हिमालयन शेर्पा फाइनलमा
वीरगन्ज : आयोजक वीरगन्ज-११ लाई पाखा लगाउँदै हिमालयन शेर्पा दोस्रो विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
वीरगन्जको नारायणी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पाले वीरगन्ज-११ लाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्यो। निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेलको अन्तिम निर्णय टाइबे्रकरबाट लिइएको थियो।
टाइब्रेकरमा हिमालयन शेर्पाका रवि थापा, उरिच सीवी, प्याट्रिक गोहा र विजय श्रेष्ठले गोल गरे। विश्वास श्रेष्ठको प्रहार भने गोल पोस्टमाथिबाट बाहिरिएको थियो। वीरगन्जको कप्तान कृष्ण शाक्य, शिशष थापा र कृपाकान्त चौधरीले गोल गरे। रन्जय चौधरी र अनुज सिंहको प्रहार हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले विफल पारेका थिए।
निर्धारित ९० मिनेटको अन्तिम समयसम्म वीरगन्जले १-० को अग्रता लिए पनि इन्जुरी समयमा वीरगन्जले हिमालयन शेर्पालाई आत्मघाती गोलको उपहार दिएको थियो।