सुदुरपश्चिममा विश्वविद्यालय तोडफोड
महेन्द्रनगर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन्। अवैध रुपमा कर्मचारी भर्ना गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले तोडफोड गरेका हुन्। विद्यार्थीले विश्वविद्यालयका प्रमुख डा. भुपेन्द्र विष्ट, विश्वविद्यालयका नासु बिनोदराज जोशी सहित केही कर्मचारीहरुका कुर्सी जलाएका छन्। विद्यार्थीले क्याम्पसभित्र विभिन्न संकायमा तोडफोड गरेका छन्।
विभिन्न राजनीतिक दल आबद्व ४ वटा विद्यार्थी संगठनका विद्यार्थीहरुले बुधबार बिहानै तोडफोड गरेका हुन्। अनेरास्ववीयु, अखिल क्रान्तिकारी, नेविसंघ र विप्लप नेतृत्वको अनेरास्ववीयु क्रान्तिकारीका विद्यार्थीहरुले कर्मचारी भर्नाको विरोध गर्दै आएका छन्। विश्वविद्यालय प्रशासनले प्रक्रिया नै नपु¥याई सह प्राध्यापक सहित केहि कर्मचारीहरुहरु भर्ना गरेको भन्दै विरोध स्वरुप आन्दोलनमा उत्रिएको नेविसंघका विद्यार्थी नेता किशोर जोशीले बताए।
‘विश्वविद्यालयलाई आफन्त भर्ती केन्द्र बनाइएको छ, कुनै प्रक्रिया नै छैन्’उनले भने, ‘पटक–पटक सचेत गराउँदा समेत अटेरी गरेपछि तोडफोड गर्नु परेको हो।’ तोडफोडसँगै विद्यार्थीहरुले महेन्द्रनगर बजारमा र्यालीसहित नाराबाजी समेत गरेका थिए। विद्यार्थीहरुले विश्वविद्यालयमा परिवारका सदस्य, नातेदारलाई भर्ना केन्द्र बनाइएको आरोप लगाएका छन्।
विश्वविद्यालयको शिक्षा संकायमा अध्ययनरत विद्यार्थीहरुको समूह इन्टिग्रिटी फोरमले ४ दिनदेखि रिले अनसन गरिरहेको छ। प्रक्रिया विना नै भर्ना गरिएका कर्मचारीहरुको खारेजीको माग राखेर उनीहरु रिले अनसनमा बसेका हुन्। विश्वविद्यालयका प्रिन्सीपल डा. भुपेन्द्र विष्टले भने विश्वविद्यालयमा कुनै सह–प्राध्यापक तथा कर्मचारीहरुको नियुक्ती नगरिएको प्रष्ट पारे।
‘अहिले विश्वविद्यालयमा कर्मचारीहरुको अभाव रहेको छ’उनले भने,‘उनीहरुको पदपूर्ति नहुँदासम्म विश्वविद्यालयको काममा वाधा नहोस् भनेर दैनिक ज्यालादारीमा काममा लगाइएको हो।’ दैनिक ज्यालादारीमा काममा लगाएको विषयलाई कर्मचारी भर्ना र नियुक्ती गरिएको भन्ने प्रचार गरी विश्वविद्यालयमा अराजकता फैलाउने काम भएको उनले बताए।
‘दिनहुँ गुण्डागर्दी शैलीमा पढिरहेका विद्यार्थीहरुलाई कक्षाकोठाबाटै बाहिर निकालिन्छ’उनले भने,‘अराजकता भइरहेको छ, प्रहरी प्रशासनलाई आग्रह गर्दा समेत सुनुवाई भएको छैन्।’उनले विद्यार्थीहरुले लगाए जस्ता कर्मचारी भर्ना नगरिएको र दैनिक ज्यालादारीमा मात्रै काममा लगाइएको स्पष्ट पारे।
विश्वविद्यालय स्रोतका अनुसार दैनिक ज्यालादारी कर्मचारी काममा लगाउने विषयमासमेत आन्दोलनरत केही विद्यार्थीहरुले आफ्ना मान्छे राख्न गरेको आग्रह विश्वविद्यालयले नमानेपछि विरोध स्वरुप तोडफोडमा उत्रिएका हुन्। केहि विद्यार्थी संगठनका नेताहरुले आफ्ना मान्छे भर्ना गर्न बारम्बार दबाव दिँदै आएको विश्वविद्यालय स्रोत बताउँछ।
प्रतिक्रिया दिनुहोस !