आर्सनलसँग हार्यो चेल्सी
लन्डन : इङ्लिस प्रिमियर लिग फुटबलको आइतबार विहान भएको ‘लन्डन डर्बी’ भिडन्तमा आर्सनलले चेल्सीलाई २—० गोलले हराएको छ । जितसँगै आर्सनलले तालिकाको माथिल्लो चार स्थानभित्र रहेर लिग टुंग्याउने सम्भावना पनि कायमै राखेको छ ।
आर्सनलले तालिकाको चौथो स्थानमा आसिन चेल्सीसँगको दूरी तीन अंकमा झारेको छ भने गोलअन्तरका आधारमा म्यानचेस्टर युनाइटेडलाई पछि पारेको छ । आर्सनलले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो ।
खेल सुरु भएको चौथो मिनेटमै एलेक्जेन्डर लाकाजेट्टीले आर्सनललाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा कप्तान लाउरेन्ट कोसिएल्नीले आर्सनललाई २—० ले अगाडि बढाएका थिए । आर्सनल र चेल्सी दुबैका लागि उक्त खेल प्रतिष्ठाको विषय पनि बनेको थियो ।
यी दुबै टोलीले पछिल्लो समय गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । आफूले खेलेका पछिल्ला आठमध्ये चार खेलमा आर्सनल पराजित भएको छ । त्यसअघि आर्सनल लगातार २२ खेलमा अपराजित रहेको थियो ।
कोसिएल्नी आर्सनलका लागि २० गोल गर्ने पहिलो डिफेन्डर
यसैगरी चेल्सी पनि आफूले खेलेका पछिल्ला सातमध्ये चार खेलमा मात्र जित हात पार्न सकेको छ । २३ खेल खेलेको लिभरपुल ६० अंकसहित तालिकाको पहिलो स्थानमा छ । २२ खेलबाट ५३ अंक बटुलेको म्यानचेस्टर सिटी दोस्रो र २२ खेलबाट ४८ अंक हात पारेको टोट्टनहाम तेस्रो स्थानमा छन् ।
चौथो स्थानमा आसिन चेल्सीको २३ खेलबाट ४७ र पाँचौं स्थानमा आसिन आर्सनलको समान खेलबाट ४४ अंक छ । समान अंक जोडेको म्यानचेस्टर युनाइटेड भने गोलअन्तरका आधारमा तालिकाको छैटौं स्थानमा छ ।
आर्सनलले घरेलु मैदानमा सन् २००४ को फेब्रुअरीपछि पहिलो पटक लगातार दुई पटक चेल्सीलाई हराएको हो । चेल्सीले लन्डन डर्बीको पछिल्ला सात अवे खेलमा एउटामात्र जित हात पार्न सकेको छ । गत डिसेम्बरमा भएको खेलमा चेलसीले क्रिस्टल प्यालेसलाई १—० गोलले हराएको थियो । बाँकी ६ मध्ये चार खेलमा चेल्सी पराजित भएको छ भने दुई खेल बराबरीमा सकिएको छ।
कोसिएल्नी प्रिमियर लिगमा आर्सनलका लागि २० गोल गर्ने पहिलो डिफेन्डर पनि बनेका छन् । उनले आर्सनलका लागि प्रियिमर लिगमा २० गोल गरिसकेका छन् । उनले आर्सनलका लागि आफूले खेलका पछिल्ला नौ खेलमा लगातार गोल गरेका छन् ।