सेनाका गजेन्द्र राई बने ‘म्याद अफ द’ गोरखा
गोरखा : नेपाली सेनाका गजेन्द्र राई यो वर्षको ‘म्याद अफ द’ गोरखा बनेका छन्।
दशौं गोरखा महोत्सवका क्रममा भएको आठ किलोमिटर दौड प्रतियोगितामा पहिलो भएका राईले म्यान अफ द गोरखा उपाधिसहित ३० हजार रुपैयाँ जितेका हुन्।
द्रव्य शाहले राज्यभिषेक गरेको ऐतिहासिक पस्लाङ चौताराबाट गोरखा दरबारसम्मको दुरी राईले ३० मिनेट ४० सेकेण्डमा पार गरेका थिए। उपाधि विजेता राईलाई गोरखाको ऐतिहासिक पोशाकसहित घोडामा चडाएर गोरखा बजार परिक्रमा गराइएको छ।
सोही दूरी ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेर नेपाली सेनाकै होमलाल श्रेष्ठ दोस्रो भए। उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
दौडमा तेस्रो स्थान पनि नेपाली सेनाकै राजन खत्रीले प्राप्त गरेका छन्। खत्रीले निर्धारित दूरी ३१ मिनेट १७ सेकेण्डमा पार गर्दै १० हजार रुपैयाँ पुरस्कार पाएका छन्।
चौंथो भएका नेपाली सेनाकै हरिकुमार रिमाल र पाँचौं स्थान प्राप्त सेनाकै कल्याण बानियाँले २५-२५ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। दौड प्रतियोगितामा २ महिला सहित ३४ जनाको सहभागी थिए। दौड पूरा गर्ने धाविका नेपाली सेनाकै रणसिंह दल गणकी आशा तामाङलाई पनि प्रोत्साहन स्वरुप पुरस्कृत प्रदान गरिएको छ।