लागुऔषधसहित एक पक्राउ, एक फरार
जनकपुरधाम : महोत्तरीको बर्दिबासबाट लागूऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
सोमबार बिहान यात्रुवाहक माइक्रोबसमा चेकजाँच गर्ने क्रममा प्रहरीले सिरहाको विष्णुपुर–१ का १८ वर्षीय अमरकुमार शर्मा ठाकुरलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ठाकुरले बोरामै लागुऔषध लिएर काठमाडौं जाँदै थिए ।
चेकजाँचका क्रममा माइक्रोसहित बसबाट समेत गरी एक सय ४७ बोतल प्रतिबन्धित लागुऔषध डाइलक्स डीसी र ६ सय २० पिस नाइट्रोभेट ट्याबलेट बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी खगेन्द्रबहादुर खड्काले जनाए ।
बा ५ ख १९६८ नम्बरको माइक्रोबस र बा ३ ख ७४६८ नम्बरको बसबाट लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । बसमा भने लागुऔषध ओसार्ने व्यक्ति फरार रहेको प्रहरीले बताएको छ । डेढ महिनाअघि पनि बर्दिबास प्रहरीले यहाँबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको थियो ।