मनाङ उपाधि नजिक
काठमाडौं : मनाङ मर्स्याङ्दी क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि नजिक पुगेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले हराएपछि मनाङको उपाधि यात्रा सहज बनेको हो।
१० खेलसम्म अपराजित मनाङले ३० अंक बनाएको छ। मनाङलाई पछ्याइरहेको संकटा क्लबको २५ अंक छ। मनाङले दोस्रो स्थानमा रहेको संकटासँगको दूरी पाँच अंकले बढाएको छ। अब लिगको ११औं चरणमा मनाङ र संकटाबीच प्रतिस्पर्धा हुनेछ। यदि उक्त खेलमा संकटालाई हराएमा मनाङ दुई खेलअघि नै लिग च्याम्पियन बन्नेछ। १०औं चरणको समाप्तिसँगै तेस्रो स्थानमा रहेको थ्रीस्टारको २३ अंक छ। चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १८ अंक छ। मनाङसँग हार खेपेको पुलिस १५ अंकसहित तालिकाको छैटौं स्थानमा छ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हापमा मनाङ र पुलिस गोलरहित बराबरीमा रोकिएका थिए। मनाङले ५३औं मिनेटमा गोल गरेको थियो। मनाङका लागि एडेलाजा सोमिडेले खाली पोस्टमा गोल गरेका थिए। हेमन गुरुङले डीबक्सभित्र मिलाइदिएको पासमा एडेलाजाले चिप गर्दै जाली चुमाए। त्यतिबेला पुलिसका गोलरक्षक अर्पण कार्की पोस्ट् छाड्दै अगाडि बढेका थिए। गोलपछि रक्षात्मक देखिएको मनाङलाई खेलको अन्तिमसम्म अग्रता जोगाउन हम्मेहम्मे परेको थियो। दोस्रो हाफमा पुलिसले दुईवटा उत्कृष्ट गोल गर्ने अवसर खेर फालेको थियो।
खेलपछि मनाङका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीले निकै मेहनत गरेको बताए। ‘आजको खेल हाम्रो लागि निकै महŒवपूर्ण थियो। यस जितले हामी उपाधिको नजिक छौं। मनाङको लक्ष्य १३ वटै खेलमा अपराजित रहँदै उपाधि जित्ने हो। मनाङ त्यही कीर्तिमानको पखाईमा छ। संकटाविरुद्धको खेलमा झनै मेहनत गर्नेछौं,’ सुमनले भने।
पुलिसका प्रशिक्षक अनन्त थापाले मनाङजस्तो बलियो टोलीसँग खेलाडीले राम्रो खेलेको बताए। ‘टोलीका अनुभवी खेलाडीको कमी हुँदा केही गाह्रो भयो। पाएको राम्रो मौका गुमाउँदा हार खायौं,’ अनन्तले भने। उनले पुलिसको लक्ष्य शीर्ष ६ मा अट्नु रहेको पनि बताए।
यसैगरी एन्फा मैदानमै भएको अर्को विभागीय डर्बीमा एपीएफ क्लबले बाजी मारेको छ। एपीएफले त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हरायो। एपीएफको जितमा दुवै गोल आशिष लामाले गरे। आशिषले ५७औं र ८६औं मिनेटमा गोल गरेका थिए। एपीएफको दबाबमा परेको आर्मीले ८७औं मिनेटमा एक गोल फर्काएको थियो। आर्मीका लागि नवयुग श्रेष्ठले गोल गरे। नवयुगले एपीएफका गोलरक्षक अगाडि बढेको मौकामा खाली पोस्टमा गोल गरेका थिए।
जितसँगै १६ अंक बनाएको एपीएफ तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। खेलपछि एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले आर्मी जस्तो बलियो टोलीलाई हराउँदा खुशी लागेको बताए। ‘हामीले कमजोर टोलीसँग अंक गुमायौं। बलिया टोलीसँग राम्रो खेल्यौं। बाँकी खेलमा सुधारिएको प्रदर्शन गर्नेछौं,’ राजेन्द्रले भने। आर्मीका प्रशिक्षक नविन न्यौपानेले एपीएफसामु खेलाडी चल्नै नसकेको बताए। ‘एपीएफले आज धेरै राम्रो खेल्यो। मिडफिल्ड नचल्दा धेरै गाह्रो भयो। यस हारले आर्मीलाई शीर्ष तीनमा रहन सहज छैन,’ नवीनले भने।