नेकपा स्थायी समिति बैठक : नेताहरुले बोल्नेक्रम जारी
काठमाडौं : नेकपा स्थायी समिति बैठकमा बुधबार पनि नेताहरुले धारणा राख्ने क्रम जारी छ। बिहान बसेको बैठकमा अध्यक्षदय केप ओली र पुष्पकमल दाहालको साझा राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमको प्रस्तावका विषयमा ८ जना नेताहरुले धारणा राखेका छन्।
आजको बैठकमा नेताहरु देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
२९ मंसिरबाट पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठकमा अहिलेसम्म २६ जना नेताले आ-आफना धारणा राखिसकेका छन् ।अर्को बैठक बिहीबार (भोलि) बिहान ८ बजे पुन: बस्नेछ।
स्थायी समिति सदस्यले धारणा राखिसकेपछि अध्यक्षद्वयले उठेका प्रश्नहरुका विषयमा जवाफ दिने र दस्तावेजलाई सुझाव सहित परिमार्जन गरिने नेताहरुले बताएका छन्।