सुधार गृहमै चरम यातना !
![सुधार गृहमै चरम यातना !](https://annapurnapost.prixacdn.net/media/albums/sudhar-griha-yatana-biratnaga_20181219104436_D1ACkzgJkG.jpg)
विराटनगर : लागूऔषध तथा नशाजन्य वस्तुको दुव्र्यसन र कुलतमा फसेकालाई सुधारका लागि संचालनमा ल्याइएका सुधार गृह यातना दिने थलोका रुपमा परिणत हुँदै गएको पाइएको छ।
मोरङको उर्लाबारी नगरपालिका- ४ मा संचालन गरिएको 'जीवन बचाउ उपचार सेवा गृह' नामक सुधार गृहमा सुधारका लागि भनेर राखिएका बिरामीलाई लामो समयदेखि विभिन्न शारीरिक तथा मानसिक यातना दिने काम हुँदै आएको छ।
स्वयंसेवकका रुपमा खटाइएका कर्मचारी र संचालक समेतले सुधार गृहमा राखिएका बिरामीलाई कुटपिट गर्ने, धम्की दिने तथा अन्य हिसाबबाट यातना दिने काम गरेको पाइएको उर्लाबारी २ का वडा अध्यक्ष राजन कँडेलले बताए। 'सुधार गृहमा राखिएकालाई परिवारका सदस्य र आफन्त आउँदा भेटघाट र गफगाफ गर्न पनि दिइँदो रहेनछ', उनले भने, 'त्यहींमाथि चरम यातना र विभिन्न धम्की दिने काम हुँदो रहेछ।'
उचित हिसाबबाट आवश्यक 'काउन्सिलिङ' गरेर सकारात्मक सोंचको विकास गराउँदै समाजमा पुर्नस्थापना हुने वातावरण दुव्र्यसन र कुलतमा फसेकाका लागि तयार पार्नुपर्नेमा त्यसको ठिक विपरित गर्ने गरिएको कँडेलको भनाइ छ। उनले सुधार गृहमा राखिएका एक आफन्तका बारेमा बुझ्न पुग्दा आफूले गृहमा पूरै बेथिती पाएको बताउँदै भने, 'सुधार गृहमा मान्छे सुधार्नका लागि राख्ने हो। कुटपिट र यातना दिन होइन।' कँडेलले सुधार गर्ने नाममा दिइने यातना निक्कै निर्मम र दर्दनाक खालको हुने गरेको सुनाए।
२०६२ सालदेखि संचालनमा रहेको सुधार गृहले मोरङकै कानेपोखरी गाउँपालिका ३ का ४० वर्षीय सूर्य भट्टराईलाई पनि सुधार्ने जिम्मा लिएर कात्तिकमा लगेको थियो। मदिरा सेवन गर्ने गरेको भन्दै लगेर गृहमा राखिएका सूर्यको अहिले दाहिने घुँडामा चोट छ। चोटले घुँडा सुन्निएका कारण राम्ररी हिंडडुल गर्न पनि सक्दैनन्।
परिवारका सदस्यको सुधार गृहमै दिइएको यातनाका कारण सूर्यको घुँडामा चोट लागेको दावी छ। भाइलाई भेट्न पुग्दा सुधार गृह संचालकले भेट गर्न नदिएको माइला दाजु पुस्कर भट्टराईले बताए। उनले ७६ वर्षीया आमा विष्णुमाया र ८३ वर्षीय बुवा चन्द्रबहादुरले रुँदै छोरा खोजी गरिरहे पनि सुधार गृहले बाहिर निकाल्न नदिएको बताए।
'भेट्न जाँदा धेरै पटक त गृहभित्र छिर्न रोके। एक पटकमा एक मिनेट जति भेट्न दिएपनि राम्ररी बोल्न सम्म दिएनन्,' पुस्करले भने, 'सुधार गृहमा मलाई धेरै कुटपिट भइरहेको छ, चाँडो निकाल्नु भनेर सांकेतिक अपिल गर्दै भाइ रुन थाल्यो। त्यहाँबाट फर्किएर म आइसकेपछि राति दाजुलाई किन बोलाइस् भनेर पाइप र लट्ठीले कुटपिट गर्ने काम भएको सुनें।'
उनले त्यहाँ भित्र राम्ररी खान र सुत्न समेत नदिने गरेको बताए। पुस्करले सुधार गृहमा राखिएका धेरैजनाले त्यहाँ भित्र खप्नै नसक्ने गरी यातना दिने गरेको गुनासो बोकेर बाहिर आउने गरेको सुनाए।
उनले आफूलाई रोक लगाएपछि जनप्रतिनिधि र प्रहरी प्रशासनको सहयोग लिएर मात्रै भाइलाई भेट्न सकेको बताए। 'सुधार गृहमा पठाउँदा केही समस्या नरहेको भाइको अहिले घुँडामा चोट छ। घुँडा सुन्निएर उ हिंड्न पनि सक्दैन', उनले भने, 'के कारणले घुँडा यस्तो भयो भनेर सोध्दा उल्टै सुधार गृह संचालकले धम्की दिंदै मलाई नै कुट्न खोजे। धेरै कुरा बुझ्न नदिइकन विभिन्न धम्की दिंदै त्यहाँबाट मलाई नै निकालिदियो।'
