गाडीले गेट छेक्न सकिएला तर, जन-आवाजहरू छेक्न सक्दैन: आङ्देम्बे
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले केही मिडिया हाउस र कांग्रेस सभापति गगन कुमार थापाको घर अगाडि शंकास्पद गाडी तेर्स्याइएको घटनाप्रति आपत्ती जनाएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा,सञ्चारगृह कान्तिपुर, अनलाइनखबर,हिमालय टेलिभिजन तथा भाटभटेनी सुपरमार्केट अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएका घटनाले सरकारले आलोचनात्मक आवाज बन्द गर्न खोजेको आरोप लगाएका छन्।
'गेटअगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै नभएर आलोचनात्मक आवाज थुन्ने प्रयास हो । यो घटना स्वतन्त्र प्रेससँगै विपक्षी दलका नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र ‘प्रश्न गर्यौ भने परिणाम भोग्नुपर्छ,'भन्दै तर्साइएको हो ,'उनले लेखेका छन्।
आङदेम्बेले लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता भएको उल्लेख गर्दै सरकार आलोचनाबाट डराउन थालेपछि प्रश्न गर्नेहरूलाई नै निशाना बनाउन खोज्ने प्रवृत्ति देखिएको बताएका छन्। गेटअगाडि सवारीसाधन राखिएको घटना केवल बाटो छेक्ने विषय नभई आलोचनात्मक आवाज थुन्ने प्रयास भएको उनको दाबी छ।
उनले यस्तो गतिविधिले स्वतन्त्र प्रेस र विपक्षी नेतृत्वमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने,डर देखाउने तथा प्रश्न उठाउनेहरूलाई तर्साउने उद्देश्य बोकेको टिप्पणी गरेका छन्।आङदेम्बेले अहिले सहकारी पीडित, मिटरब्याजपीडित,सुकुम्बासी तथा बेरोजगारीलगायतका विषयमा सरकारमाथि जनदबाब बढिरहेको उल्लेख गर्दै यस्ता सवालको जवाफ दिन नसकेको सरकारले सञ्चारमाध्यम र प्रतिपक्षी नेतामाथि नै दबाब सिर्जना गर्ने शैली अपनाएको आरोप लगाए।
उनले लोकतान्त्रिक प्रक्रियाबाट सत्तामा पुगेको नेतृत्वले असहमतिलाई नियन्त्रण गर्न खोज्नु अधिनायकवादी सोचको संकेत भएको टिप्पणी गर्दै सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु नभई जनतासामु राज्यका कामकारबाही देखाउने ऐना भएको उल्लेख गरेका छन्।
'ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन,'भन्दै आङदेम्बेले गेटअगाडि गाडी राखेर स्वतन्त्र आवाज रोक्न नसकिने र इतिहासले गेट छेकिए पनि प्रश्नको बाटो कहिल्यै नछेकिएको पुष्टि गरिसकेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !