सहिद स्मारक लिग : पुलिससँग थ्रीस्टार स्तब्ध
काठमाडौं : पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले थ्रीस्टार क्लबलाई ३–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा थ्रीस्टार हार बेहोर्न बाध्य बनेको हो ।
पुलिसलाई प्रभावशाली जित दिलाउन नीरकुमार राई, अभिषेक रिजाल र भोला सिलवालले एकएक गोल गरे । थ्रीस्टारका मेसोम्वे आवाङ अल्बर्टले सान्त्वना गोल गरे ।
पहिलो हाफको १३औं मिनेटमा अल्बर्टले गोल गर्दै थ्रीस्टारलाई सुरुआती अग्रता दिलाएका थिए । नीराजन खड्काले उपलब्ध गराएको बलमा अल्बर्टले हेड गोल गरेका थिए । खेलको २०औं मिनेटमा नीरकुमार राईले गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पुलिसले दुई गोल गरेको थियो । दोस्रो हाफको सुरुआतमै प्राप्त पेनाल्टीमा अभिषेकले गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाएका थिए । त्यसपछि ५५औं मिनेटमा कप्तान भोला सिलवालले एकल प्रयासमा गोल गर्दै पुलिसलाई ३–१ को प्रभावशाली जित दिलाए । ८७औं मिनेटमा थ्रीस्टारले पेनाल्टीमार्फत गोल संख्या घटाउने अवसर पाए पनि रञ्जित धिमालले खेर फालेका थिए । उनको प्रहारलाई पुलिसका गोलकिपर अर्पण कार्कीले उत्कृष्ट बचाउ गरे । पुलिसका अजित भण्डारी म्यान अफ दी म्याच चुनिए ।
पुलिससँगको हारसँगै थ्रीस्टारले दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । लिगमा थ्रीस्टारको दोस्रो हार हो । थ्रीस्टारले ११ खेलबाट २३ अंक जोडेको छ । पुलिस १८ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ ।
सरस्वतीको पोस्टमा आर्मीको चार गोल
लिगअन्तर्गत नै सातदोबाटो भएको खेलमा अर्कोे विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा आर्मीले १० खेलाडीमा सीमित सरस्वती युवा क्लबलाई ४–० गोलले पराजित गरेको हो ।
आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले दुई गोल गरे । यस्तै नवयुग श्रेष्ठले एक गोल गर्दा अर्को एक गोल आत्मघाती रूपमा पाएको थियो ।
एकपक्षीय खेलको छैटौं मिनेटमा नवयुगले दीपक गुरुङको पासमा गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २८औं मिनेटमा सुमन लामाले रातो कार्ड पाएपछि सरस्वती १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा आर्मीले उठायो ।
कप्तान भरत खवासले पेनाल्टीमा गोल गर्दै आर्मीलाई २–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा २–० ले अगाडि रहेको आर्मीले दोस्रो हाफको ६२औं मिनेटमा अग्रता फराकिलो बनाएको थियो । कप्तान भरतले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ३–० को स्थितिमा पु¥याएका थिए ।
त्यसपछि खेलको ८०औं मिनेटमा एक आत्मघाती गोलको उपहार पाउँदा आर्मीले ४–० को सहज जित निकाल्यो । आर्मीका कप्तान भरत खवासले क्रस गरेको बल सरस्वतीका ओलुसोला इब्राहिमले आफ्नै पोस्टमा छिराएका थिए । आर्मीका कप्तान भरत म्यान अफ दी म्याच चुनिए ।
लिगमा आर्मीले ११ खेलबाट २१ अंक जोडेको छ । आर्मी लिगको चौथो स्थानमा छ । १० अंक जोडेको सरस्वती दसौं स्थानमा छ ।