निर्मला बलात्कार–हत्या प्रकरण : आमाको रगत संकलन, बुवाले दिन मानेनन्

निर्मला बलात्कार–हत्या प्रकरण : आमाको रगत संकलन, बुवाले दिन मानेनन्

महेन्द्रनगर : निर्मला पन्तको भजाइनल स्वाब उनकै शरीरको हो÷होइन यकिन गर्न आमा दुर्गादेवीको रगतको नमुना बुधबार लिइएको छ। आमा दुर्गादेवीले आफ्नो रगतको नमुना संकलन गरी छोरी निर्मलाको डीएनए हो वा होइन यकिन गरिदिन भन्दै निवेदन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिएकी थिइन्। उनकै निवेदनपछि जिल्ला प्रहरी कार्यालयले रगतको नमुना संकलन गरेको कञ्चनपुरका एसपी कुबेर कडायतले जानकारी दिए। ‘दुर्गादेवीको डीएनए परीक्षणपछि शंका कम हुन्छ’, एसपी कडायतले भने।

‘मैले पहिल्यैदेखि आफ्नो रगत म्याच गराउन भन्दै आएकी थिएँ’, नमुना संलकनपछि निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘हामीलाई पनि जुन शंका छ, परीक्षणपछि कम हुन्छ।’ तर, बुवा यज्ञराजले भने रगतको नमुना दिएका छैनन्। ‘मैले श्रीमानसँग ३/४ दिनदेखि रगतको नमुनासँगै दिऊँ भनेकी हुँ’, उनले भनिन्, ‘ श्रीमान तयार हुनुभएन र मैले एक्लैले दिएँ।’ आफूभित्रको शंका कम गर्न पनि रगतको नमुना दिएको उनले बताइन्। प्रहरीले बुधबार संकलन गरिएको रगतको नमुना शिलबन्दी गरी बिहीबारै परीक्षणका लागि काठमाडौं पठाइने जनाएको छ।

एसपी कडायतले भने, ‘प्रहरीको र विधिविज्ञान प्रयोगशालामा नमुना पठाइनेछ।’ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कञ्चनपुर पुगेका बेलामा समेत अधिकारकर्मीहरूले निर्मलाको भजाइनल स्वाबमाथि नै शंका रहेकाले बताएका थिए। ‘निर्मलाको डीएनएसँग आमाबावुको रगत म्याच गर्नुपर्ने हाम्रो माग थियो’, दबाबमूलक संघर्ष समिति सदस्य प्रीतिधीर भण्डारीले भनिन्, ‘रगत परीक्षणपछि सबैमा देखिएको शंका कम हुनेछ।’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालयसहित थुप्रै समिति बनेर अनुसन्धान गरिरहेका छन्। अनुसन्धानकै क्रममा २ दर्जनभन्दा बढीको प्रहरीले डीएनए परीक्षण गरिसकेको छ। ‘६ महिना पुग्न लाग्यो छोरीका हत्यारा अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्’, दुर्गादेवीले भनिन्, ‘प्रहरीले अपराधी पत्ता लगाएरै छाड्नुपर्छ, अनुसन्धान कमजोर बनाउने होइन।’

छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर जिल्ला प्रशासन कार्यालयको मुलगेट बाहिर अनिश्चितकालीन धर्ना गरेको पनि २ महिना बितिसकेको छ। अहिले पनि बुवाआमा सहितका अधिकारकर्मी धर्नामै छन्।

एसपीसहित अन्यमाथि अनुसन्धान सुरु

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा जोडिएकामाथि कारबाहीको प्रहरीले अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको, अपराधी जोगाउन भूमिका खेलेको र यातना दिएको भन्दै तत्कालीन कञ्चनपुर एसपी (हाल बर्खास्त) डिल्लीराज विष्टसहित ८ जना प्रहरीविरुद्ध हदैसम्मको कारबाही हुनुपर्ने मागसहित मुद्दा दायर भएको छ। प्रहरीले मुख्य अभियुक्त बनाएका दिलीपसिंह विष्टका दाजु खड्गले यातना कसुरअन्तर्गत जाहेरी दिएका थिए। मुद्दा दर्ता गरिसकेपछि अनुसन्धान प्रक्रिया अघि बढेको कञ्चनपुर प्रहरीले जनाएको छ। ‘अनुसन्धान प्रक्रिया अघि बढाइसकेका छौं’, एसपी कडायतले भने, ‘यो भदौ १ गतेदेखि लागु भएको मुलुकी संहिताअनुसारको पहिलो मुद्दा हो, त्यसैले अध्ययन थालेका छौं।’ यो मुद्दामा वकिललगायत निकायसँग छलफल गरेर अनुसन्धान अघि बढाएको बताए।

सार्वजनिक न्यायविरुद्धको कसुर र यातना कसुरअन्तर्गत तत्कालीन एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेट्टी, इन्स्पेक्टर एकेन्द्र खड्का, सइ हरिसिंह धामी, सइ रामसिंह धामी, हवल्दार चाँदनी साउद, प्रहरी निरीक्षक जगदीश भट्ट, केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अंगुर जिसी गरी ८ जनाविरुद्व मुद्दा दायर भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.