पुस्करले धेरै पटक दवाव दिएपछि सूर्यलाई उपचारका लागि नजिकैको अस्पतालमा लगेको र अस्पतालले चोटका कारण घुँडामा 'इन्फेक्सन' भइसकेको बताए पनि थप उपचार नगरिकन बन्धक बनाएर राखिएको बताए। उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि लैजान भने पनि सुधार गृहले चाँसो नदिएको उनको भनाइ छ।
'मैले भाइलाई उपचारका लागि लैजान्छु भन्दा पनि दिएनन्। घर लैजान्छु भन्दा पनि बन्धक बनाएर राखिरहेका छन्', पुस्करले भने, 'राख्नै नपर्ने व्यक्तिलाई समेत पैसाको लोभमा परेर गृहमा ल्याएर राख्ने गरिएको पाइयो। यस्ता सुधार गृह विरुद्ध कानुनी उपचारको बाटो खोज्दै छु।'
एक स्थानीयका अनुसार सुधार गृहमा दिनहुँजस्तो यातना दिने काम हुन्छ। 'राखिएकालाई बन्धनमा पारेर राति कुट्ने काम हुन्छ,' ती स्थानीयले भने, 'कुटेर सुधार गर्छु भन्ने साह्रै घटिया मानसिकता रहेको पाइयो।' उनले गृहमा बिरामीका आफन्त कसैलाई पनि पस्न नदिइकन बन्धक बनाएर राख्ने गरेको बताए।
उक्त सुधार गृहमा राखिएका उर्लाबारीका च्याङ्वा भनिने दावा तामाङको २०७३ साल साउन १२ गते मृत्यु भएको थियो। गृहले ब्रेनह्यामरेजका कारण मृत्यु भएको बताए पनि आफन्तले भने कुटपिट र यातनाका कारण मृत्यु भएको बताउँदै आएका थिए। दवाव र प्रभावकै भरमा त्यतिबेला पनि घटनालाई सामसुम पार्ने काम भएको थियो।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले सुधार गृहमा धेरै व्यक्तिलाई गैर कानुनी ढंगबाट राखेको पाइएको बताए।
उनले कानुनी प्रक्रिया पूरा गर्नका लागि आग्रह गर्दा गृह संचालकले विभिन्न ढंगबाट दबाब सिर्जना गर्दै अटेर गरिरहेको बताए । 'दुव्र्यसनमा फसेकालाई सुधार गृहमा राख्न नेपाल सरकारबाट मान्यता प्राप्त चिकित्सकले सिफारिस गर्नुपर्छ। प्रहरीसँग पनि समन्वय गरिनुपर्छ', उनले भने, 'त्यहाँ भने कुनै प्रक्रिया पूरा गरेको देखिदैन। सुधार गृह संचालनका बारेमा खोजविन थालिएको छ।'
तिमल्सिनाले कोही कसैले कुटपिट गरेको र यातना दिएको भनेर उजुरी गरेमा गृह संचालकलाई कारवाही गर्न सकिने बताए । सम्झाउन र सतर्क गराउन खोज्दा गृह संचालकले आफ्नो कमजोरी लुकाउन अनेक प्रयत्न गरिरहेको बताउँदै उनले भने, 'सुधार्ने नाममा व्यक्तिलाई थप पीडित बनाउन पाइँदैन। कहीं कतैबाट उजुरी पर्यो भने कानुनअनुसार अनुसन्धानको दायरामा ल्याउनैपर्ने हुन्छ।'
उर्लाबारी नगरपालिकाकी उपमेयर एवं न्यायिक समितिकी संयोजक लक्ष्मी भण्डारीले सुधार गृहका बारेमा धेरै गुनासाहरु आइरहेको बताइन्। भण्डारीले सुधार गृहमा राखेर कोही कसैलाई पनि कुट्न र यातना दिन नपाइने विषयमा सचेत गराइसकिएको जानकारी दिइन्।
सुधार गृहका अध्यक्ष सागर राईले गृहमा कोही कसैलाई पनि यातना नदिएको दावी गरे। 'पहिले यातना दिएपनि अहिले त्यो काम बन्द भइसक्यो', उनले भने, 'गृहमा काम गर्ने कर्मचारीलाई पनि नकुट्नका लागि भनेका छौं।' राईले सबैजना बिरामीलाई परिवारका सदस्यकै सहमतिमा ल्याएर सुधारको बाटोतर्फ लग्ने काम भइरहेको दावी गरे। उनले बिरामीसँग बुझेर स्वास्थ्यमा कुनै समस्या आएको पाइएमा तत्काल उपचारका लागि लैजाने गरेको बताए।
भट्टराईको घुँडाको पुरानै समस्या रहेको र गृहलाई जिम्मा दिने परिवारका सदस्य लिन नआएका कारण पठाउन नसकिएको उनको भनाइ छ। सुधार गृहमा अहिले २३ जनालाई राखिएको छ। राईले सुधार गृहमा झापा, मोरङ, सुनसरीसहित भारतका समेत लागूऔषध दुव्र्यसन र विभिन्न नशाजन्य वस्तुको कुलतमा फसेका बिरामीलाई ल्याएर राख्ने गरिएको बताए।बिरामीको बानी व्यवहारमा सुधार ल्याउनका लागि परामर्शदाता समेत राखेर 'कान्सिलिङ' गर्ने गरिएको अध्यक्ष राईको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)