खेलकुदमा २०१८, वर्षैभरि छायो क्रिकेट

खेलकुदमा २०१८, वर्षैभरि छायो क्रिकेट

सन् २०१८ नेपाली क्रिकेटका लागि उपलब्धिमूलक रह्यो। अस्ट्रेलियन बिग बास लिगअन्तर्गत मंगलबार भएको मेलबर्न स्टार र मेलबर्न रेनेगेड्सबीचको ‘डर्बी’ खेलअघि ‘प्री म्याच कन्फरेन्स’मा नेपाली टोलीका कप्तान पारस खड्का उपस्थित रहे। यी दुवै टोलीसँग आबद्ध नरहेका पारसको उपस्थितिले पत्रकार छक्क परे। 

मेलबर्न स्टारले आफूसँग अनुबन्ध रहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेसँगै कप्तान पारसलाई पनि प्री म्याच कन्फरेन्समा सहभागी गराएको थियो। एक्सपर्ट एजुकेसन तथा भिजा सर्भिसेसको क्रिकेटसम्बन्धी कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया पुगेका कप्तान पारसलाई मेलबर्नले त्यो सम्मान दिएको हो, जसबाट अस्ट्रेलिया मिडियाले नेपाली क्रिकेटबारे थप जानकारी लिने अवसरसमेत पाएका थिए। त्यसबाट नेपाली क्रिकेटको विषयले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रै स्थान पाएको छ। क्रिकेट अस्ट्रेलिया आफैँले पनि वेबसाइटमार्फत नेपाली क्रिकेटको चर्चा गरेको छ।

                                               नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेसँगै कप्तान पारस


अस्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कको ठूलो साथ पाएका नेपाली स्पिन स्टार सन्दीप मेलबर्न स्टारबाट पहिलो पटक बिग बास लिग खेलिरहेका छन्। जसको सुरुवाती तीन खेलसम्म सात विकेट लिँदै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीको शीर्ष स्थानमा थिए। 

उनी मंगलबार मेलबर्न रेनेगेड्सविरुद्ध डर्बी खेल खेलेपछि बिग बास लिग सिजनको बाँकी खेल छाडेर बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न त्यसतर्फ प्रस्थान गरेका छन्। 

मेलबर्न स्टारबाट सन्दीपको अनुबन्ध, मेलबर्नबाट सुरुवाती चार खेलमा उनको प्रदर्शनसँगै अंग्रेजी नयाँ वर्ष सन् २०१९ को पूर्वसन्ध्यामा चर्चामा रह्यो। गत फेब्रुअरीमा भएको विश्व क्रिकेट लिग डिभिजन दुईमा करण केसीले गरेको प्रदर्शन। 

करणको सो प्रदर्शन क्रिकेटसम्बन्धी चर्चित वेबपोर्टल क्रिकइन्फोले गरेको ‘सन् २०१८ को उत्कृष्ट क्षण’को मत सर्वेक्षणमा चर्चित २५ घटनामध्ये पहिलो नम्बरमा रह्यो। 

नेपाली क्रिकेट सन् २०१८ भरि यसै गरी छाइरह्यो, जसले लाखौँ नेपाली क्रिकेट समर्थकको मन मात्रै जितेन, अन्तर्राष्ट्रिय क्रिकेट समुदायको ध्यानसमेत आफूतर्फ केन्द्रित गर्न सफल भइरह्यो। मैदान भित्रको प्रदर्शनसँगै मैदान बाहिरका गतिविधिमा समेत क्रिकेटले घरेलु खेलकुदमा अग्रता कायम गर्यो‍। जसमा सबैभन्दा ठूलो उपलब्धि रह्यो एक दिवसीय (ओडीआई) टोलीको मान्यता।

करणले अपत्यारिलो प्रदर्शन गरेपछि नेपाल फेब्रुअरीमा भएको डिभिजन दुई प्रतियोगिताको शीर्ष दुईभित्र रहँदै यसै वर्ष इंग्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने तय भएको क्रिकेट विश्वकपका लागि जिम्बावेमा भएको अन्तिम चरणको छनोट प्रतियोगितामा पुगेको थियो। 

सोही प्रतियोगितामा एसोसिएट टोलीमध्ये (प्रतियोगिताअघि नै एक दिवसीय टोलीको मान्यता प्राप्त गरिसकेको नेदरल्यान्ड्सबाहेक) शीर्ष तीन स्थानमा रहँदै नेपालले आधिकारिक रूपमा अन्तर्राष्ट्रिय खेल खेल्न थालेको २१ वर्षपछि ओडीआई मान्यता सुरक्षित गरेको हो। 

त्यसयता नेपालले नेदरल्यान्ड्ससँगै उसकै मैदानमा पहिलो ओडीआई शृंखलासमेत खेलेको छ। सो ऐतिहासिक शृंखला १–१ को बराबरीमा टुंगियो। नेपालले आफ्नो तेस्रो एक दिवसीय खेलको रूपमा गत अगस्ट-सेप्टेम्बरमा मलेसियामा भएको एसिया कप छनोट प्रतियोगिताको दौरान संयुक्त अरब इमिरेट्स (युएई)सँग खेलेको थियो। यही जनवरी २५ देखि फेब्रुअरी ३ सम्म युएईसँगै तीन एक दिवसीय र तीन टी–ट्वेन्टी शृंखला खेल्ने तयारीमा जुटेको छ, नेपाली टोली।

यो वर्ष भएका घरेलु फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) र एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न आएका उच्च प्रोफाइनलका खेलाडीदेखि नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र व्यक्तिगत रूपमा खेलाडीको पहलमा समेत नेपाली क्रिकेटले ठूला सम्भावनाको संकेत देखाएका छन्। 

पछिल्लो समय नियमित रूपमा ठूला विदेशी फ्रेन्चाइज क्रिकेट लिग खेल्दै आइरहेका सन्दीपले पाएको त्यो अवसर नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउन अझ प्रभावकारी देखियो। गत वर्ष सन्दीपले इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्दा नै भारतीय क्रिकेटमा नेपाली क्रिकेटबारे राम्रै चर्चा भएको थियो। 

यो वर्ष पनि उनी दिल्ली डेयर डेभिल्सबाटै पुनः आईपीएल खेल्दै छन्। यो वर्ष सन्दीपले क्यारेबियन प्रिमियर लिग (सीपीएल) सँगै बिग बास लिग र अफगानिस्तान प्रिमियर लिग (एपीएल) खेलिसकेका छन्। त्यसपछि सन्दीपले यो सिजन अझै बाँकी रहेका बीपीएल, पाकिस्तान सुपर लिग (पीसीएल) र आईपीएल खेल्दा उनीमार्फत नेपाली क्रिकेटको चर्चा थप चुलिने अपेक्षा गरिएको छ। जसबाट नेपाली क्रिकेटको विकासमा टेवा पुग्ने नै छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.