लन टेनिस खेलाडी तिमल्सेनाको बिदाइ
भक्तपुर : थाइल्याण्डमा यहीं सोमबारदेखि हुने आईटीएफ एसिया यू-१४ डिभिजन २ मा भाग लिन जाने भक्तपुरका लनटेनिस खेलाडी चिराग तिमल्सिनालाई शनिबार बिदाइ गरिएको छ।
भक्तपुरस्थित भादगाउँ स्पोर्टस् एण्ड लिजर र भक्तपुर जिल्ला लनटेनिस संघले तिमल्सिनालाई नेवारी परम्पराअनुसार खेंस्वगं (अन्डासहितको प्रसाद) दिएर बिदाइ गरेका हुन्।
प्रतियोगितामा नेपालबाट ३÷३ जना पुरुष र महिलाले स्पर्धा गर्दैछन्। जसअनुसार पुरुषतर्फ भक्तपुरबाट तिमल्सिना रहेका छन्। त्यस्तै पुरुषतर्फ आरबसम्राट हाडा र आर्यन गिरीले स्पर्धा गर्दै छन्। महिलातर्फ शर्भानी श्रेष्ठ, सर्भांगीलक्ष्मी शाह र ईशा श्री शाह रहेका छन्।
बिदाइ कार्यक्रममा भक्तपुर जिल्ला लनटेनिस संघका सदस्य एवं भादगाउँ स्पोर्टस्का अध्यक्ष रविनारायण कायस्थले तिमल्सेनालाई भक्तपुरको गौरव बढाउने गरी खेल खेल्न आग्रह गर्दै भक्तपुर लनटेनिस खेलको विकास र खेलाडीको निरन्तरताको लागि आफ्नोतर्फबाट सम्भव भएसम्मको सहयोग गर्ने वचन दिए।
तिमल्सेनाको खेलकुदमा भविष्य सुनिश्चित गर्न कर्पोरेट प्रायोजकको खोजी भइरहेको उनले सुनाए।
खेलाडी तिमल्सेनाका पिता हरिहरले लनटेनिस खेलको व्यवस्थापन महंगो भएकाले स्थानीय निकाय र खेलकुद संघसंस्थाले खेलाडीलाई सहयोग गर्नुपर्ने बताए।आफ्नो आर्थिक अवस्थाकै कारण छोरा चिरागलाई विदेशमा प्रशिक्षण पठाउन नसकिएको उनले सुनाए।
उनका प्रशिक्षक कृष्णगोविन्द कासुलाले चिरागको लनटेनिसमा भविष्य राम्रो भएकाले उनमाथि गरिएको लगानी खेर नजाने दावी गरे। ‘चिरागको खेल कौशल राम्रो छ’, उनले भने, ‘उनलाई नियमित प्रशिक्षण दिन सकिए भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउने निश्चित छ।’
कार्यक्रममा भादगाउँ स्पोर्टस्का सञ्चालक उत्तम थुसा र प्रशिक्षक कासुलाले पनि खादा ओढाइदिएर चिरागलाई बिदाइ गरेका थिए। भक्तपुरमा बिदाइलगत्तै तिमल्सिना शनिबार नै थाइल्याण्ड प्रस्थान गरेको प्रशिक्षक कासुलाले जानकारी दिए।