एभरेस्ट प्रिमियर लिग : ललितपुर क्वालिफायर

एभरेस्ट प्रिमियर लिग : ललितपुर क्वालिफायर

काठमाडौं : ललितपुर प्याटियट्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा भैरहवा ग्लाडिएटर्सलाई ६ विकेटले पराजित गर्दै ललितपुरले पहिलो क्वालिफायर खेल खेल्ने निश्चित गरेको हो।

यो पराजयसँगै यसअघि नै प्ले अफमा स्थान सुरक्षित गरिसकेको भैरहवाका लागि भने सीधै क्वालिफायर खेल्ने सम्भावना भने मुस्किल बनेको छ। विराटनगर वारियर्स र काठमाडौं किङ्स इलाभेनबीच सोमबार हुने राउन्ड रोबिन लिगको अन्तिम खेलपछि त्यसको टुंगो लाग्नेछ। काठमाडौं विजयी भएको अवस्थामा पहिलो क्वालिफायरमा पुग्नेछ र भैरहवाले इलिमिनेटर खेल्नुपर्नेछ।

यो अवस्थामा रन रेटमा पछि परेको अवस्थामा विराटनगरको स्थानमा चितवन नै प्ले अफमा पुग्ने सम्भावना पनि रहन्छ। जित आफ्नो पक्षमा पार्न सकेको अवस्थामा भने विराटनगर प्ले अफमा मात्रै पुग्ने छैन, चितवन पनि प्रतियोगिताबाट बाहिरिनेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको भैरहवा १९औं ओभरमा ९२ रनको सामान्य योगफलमा समेटिन पुगेको थियो। जवाफमा ललितपुरले १४.२ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पार गरेको हो।

ललितपुरलाई विजयी बनाउन भारतीय खेलाडी सन्नी पटेलले बलिङमार्फत सशक्त प्रदर्शन गरे। सन्नी एक्लैले पाँच विकेट लिँदै भैरहवालाई सस्तो योगफलमा रोकेका थिए। म्यान अफ दी म्याच चुनिएका सन्नीले चार ओभरमा १२ रन मात्रै खर्चिएका थिए।

यस्तै ब्याटिङतर्फ अर्का भारतीय खेलाडी जयकिशन कोल्सावालाले अविजित २२ तथा पवन सर्राफले २५ रन जोडे। यस्तै सन्दीप जोहरा १८ रन जोड्दै अविजित रहे। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। प्रारम्भिक ब्याट्सम्यान गौरभ तोमार नौ, कप्तान ज्ञानेन्द्र मल्ल चार तथा कुशल भुर्तेल दुई रनमै आउट हुन पुगे।

भैरहवाका लागि नेदरल्यान्ड्सका खेलाडी र्‍यान टेन डोस्काटेले बल र ब्याटबाट अलराउन्ड प्रदर्शन गरे पनि जित सम्भव भएन। ब्याटिङतर्फ ३७ रन जोडेका डोस्काटेले बलिङतर्फ दुई विकेटसमेत लिएका थिए। उनीबाहेक भारतीय खेलाडी रभिइन्दर सिंहले २५ रन जोड्दा बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। सन्नीबाहेक ललितपुरका रासिद खान र योगेन्द्रसिंह कार्कीले भैरहवाको दुई÷दुई विकेट लिएका थिए।

खेलपछि भैरहवाका कप्तान शरद भेषावकरले पावर प्लेमै नियमित विकेट गुमाउँदा टोली संकटमा परेको बताए। ‘पावर प्लेमा राम्रो गर्ने योजना थियो। यद्यपि पावर प्लेमा नियमित विकेट गयो। डोस्काटेले राम्रो बलिङ गरिरहेका थिए तर उनलाई कुनै पनि खेलाडीले साथ दिन सकेनन्’, शरदले भने, ‘कुनै पनि खेलाडीबीच राम्रो साझेदारी बन्न नसक्दा पराजित हुन पुग्यौं।’

प्रतियोगिताको सुरुआती तीन खेलमा लगातार जित हात पार्दै प्ले अफमा स्थान सुरक्षित गरेको भैरहवाले लिग चरणको अन्तिम दुई खेलमा भने पराजय बेहोरेको छ। त्यसको ठीक विपरीत पहिलो खेल नै गुमाएको ललितपुर त्यसपछिका चारवटै खेलमा जित हात पार्दै पहिलो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ। अब यो खेलमा जित हात पार्न सकेको अवस्थामा ललितपुर सीधै फाइनलमा प्रवेश गर्नेछ।

पहिलो खेलमा पराजय बेहोर्नुका बाबजुद सबै खेलाडीको मेहनत र बलियो आत्मविश्वासका साथ बाँकी खेलमा जित सम्भव भएको ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले बताए। ‘हामीले पहिलो खेलमा सानासाना गल्ती गर्दा पराजय बेहोरेका थियौं। हामीले त्यो कुरा बुझेका थियौं, त्यसैले त्यही गल्ती नदोहोर्‍याउँदा नियमित जित सम्भव भइरहेको छ’, ज्ञानेन्द्रले भने, ‘त्यसका साथै युवा खेलाडीहरूले समेत हामी राम्रो गर्न सक्छौं भन्ने विश्वास लिएर आए र त्यसअनुसार खेले। नियमित जितको यो यात्रामा यही कुरा महत्वपूर्ण रहे।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.