्यालयबाट फर्केर फेरि बस्तुलाई र भाइबहिनीलाई खुवाउने जोहो गर्ने जिम्मेवारी उनकै काँधमा छ। दिउँसोका लागि खाजाको झन्झट भने उनलाई पर्दैन। ‘खाजा खाने त चलन छैन’, सानुमाया भन्छिन्, ‘बिहान सात बजे खाएपछि एक्कैचोटि बेलुका सात बजेतिर खाने हो। हामी त खाजा कहिल्यै पनि खाँदैनौं।’ चेपाङ बस्तीमा दिउँसोको खाजाको चलनै नरहेको अर्का स्थानीय अनील बताउँछन्। 
बिदाको दिन भने उनको दैनिकी केही बदलिन्छ। बिहान बस्तुभाउ र भाइबहिनीलाई खानेकुराको जोहो गरिसकेपछि जोत्न जान्छन्। ‘शनिबार एक दिन जोत्न गएँ भने साताभरिलाई घरखर्च आउँछ’, उनी थप्छन्, ‘खेतीको सिजन छैन भनेचाहिँ घर बनाउने काममा जान्छु।’ सानैदेखि अभिभावक बनेका मंगललाई कुनै पनि काम बोझ लाग्दैनन्। ‘म ११ वर्षको हुँदा बुबा बितेको हो।

 बुबा बित्नुभन्दा पहिल्यै एउटा दाइ छुट्टिएर बस्यो’, उनी दुःख सुनाउँछन्, ‘अर्को दाइ पनि छ, इन्डिया सिम्लामा, वर्षको एकफेर आउँछ।’ ११ वर्षको उमेरदेखि घरभित्र र बाहिरको काम एक्लैले सम्हाल्दै आएको उनी गर्वका साथ सुनाउँछन्। ‘सबै काम एक्लै गर्नुपर्छ’, भन्छन्, ‘दंग्याएर पनि आफैंलाई, घुर्की लगाए पनि आफैंलाई।’ सात वर्षअघि रातामाटेमा बसले किचेर बुबा अमरको मृत्यु भएपछि आमा पनि अर्को ठाउँमा बिहे गरेर गएको उनले बताए।

 ११ वर्षको उमेरदेखि अभिभावक बनेका मंगल अहिले भाइबहिनीलाई कसरी हुर्काउने भन्नेमा पोख्त भइसकेका छन्। भाइबहिनी ठूलो मान्छे बन्लान् र दाइले गर्दा हामी ठूलो मान्छे भयौं भनेर जस दिएको सुन्ने मंगलको ठूलो रहर छ। घरभित्र, बाहिरको काम सबै भ्याएर पनि भाइबहिनीको स्याहार गरेको देखेर शिक्षक, शिक्षिकाले उनलाई माया गर्छन्। छरछिमेक सबैले प्रशंसा गर्छन्। ‘मान्छे भर्खरको देखिन्छ। तर कुरा गराई यस्तो गहिरो हुन्छ कि, हामी नै दंग पर्छौं’, छिमेकी अनील चेपाङ भन्छन्, ‘कुलतमा लागेको छैन। अल्लरेपारा छैन। बुढापाकाको जस्तो बोलीचाली छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.