नेपाल पुलिस क्लबले जित्यो राष्ट्रिय बिच भलिबल च्याम्पियनको उपाधि

सिन्धुपाल्चोक : नेपाल पुलिस क्लब आठौं पुरुष र सातौं महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। पुरुषतर्फ नेपाल पुलिस क्लबका चन्द्र कुँवर र सफल विकको जोडीले एपिएफका बलिराम चौधरी र रमेश विकको जोडीलाई शनिवार २–१ सेटमा हराउँदै आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि जितेको हो।
नेपाल भलिबल संघ, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघद्वारा सुकुटेस्थित सुनकोशी नदी किनारको बगरमा आयोजित प्रतियोगितामा चन्द्र र सफलको जोडी १८–२१, २१–१४, १५–८ ले विजयी भएको हो।
समूह चरणबाट हरेक खेलमा पहिलो सेट गुमाएको पुलिसको जोडी अन्ततः च्याम्पियन बनेको छ। पुलिसका कमला पुन र मनिषा चौधरीको जोडीले सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई शनिवार २–० को सेटमा हराउँदै कमला र मनिषाको जोडी च्याम्पियन बनेको हो। कमला र मनिषाको जोडी २१–१९, २१–१० ले विजयी भएको हो। उनीहरूको जोडीले साउनमा भुटानमा भएको काभा बिच भलिबलमा स्वर्ण पदक जितेका थिए।
नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबका जोडी राष्ट्रिय बिच भलिबल प्रतियोगितामा तेस्रो भएको छ। महिला एपिएफको निरुता ठगुन्ना र नेविका चौधरी जोडी तथा पुरुषतर्फ टिकराज तामाङ र सूर्य परियारको जोडी तेस्रो भएको हो। २१–१२, २१–१५ ले हराउँदै निरुता र नेविकाको जोडी तेस्रो भएको थियो। एपिएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीलाई २१–१९, २४–२२ ले पराजित गर्दै टिकराज र सूर्यको जोडी विजयी भएको थियो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः नगद ५० हजार, २५ हजार र १५ हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। नेपाल भलिबल संघको वार्षिक कार्यक्रम अनुसार जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा महिलामा १७ र पुरुषमा १५ टोलीको सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस !
