मन्त्रीले सचिव कुटेको घटना छानविन गर्न न्यायिक समिति माग
जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कुटपिट गरेको घटनाको न्यायिक छानविन हुनुपर्ने माग शिक्षक संघले गरेको हो ।
जनकपुरमा पत्रकार सम्मेलन गरेर नेपाल शिक्षक संघ प्रदेश—२ ले सचिव झामाथि भएको घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारवाहीको माग गरेको हो ।
‘सरकारले गठन गरेको छानविन समितिमाथि हाम्रो विश्वास छैन,’ पत्रकार सम्मेलनमा नेपाल शिक्षक संघ प्रदेश —२ का अध्यक्ष मेघनाथ यादवले भने, ‘सरकारकै मन्त्रीले कुटपिट गरेको घटनामा सरकारकै मन्त्रीको अध्यक्षतामा छानबिन समिति बनेको छ । त्यो समितिले सत्यतथ्य बाहिर कसरी ल्याउन सक्छ ?’
यादवले कुटपिटको घटनाको छानबिनका लागि स्वतन्त्र उच्च संसदीय न्यायिक छानबिन समिति गठन गरिनु पर्छ ।’ मन्त्रीले सचिव कुटेको छानबिन गर्न प्रदेश २ को मन्त्रिपरिषद्ले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा घटना पश्चात छानविन समिति गठन गरेको थियो ।
शिक्षक संघले प्रेस विज्ञप्ती जारी गर्दै घटना हुने कारण पत्ता लगाउन पनि माग गरेको छ । गैरसरकारी संस्था छनौट गरि प्रदेशभरी खर्च हुन गइरहेको ८ करोंड रकममा चलखेल भइरहेको बारेपनि छानविन हुनु पर्ने माग गरेको छ ।
संघीय समाजवादी फोरम नेपालका तर्फबाट मन्त्री बनेका यादवले गत आइतबार उद्योग, वन, पर्यटन तथा वातावण मन्त्रालयका सचिव झालाई सभामुख र प्रदेशसभा सदस्यकै अगाडि कुटपिट गरेका थिए । आफूनिकट एनजीओलाई अनुदान नछुट्टाएको भन्दै मन्त्री सचिवमाथि खनिएका थिए ।
प्रतिक्रिया दिनुहोस !